• १९ पुस २०८१, शुक्रबार

बढ्यो फूल खेती

blog

जनविकास माविको परिसरमा ढकमक्क सयपत्री । तस्बिर सौजन्य : जनविकास मावि

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १५ गते । तिहार सुरु भएसँगै फूलको कारोबार बढेको छ । यस पटक आयातितभन्दा नेपालकै फूल बजारमा बढी रहेको छ । पछिल्लो समय राजनीतिमा लाग्नेदेखि विद्यालयले समेत व्यावसायिक फूल खेतीमा लागेका पाइएको छ ।

स्याङ्जा समाचारदाताका अनुसार गल्याङ, रूपाखानीमा चन्द्रबहादुर राना ‘चित्र’ राजनीतिसँगै फूल खेतीमा दैनिक रमाइरहनुभएको छ ।

१० बर्से जनयुद्ध हुँदै पाँच वर्ष माओवादी केन्द्रबाट वडा सदस्य जितेर गल्याङ नगर सदस्य भएर काम गर्नुभएका राना अहिले गल्याङ नगर पार्टीको अध्यक्ष हुनुहुन्छ । रानाले पाँच वर्ष जनप्रतिनिधि रहँदा नै मौलाकालिका कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर फूल खेतीमा लाग्नुभएको हो ।

रानाले आठ रोपनी जग्गा ६० हजारमा भाडामा लिएर खेती थालेका उहाँको बगैँचामा सयपत्री फूल ढकमक्क फूलेको छ ।

धेरै ठाउँमा रहरले फूल खेती गरिरहँदा रानाले भने फूल खेतीलाई आर्थिक आर्जनको माध्यम बनाउनुभएको छ । गत वर्षसम्म आठ रोपनीमा १० हजार फूल रोप्नुभएका रानाले यस आवमा भने पाँच रोपनीमा पाँच हजार बिरुवा रोप्नुभएको छ । फूल उत्पादनमा लागत महँगो भएको बताउँदै रानाले त्यसमै भारतको फूलसँग प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो ।

विद्यालयको खेती राम्रो

उता कालीगण्डकी गाउँपालिकामा विगत तीन वर्षदेखि फूलमा आत्मनिर्भर बनाउन पालिकाको सहयोगमा फूल खेती गरिएको छ । यहाँ विद्यालय पनि फूल खेतीमा लागेका छन् । 

सात वटा वडा रहेकामा वडा नं. ४ बाहेक सबै वडामा कृषकले फूल खेती गरेका छन् भने धु्रवज्योति मावि र मिर्मी माविले फूल खेती गरेका छन् ।

पाल्पा समाचारदाताका अनुसार पाल्पाको रामपुर नगरपालिका–३, रजघरामा रहेको जनविकास माध्यमिक विद्यालय परिसरमा सयपत्री ढकमक्क फुलेको छ । 

गत वर्षदेखि सुरु गरेको व्यावसायिक फूल खेती विद्यार्थीलाई व्यावहारिक ज्ञान सिकाउन तथा विद्यालयको आम्दानीको माध्यम बनेको छ । तिहारलक्षित फूल खेतीको हेरचाहका लागि खाली समयमा शिक्षक तथा विद्यार्थी जुटिरहेका छन् । विद्यालय परिसरभित्र ढकमक्क सयपत्री फूलेपछि विद्यालयको वातावरण नै फरक भएको कक्षा नौका विद्यार्थी नीरमाया विकले बताउनुभयो । दुवोसहितको चौरमा फूल लगाएको उहाँले बताउनुभयो ।

विद्यालयले यस वर्ष पनि चितवनबाट बिरुवा ल्याएर साढे एक रोपनी क्षेत्रफलमा सयपत्री फूल लगाएको थियो । खाली जमिनको सदुपयोगसँगै आम्दानी पनि हुने र विद्यार्थीलाई सिक्नका लागि पनि हुने भएकाले फूल खेती गरिएको प्रधानाध्यापक पशुपति खनालले बताउनुभयो ।

