• १९ पुस २०८१, शुक्रबार

अनुदान दुरुपयोग गर्नेको अध्ययन हुने

blog

धम्बोझी समाचारदाता

धम्बोझी, कात्तिक १५ गते । नेपालमा ठुलो अनुदान लिएर दुरुपयोग गर्ने कृषकको फाइल अध्ययन सुरु गरिएको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बताउनुभएको छ । 

नेपाल किसान महासङ्घ बाँकेले बुधबार कोहलपुरमा आयोजना गरेको कार्यशाला तथा अन्तरसंवाद कार्यक्रममा मन्त्री अधिकारीले ठुलो रकम अनुदान लिएकाको फाइल अध्ययन गर्न तीन सदस्यीय समिति बनाइएको जानकारीसमेत दिनुभएको छ । 

मन्त्री अधिकारीले कोहलपुरमा पाउडर प्लान्ट स्थापना गर्ने विषय आफ्नो प्राथमिकतामा परेको बताउनुभयो । आफूले कृषि मन्त्रालय समालेपछि दुध र उखुको वक्यौता भुक्तानी तथा बाली बिमाको रकम उपलब्ध गराउन सफल भएको बताउनुभयो । 

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले सरकारले तत्काल मलको कारखाना खोल्ने निर्णय गर्नुपर्नेमा जोड दिनुभयो । किसानले समयमै मल तथा बिउविजनको व्यवस्था, सहुलियतदरमा कृषि ऋण उपलब्ध गराउन, सिँचाइको व्यवस्था, उत्पादनको बजारीकरण, युवा पलायन रोक्न, अनुदानको दुरुपयोग रोक्न, खुला सीमाको फाइदा उठाउँदै भइरहेको अवैध ओसारपसार रोक्न मन्त्री अधिकारीसमक्ष माग गरेका छन् । 

नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष लाहुराम थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री अधिकारीलाई कोहलपुर डेरी एसोसिएसनका महासचिव सन्तोष पौडेलले विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाउनुभएको थियो ।