• १९ पुस २०८१, शुक्रबार

चामल बेपत्ता बनाउने फर्मलाई जरिवाना

blog

मनहरी गाउँपालिका कार्यालय ।

राममणि दाहाल

हेटौँडा, कात्तिक १४ गते । बजार अनुगमनका क्रममा खान अयोग्य भई रोक्का राखेको चामल बेपत्ता पार्ने मकवानपुरको एक व्यावसायिक फर्मलाई मनहरी गाउँपालिकाको कार्यालयले कारबाहीसहित जरिवाना गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको नेतृत्वमा गत असोज ६ गते संयुक्त अनुगमन क्रममा मनहरी गाउँपालिका –७ स्थित मङ्गलमय ट्रेडर्सको गोदाममा रहेको चामल प्रचलित मापदण्ड बमोजिम नभएको भन्दै जरिवानासहित रोक्का राखिएको थियो । 

जरिवाना र रोक्का राखेको चामल नमुना जाँच गर्न जाँदा चामल नभएको पाइएपछि गाउँपालिका कार्यालयले पहिले लगाइएको जरिवानामा समेत थप गरी जरिवाना लगाउने निर्णय गरेको हो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले उक्त फर्मलाई जरिवाना दाखिला गर्न र चामल फिर्ता ल्याउन भन्दै पत्राचार गर्नुभएको छ । उक्त पसलको गोदाममा रहेको चामल प्रचलित मापदण्ड बमोजिम नभएको पाइएपछि ५० हजार रुपियाँ जरिवाना र रोक्का राखेको चामल नमुना जाँच गर्न जाँदा चामल नभएको हुँदा प्रशासनलाई अटेर तथा सहयोग नगरेकाले २० हजार गरी ७० हजार रुपियाँ जरिवाना गर्दै गाउँपालिकाको खातामा जरिवाना बापतको रकम जम्मा गर्न भनिएको छ ।

रोक्का रहेको ६० बोरा चामलको नमुना जाँच गर्नुपर्ने भएकाले पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र गोदाममा राखी गाउँपालिकामा सम्पर्क राख्न उक्त फर्मलाई प्रमुख प्रशासकीय अधिकृत सुवेदीले पत्रमार्फत भन्नुभएको छ । 

सोमबार नमुना सङ्कलन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, मनहरी गाउँपालिका कार्यालय लगायतका प्रतिनिधि पुग्दा गोदाममा चामल नभेटिएपछि गाउँपालिका कार्यालय कारबाहीमा उत्रेको हो । उक्त चामल कैलाश ब्रान्ड र लक्ष्मी राइस मिलको भएको जनाइएको छ ।