• १० मंसिर २०८१, सोमबार

सहकारी ठगीमा अनुहार होइन, प्रमाण अनुसार कारबाही हुन्छ : गृहमन्त्री लेखक

blog

नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री रमेश लेखक । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक १४ गते । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले देशैभरका सहकारीमा भएका ठगीमाथि अनुसन्धान, कारबाहीसँगै सहकारी क्षेत्र सुधारका लागि पनि सरकारले काम गरिरहेको उल्लेख गर्नुभएको छ । नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कारबाही प्रक्रियामा कतै आग्रह, पूर्वाग्रह नराखिएको प्रस्ट गर्नुभएको हो । 

“सहकारी ठगी अनुसन्धानमा अनुहार हेरिएको छैन, प्रमाण हेरिएको छ । प्रमाण तथा जान्छ, अनुसन्धान त्यतै गएको छ,” उहाँले भन्नुभयो, “कतै राजनीतिक आग्रह÷पूर्वाग्रह राखिएको छैन । बचतकर्ताको रकम फिर्तालाई केन्द्रमा राखिएको छ ।” सहकारी आन्दोलनलाई बलियो बनाउन कामकाजी अनुगमन संयन्त्र निर्माण, ऐन, कानुनहरूमा सुधार आवश्यक परेमा त्यसो पनि गरिने उहाँले बताउनुभयो । 

पत्रकारका प्रश्नहरूको जवाफ दिँदै उहाँले अनुसन्धानका क्रममा कसैलाई जोगाउने र कसैलाई फसाउन भन्ने हुनै नसक्ने उल्लेख गर्नुभयो । “यहाँहरूको सोधेको धनराजजी(धनराज गुरुङ)माथि पनि अनुसन्धान हुन्छ । तथ्य, प्रमाणले दोषी देखिए उहाँमाथि पनि कारबाही हुन्छ ।”

देशैभर सहकारी खोली सङ्गठित रूपमा ठगी गर्ने जीवी राईको खोजीमा पनि सरकार लागिरहेको उहाँले बताउनुभयो । “हालै सार्वजनिक भएको जीवी राईको इमेलबारे पनि अनुसन्धान गर्न निर्देशन दिइसकिएको छ । जीवी राईको विषयमा पनि काम भइरहेको छ, परिणाम आइनसकी धेरै कुरा भन्न मिलेन ।”

सहकारीहरूमा लाखौँ बचतकर्ताको अरबौँ अपचलन भएको उल्लेख गर्दै गृहमन्त्रीले संसदीय छानबिन समितिको निर्देशनबमोजिम अनुसन्धान अघि बढाइएको प्रस्ट गर्नुभयो । उहाँले आउने संसद् अधिवेशनबाट नयाँ सशस्त्र प्रहरी ऐन र नेपाल प्रहरी ऐन पारित गर्ने तयारी भएको सुनाउनुभयो । 

“सङ्घको प्रहरीलाई नयाँ ऐनमार्फत व्यावसायिक, क्रियाशील र चुस्त बनाउनु जरुरी छ भने प्रदेशमा पनि प्रदेश प्रहरी बनाउनु छ,” उहाँले भन्नुभयो, “यसका लागि आउँदो अधिवेशनबाट ऐनहरू पारित गर्ने हाम्रो तयारी छ ।”