• २३ मंसिर २०८१, आइतबार

पर्यटकीय स्थल जलजलामा पुग्यो विद्युत

blog

जलजला क्षेत्रमा बत्ती लगाउँदै प्राधिकरणका कर्मचारी । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, कात्तिक १६ गते । पर्यटकीय स्थल जलजलामा विद्युत् सेवा विस्तार गरिएको छ । धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थलका रूपमा विकास हुन लागेको पर्वतको जलजला गाउँपालिका ५ र ६ को सिमानामा पर्ने हम्पाल कालाञ्जर क्षेत्रमा पर्ने जलजलामा केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको हो । 

विद्युत् सेवा नहुँदा यसअघि त्यहाँ पुग्ने पर्यटकलाई समस्या हुने गरेको थियो । जलजला र मोदी गाउँपालिकाको संयुक्त लगानी तथा नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रको प्राविधिक सहयोगमा विद्युत् विस्तार गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । 

विद्युत सेवा विस्तारपछि जलजला र कालञ्जर हम्पालको भ्रमणमा जाने पर्यटकलाई सुविधा पुगेको उहाँको भनाइ छ । समुन्द्री सतहदेखि तीन हजार तीनसय मिटरको उचाइमा रहेको कालञ्जर हम्पाल क्षेत्रलाई गाउँपालिकाले धार्मिक र प्राकृतिक पर्यटकीय स्थलका रूपमा विकास गर्न पूर्वाधार निर्माणलाई अगाडि बढाएको उहाँले बताउनुभयो । 

सङ्घ, प्रदेश र गाउँपालिकाको बजेटबाट यहाँ पर्यटकका लागि आश्रयस्थल, भ्यु प्वाइन्ट, खानेपानी, शौचालय निर्माण र सडक स्तरोन्नति गरिएको हो । हम्पाल र जलजलालाई पर्यटकीय स्थलका रूपमा विकास गर्न करिब एक अरब रुपियाँ लागत अनुमानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

आर्थिक वर्ष २०७९–८० मा गाउँपालिकाले हम्पाल लेकमा भ्यु प्वाइन्ट, शौचालय, सन्त बस्ने कुटी निर्माण गरेको थियो । गत आर्थिक वर्षमा निर्माणाधीन भवन बनाउन गाउँपालिकाबाट १४ लाख ५० हजार रुपियाँ विनियोजन गरी भवनलाई पूर्णता दिइएको छ । हम्पालबाट हिमशृङ्खला, सूर्योदय, सूर्यास्त र मनोरम पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ ।