• १९ पुस २०८१, शुक्रबार

राजनीतिसँगै फूलखेतीमा व्यस्त राना

blog

फूल कृषक चन्द्रबहादुर रानाको बगैँचामा फुलेको फूल । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, कात्तिक १४ गते । युवा कोही दिनहुँ विदेशी रहेका छन्, कोही राजनीतिमा होमिएका छन् । यहाँका गल्याङ नगरपालिका–५ रुपाखानीमा चन्द्रबहादुर राना ‘चित्र’ राजनीतिसँगै फूलखेतीमा दैनिक रमाउने गर्नुभएको हो । 

१० बर्से जनयुद्ध हुँदै पाँच वर्ष माओवादी केन्द्रबाट वडा सदस्य जितेर गल्याङ नगर सदस्य भएर काम गर्नुभएका राना अहिले गल्याङ नगर पार्टीको अध्यक्ष रहनु भएको छ । 

रानाले पाँच वर्षदेखि जनप्रतिनिधि रहँदा नै मौलाकालिका कृषि तथा पशुपन्क्षी फर्म दर्ता गरेर फूलखेतीमा लाग्नु भएको हो । कोरोनाको कारण फूलको अभाव भइरहँदा रानाले आठ रोपनी ६० हजारको जग्गा भाडामा लिएर खेती थाल्नु भएको थियो । उहाँको बगैँचामा सयपत्री र मखमली फूल ढकमक्क फुलेको हो । 

धेरै ठाउँमा रहरले फूलखेती गरिरहँदा रानाले भने फूलखेतीलाई आर्थिक आर्जनको माध्यम बनाउनु भएको हो । गत वर्षसम्म आठ रोपनीमा १० हजार फूल रोप्नु भएका रानाले यो आर्थिक वर्षमा भने पाँच रोपनीमा पाँच हजार बिरुवा रोप्नु भएको हो । 

गत साल पाँच लाख घाटा भएको बताउँदै रानाले यो साल भने तीन रोपनी जग्गामा कम रोपेको बताउनुभयो । कोरोनाका समयमा बजार फूलको अभाव भएपछि यो खेती रोजेको बताउँदै रानाले घाटा भए पनि दैनिक काम गर्ने ठाउँ नै बगैँचा भएको बताउनुभयो । 

यहाँ फूल उत्पादनमा लागत महँगो भएको बताउँदै रानाले त्यसमै भारतको फूलसँग प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो । तीन वर्षदेखि भारतीय फूलसँग प्रतिस्पर्धा गरिएको बताउँदै उहाँले भारतबाट आएको फूलले बिक्री नहुने डरले व्यापारीको माग समेत यो आर्थिक वर्षमा कम रहेको बताउनुभयो । 

रानाले यो आर्थिक वर्षमा डेढ लाखको फूल बेच्नु भएको छ भने बगैँचामा अझै तीन लाखको फूल रहेको छ । ३६५ दिन नै उहाँले फूल बेच्ने गर्नुभएको छ भने अहिले स्थानीय मागभन्दा पोखरा, काठमाडौँ र बुटवलमा पठाउने गर्नुभएको छ । 

उहाँले खुद्रामा केजीको तीनसय पचास रुपियाँ, होलसेल तीन सयमा फूल बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । त्यसैगरी माला खुद्रामा एक सय र होलसेल ८० रुपियाँमा बिक्री गरिरहेको उहाँको भनाइ छ ।