नौरते नेपाली
सिँजा (जुम्ला), पुस १ गते । जुम्लाको तातोपानी गाउँपालिका–२ र ३ का ग्रामीण बजारमा अनुगमन गरिएको छ । तातोपानी–२ को जर्मी गाउँ रहेको बजार र वडा नम्बर ३ को लिताकोट बजारमा सोमबार अनुगमन गरिएको हो । उद्योग तथा उपभोक्ता हक हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा, जिल्ला प्रशासन कार्यालय जुम्लाको संयोजकत्व तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाको सहयोगमा अनुगमन भएको हो ।
अनुगमन टोलीले एकैसाथ होटल, खुद्रा पसल र मदिरा पसल (भट्टी) हरूमा अनुगमन गरेको थियो । उद्योग तथा उपभोक्ता हक हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योगीका अनुसार तातोपानी क्षेत्रका झण्डै १५ वटा खुद्रा पसल, होटल तथा मदिरा पसलको सूक्ष्म अनुगमन गरिएको बताउनु भयो । उहाँले ठुला व्यापारीबाट गाउँ गाउँमा रहेका साना व्यापारीलाई म्याद गुज्रेका सामान सप्लाइ हुने गुनासो बढ्दै गए पछि निगरानी कडा पारिएको जानकारी दिनुभयो ।
यस्तै जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीनबहादुर रावलले अनुगमनका क्रममा म्याद, लेबल, भण्डारण अवस्था, मूल्यसूची तथा स्वच्छताका विषयमा विशेष ध्यान सुझाव दिइएको बताउनुभयो । उहाँका अनुसार, कतिपय पसलहरूलाई सचेत गराउँदै सुधारका लागि निर्देशन दिइएको छ भने आवश्यक परे कानुनी कारबाही अघि बढाइने चेतावनी दिइएको बताउनुभयो ।
जुम्लामा बजार अनुगमन गर्ने सुझाव मात्र दिने कारबाही प्रक्रिया अघि नबढाउने प्रवृत्ति छ । जिल्लामा हालसम्म थुप्रै पटकसम्म बजार अनुगमन गरेपनि, लाखौ म्याद सकिएको सामान बरामद गरेको, व्यवसाय दर्ता नगरेको, विल विजक स्पष्ट नगरेको, मुल्यसुचि नराखेको भेटिए पनि कारबाहि हुन सकेको छैन । जसका कारण बजार अनुगमन औपचारिकतामै सिमित भएको छ ।