• १० मंसिर २०८१, सोमबार

‘कृषकसँग कृषि प्राविधिक’बाट किसान लाभान्वित

blog

गल्याङ नगरपालिकाका कृषकहरुसँग जनप्रतिनिधि तथा प्राविधिकहरु । तस्विरः राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, कात्तिक १७ गते । स्याङ्जाको गल्याङ नगरपालिकाका कृषि तथा पशु प्राविधिकहरू घरबारीमै पुगेपछि कृषकहरू उत्साहित भएका छन् । पालिकाले सञ्चालन गरेको ‘कृषकसँग कृषि प्राविधिक कार्यक्रम’ अन्तर्गत कृषकका खेतबारीमा प्राविधिक पुगेका हुन् । 

पालिकाले नगरका ११ वटै वडाको ६८ ठाउँमा कार्यक्रम गरेको हो । घरबारीमा पुगेका प्राविधिकले माटो सुहाउँदो खेती गर्ने तरिकाको बारेमा जानकारी गराएको नगरपालिकाले जनाएको छ । एक वडामा कम्तीमा तीनदेखि सात वटासम्म समूहमा कार्यक्रम गरिएको हो । 

पालिकाले दुई महिनासम्म सञ्चालन गरेको कार्यक्रमबाट पाँच हजार एकसय १७ घर परिवारका कृषकहरू लाभान्वित भएका नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो । कृषकका सामान्य समस्यालाई तत्काल समाधान गरी व्यावसायिक खेतीतर्फ आकर्षित गराउन प्राविधिक गाउँ गाउँमा पुगेको बताउनुभयो । सो अवसरमा कृषकलाई मौसम अनुसारको बीउबीजन निःशुल्क उपलव्ध गराइएको उहाँको भनाइ छ । 

गाउँमा नै प्राविधिक पुग्दा निर्वाहमुखीदेखि व्यावसायिक कृषकसम्मलाई फाइदा पुगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गत वर्षजस्तै कृषकको माग र आवश्यकताका आधारमा गरिएको कार्यक्रम गरिएको हो ।” 

गएको वर्ष गरेको कार्यक्रममा तल्लो वर्गमा रहेका कृषकलाई फाइदा पुगेको पाइएपछि यस वर्ष पनि यसलाई निरन्तरता दिइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गाउँघरमा १–२ वटा भैसीबाख्रा पालेर तथा खेतबारीमा कृषि गरेर बसिरहेका साना किसानलाई राज्य छ, स्थानीय सरकार छ भन्ने महसुस गराउन कार्यक्रम सफल भएको छ ।” 

गल्याङ नगरपालिकाले सञ्चालन गरिरहेका कृषि र पशु सम्बन्धित कार्यक्रमको जानकारी गराइ पालिकाको कृषि र पशुसम्बन्धिका कार्यक्रममा उनीहरुको सहभागिता बढाउन कार्यक्रम गरिएको नगरप्रमुख भट्टराईले बताउनुभयो । 

गल्याङ नगरपालिका कृषि शाखा प्रमुख भीम क्षेत्रीले किसानका टोलसम्म पुग्दा साना किसानका समस्याहरु प्रत्यक्ष हेर्न र समाधान गर्न सहज भएको बताउनुभयो । उहाँले कृषि पेशाबाट गुजारा चलाइरहेका किसानका लागि प्रत्यक्ष फाइदा पुगेको बताउनुभयो ।