विद्यालयले गत वर्ष फूल बिक्रीबाट १२ हजारभन्दा बढी आम्दानी गरेको थियो । विद्यालयका कर्मचारी लीलादेवी गौतमले फूल प्रतिकिलो ३५० रुपियाँको दरले बिक्री गर्दै आएको बताउनुभयो । नगरपालिकाले प्लास्टिकजन्य फूल बिक्रीवितरणमा रोक लगाएकाले स्थानीय बजारमा फूलको माग बढी हुँदा फूलको बजारीकरणका लागि समस्या नहुने विद्यालयले जनाएको छ ।

गुल्मीमा पचास रोपनीमा ढकमक्क

गुल्मी समाचारदाताका अनुसार गुल्मीमा ५० रोपनी क्षेत्रफलमा व्यावसायिक फूल खेती भएको छ । गत वर्ष फूल धेरै उत्पादन भएको र बिक्री कम भएकाले पनि गत वर्ष कृषकले एक सय रोपनीमा गर्दै आएको फूल खेती घटाएर पचास रोपनी क्षेत्रफलमा गर्दै आएको ज्ञान केन्द्र प्रमुख नवराज 

भण्डारीले बताउनुभयो ।

जिल्लामा दुई दर्जनभन्दा बढी कृषक व्यावसायिक रूपमा फूल खेतीमा आबद्ध छन् । रेसुङ्गा नगरपालिका–६ का प्रेम नेपालीले फूल खेतीको सुरुवात गर्नुभएको छ । नेपालीले जग्गा लिजमा लिएर यस वर्ष दुई रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा फूल खेती गर्नुभएको छ । 

अघिल्लो वर्षबाट फूल खेती सुरु गर्नुभएका नेपालीको फार्ममा यतिबेला तिहारलक्षित फूल फुलिरहेका छन् । गत वर्ष तीन रोपनी क्षेत्रफलमा फूल खेती गर्नुभएका नेपालीले यस वर्ष दुई रोपनीमा मात्रै फूल खेती गर्नुभएको छ । गत वर्ष बिक्री कम भएकाले क्षेत्रफल घटाएको उहाँको भनाइ छ ।

वडा नम्बर–१० मा विनोद कुँवरले पनि गत वर्षभन्दा फूल खेतीको क्षेत्रफल घटाएर एक रोपनी क्षेत्रफलमा मात्रै फूल खेती गर्नुभएको छ । इस्मा गाउँपालिका–३ मा गोकर्ण नेपालीले पनि क्षेत्रफल घटाएर एक रोपनी क्षेत्रफलमा फूल खेती गर्नुभएको छ । त्यस्तै छत्रकोट गाउँपालिका–३ मा भुवन खराल, सत्यवती गाउँपालिका–१ मा महेन्द्र खत्रीले पनि यस वर्ष उत्पादन क्षेत्रफल घटाउनुभएको छ । गत वर्ष उत्पादन धेरै भए पनि जिल्ला बाहिर फूल निर्यात गर्न नसक्दा कृषकले उत्पादन क्षेत्रफल घटाएका हुन् । 

नेपालगन्ज समाचारदाताका अनुसार केही वर्षपहिलेसम्म तिहारका लागि भारतबाट फूलको आयात गर्नु परेकोमा अहिले स्वदेशी फूलले बजार ओगटेको छ ।

बाँकेको कोहलपुर, राप्तीसोनारी र नेपालगन्जमा व्यावसायिक रूपमै पुष्प खेती हुन थालेपछि तिहारका लागि पर्याप्त फूल पाइन थालेको हो ।

बाँकेको कोहलपुर नगरपालिका–३ र १३ मा व्यावसायिक रूपमै सयपत्री फूल उत्पादन गरेर दुई जना व्यवसायीले छुट्टाछुट्टै वार्षिक पाँचदेखि सात लाख रुपियाँ आम्दानी गरिरहेका छन् ।

कोहलपुरकी फूल खेती गर्ने महिला व्यवसायी विष्णु चौधरीले कोहलपुर–३ मा सात कट्ठामा लगाएको सयपत्री फूल वार्षिक करिब तीन क्विन्टलभन्दा बढी उत्पादन हुने गरेको छ ।

(अर्जुन काफ्ले/तिलाचन पाण्डे / सिराज खान/रेखीराम रानाको सहयोगमा)