• १५ कात्तिक २०८१, बिहिबार

दीपावलीको हार्दिक शुभकामना

blog

नेपालीको सबैभन्दा ठुलो चाड दसैँपछि अर्को महत्वको पर्व तिहारको रौनक छाउँछ । शरद् ऋतुको विशिष्ट मौसममा आउने तिहारलाई फूलैफूलको मौसम पनि भनिन्छ । सयपत्री, मखमली र गोदावरी ढकमम्कै फुलेर यो मौसम साँच्चै स्वर्गको टुक्रा धर्तीमा झरे जस्तो अनुभूति हुन्छ । खेतमा धान झुलेर तमाम किसानको आशा फक्रिएको यो मौसममा दीपावली गर्ने, देउसीभैलो खेल्नेलगायतका सुकार्यले उत्साह थपेको हुन्छ । राजधानी उपत्यकामा नेपाल संवत्को पात्रो फेरिने यही अवसरले देशीय सांस्कृतिक महत्वको सुवास फैलाइरहेको छ । तिहारको रौनक समापनसँगै पवित्र पर्व छठको आगमनले सांस्कृतिक एकताको नयाँ वातावरण खडा गर्छ । यो पटकको दसैँ बाढीपहिरो र डुबानले ठुलो जनधनको क्षतिलगत्तै पर्दा कता कता खल्लो जस्तो भएको थियो । तिहार आइपुग्दा बिस्तारै सडक खुल्न थालेका छन् । मनसुन बिदा भई खुला आकाश र पारिलो घामले आशाका किरण फैलाउँदो छ ।


कात्तिक कृष्णपक्ष त्रयोदशीदेखि सुरु हुने तिहारका पाँच दिन हिन्दु दर्शनमा असाध्यै महत्वपूर्ण मानिन्छ । कात्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म चल्ने यी पाँच दिनलाई यमपञ्चकसमेत भनिन्छ । यमपञ्चकको पहिलो दिन बुधबार कागको पूजा गरी तिहार सुरु भइसकेको छ । यमराजको दूत मानिने कागले सञ्चार सम्प्रेषण गर्छ भन्ने मान्यता छ । कागलाई खुसी पार्न यमपञ्चकको पहिलो दिन सबेरै कागलाई मिठो खान दिएर कागतिहार मनाउने गरिन्छ । कागसँगै यमपञ्चकमा कुकुर, गाई, गोवर्धन पूजा गरेपछि मात्र यमपञ्चकको पाँचौँ दिन द्वितीयामा दिदीभाइले दाजुभाइलाई टीका लगाइदिएपछि तिहार पर्व सम्पन्न हुन्छ । परापूर्वकालदेखि नै मानिस, घरपरिवार र धनसम्पत्तिको समेत रक्षा गर्ने कुकुर मानिसको नजिकको साथी पनि हो । कुकुरका धेरै विशिष्ट गुणले विश्वभर नै कुकुरलाई असल घरपालुवा जनावरको व्यवहार गरिन्छ । त्यसैले कागपछि कुकुरको समेत तिहार आउने पर्वले धेरै अर्थ बोक्नु स्वाभाविक छ ।


तिहारको तेस्रो दिन बिहान गाईपूजासँगै साँझ भव्य दीपावली गरी लक्ष्मीको पूजा गरिन्छ । तिथिको घटबटले कहिलेकाहीँ यताउता परे पनि तिहारको चौथो दिन गोवर्धन पूजा गर्ने गरिन्छ । हुन पनि गाईको दुध बालकदेखि वृद्धवृद्धासम्म सबैका निम्ति उत्तिककै पोषणको स्रोत हो । गाईको दुधको महत्व त छँदै छ; सँगसँगै दुधबाट दही, घिउ, बटर, पनिरदेखि अनेक खालका मिठाई, चकलेटको विश्वव्यापी उत्पादन र बजार छ । कृषि मात्र होइन, औद्योगिक अर्थतन्त्रमा पनि गाईको ठुलो महत्वलाई परापूर्वकालदेखि नै तिहारका अवसरमा पूजा गरी अटुट महत्वलाई संरक्षण गरिएको देखिन्छ । तिहारको पाँचौँ दिन भाइटीकाले पारिवारिक एकताको सांस्कृतिक महत्वलाई विशिष्ट तवरले संरक्षण गरिनु कम महत्वको छैन ।


तिहारकै अवसरमा नेपालीका निम्ति मौलिक नयाँ वर्षको पात्रो परिवर्तन हुने गर्छ । दीपावलीको भोलिपल्ट पर्ने नयाँ वर्षका प्रवर्तक शङ्खधर साख्वाःलाई सम्झँदै हुने भव्य महोत्सवले मन खुसी पार्छ  । साख्वाःबारे अनेक किंवदन्ती छन् । कतिपयले साख्वाःले विपन्नको ऋण मोचन गरेकाले नेपाल संवत् आरम्भ भएको मान्छन् । राजा राघवदेवका पालाबाट आरम्भ भएको यो संवत् अब ११४५ आरम्भ हुँदै छ । कतिपयले भने साख्वाःले  ल्याएको बालुवा सुनमा रूपान्तरण भएको र त्यसैबाट ऋण मोचन गरिएको मान्यता राख्छन् । कतिपयले साख्वाः ठुला व्यापारी भई जनहितमा काम गरेको मान्छन् । जे होस्, ऋण मोचनको लोकहितबाटै प्रचलनमा रहेको नेपाल संवत्मा अनेक मौलिक विशेषता विद्यमान छन् । तिहारकै बेला नेवारी समुदायले म्हःपूजा भव्य रूपमा मनाउने प्रचलन छ ।


तिहारको समापनसँगै आउने छठ पर्वले प्रत्येक वर्ष प्रभाव विस्तार गर्दै लगेको छ । समयकालमा नेपालको तराई भेगमा मात्र सीमित छठ पर्वले यताका वर्षमा काठमाडौँ उपत्यकामा राम्रै गरी प्रवेश पाउन थालेको छ । काठमाडौँ उपत्यकामा मात्र होइन, छठ बिस्तारै तराई मधेशबाट पहाडसमेत उक्लन थालेको छ । कुनै बेला पहाडी समुदायमा मात्र अलि बढी केन्द्रित भाइटीका तराई मधेशतिर पनि प्रिय हुँदै छ । यताका दशकमा नेपाली समुदाय काम, अध्ययन र व्यवसायले विश्वभर छरिँदै गएका छन् । विश्वभर रहर तथा बाध्यताले पुगेका नेपालीबिच तिहार, दीपावली, लक्ष्मीपूजा, नेपाल संवत्, छठलगायतका देशीय मौलिक चाडपर्व सँगसँगै पुगेका छन् । त्यसैले यी पर्वहरू नेपालमा मात्र सीमित नरही बिस्तारै भूमण्डलीकृत हुँदै छन् । नेपालीबिचको सांस्कृतिक तथा पारिवारिक एकतामा यी पर्वले विशिष्ट महत्व विस्तार गर्दै छन् । यो पावन अवसरमा सबैलाई हार्दिक शुभकामना !