• १० मंसिर २०८१, सोमबार

तिहारमा प्लास्टिक मालाको बिक्री बढ्यो

blog

डोटीको पिपल्ला बजारमा बिक्रीका लागि राखिएका प्लास्टिकका फूलमाला लगायतका सामग्री । तस्बिर : डिलबहादुर सिंह

डिलबहादुर सिंह

डोटी, कात्तिक १७ गते । तिहारसँगै डोटी जिल्लाका बजार क्षेत्रमा प्लास्टिक फुल मालाको बिक्री बढेको छ । जिल्ला सदरमुकाम सिलगढी, प्रमुख व्यापारिक केन्द्र पिपल्ला, दिपायललगायत ग्रामीण क्षेत्रमा रहेका स–साना बजार क्षेत्रमा समेत प्लास्टिकका फूलमालाको बिक्री अत्यधिक रूपमा भइरहेको छ । 

स्थानीय तहहरूले प्लास्टिकका मालालगायतका सामग्री आयात विस्थापन गर्ने किसिमका नीति निर्माण नगरेका कारण पनि व्यापारीहरूले प्लास्टिकको फूलमाला आयात र बिक्री वितरणलाई प्राथमिकतामा राखेको हुनसक्ने बताइएको छ । डोटीको दिपायल सिलगढी नगरपालिकाका स्थानीय चक्र साहुले भन्नुभयो, ‘प्लास्टिकको फूलमालाको प्रयोग गर्दा हुने बेफाइदाका बारेमा जनचेतना जगाउने किसिमका क्रियाकलाप पनि आयोजना गरिएको देखिँदैन । स्थानीय सरोकारवालाहरू यस विषयमा गम्भीर हुनुपर्ने देखिन्छ ।’

विगतका वर्षहरूजस्तै यो वर्ष पनि प्लास्टिकका फूलका माला बिक्री वितरणमा रोक लाग्न सकेको छैन । जिल्लाका कतिपय स्थानहरूमा किसानहरूले व्यावसायिक रूपमा फूल खेतीको सुरुवात गरिरहेका छन् । 

आयातित प्लास्टिकका फूलमालाका कारण फूलखेती गरिरहेका किसानले उत्पादन भएका फुलको उचित मूल्य पाउन सकेका छैनन् । व्यावसायिक रूपमा फूलखेति गरिरहनु भएका डोटीको शिखर नगरपालिका –१० का स्थानीय लोकेन्द्र रावलले भन्नुभयो, ‘हामीले उत्पादन गरेका सयपत्री फूल त्यसै खेरजाने अवस्थामा छ । सरोकारवाला निकाय मौन रहेका कारण प्लास्टिकका माला आयात रोक्न सकिएको छैन ।’

प्लास्टिकका कारण वातावरणमा समेत नराम्रो असर परिरहेको छ । जिल्ला प्रशासन कार्यालय डोटीले चाडपर्वको समयमा बजार क्षेत्रमा बजार अनुगमन गरिरहेको भए पनि प्लास्टिकका फूलमाला लगायतका सामग्रीको विक्रीमा रोक लगाएको देखिँदैन । डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भन्नुभयो, –‘स्थानीय तहहरूले पनि आफ्नो क्षेत्रमा नीति निर्माण गरेर प्लास्टिकका माला आयात रोक्न सक्छन्, यहाँ के भइरहेको म बुझ्छु ।’

उद्योग वाणिज्य सङ्घ डोटीले अघिल्लो वर्ष तिहारको समयमा प्लास्टिकका माला बिक्री वितरण नगर्न सूचना नै जारी गरेको थियो । सूचना जारी गरिएको भए पनि प्लास्टिकका फूलका मालाहरू बिक्री वितरण रोकिएको थिएन । जिल्ला प्रशासन कार्यालयबाट कुनै जानकारी नआएको भए पनि गत वर्षकै निर्णयलाई कायम गरी प्लास्टिकका माला बिक्री वितरण रोक लगाइएको उद्योग वाणिज्य सङ्घ डोटीका अध्यक्ष विक्रम साउँदले बताउनुभयो ।