• १५ कात्तिक २०८१, बिहिबार

धानमा 'पोके' रोग र 'फड्के' किराको प्रकोप

blog

सुनसरीको इनरुवा नगरपालिका ९ बबियाका किसान चन्दन साहले धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको विरुद्ध विषादी छर्दै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, कात्तिक १४ गते । सुनसरीमा पाक्न लागेको धानबाली ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखापरेपछि किसान चिन्तित बनेका छन् । दसैँ अगाडिको वर्षा र बाढी तिहारको मुखमा भित्र्याउने तयारीमा जुट्नुपर्ने किसानले धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोपको सामना गर्न बाध्य हुनुपरेको छ । 

इनरुवा नगरपालिका–९ बबियाको विघौविघा खेतमा पाक्नै लागेको धानमा बाला काट्ने, ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका हुन् । धानबालीमा रोपाइँको एक महिना पछिबाट सुरु भएको गवारो, खैरो फड्के किरा र अहिले पाक्ने बेलामा पोके रोग देखा परेको इनरुवा ९ बबियाका किसान मुसहरु साहले बताउनुभयो । 

धान लहलह झुल्ने समयमा रोगको प्रकोपले धानको बाला नष्ट हुन थाल्दा धान उत्पादन घटने चिन्तामा किसान रहेको साहले बताउनुभयो । धानबालीमा प्रकोपकै रूपमा बाला नष्ट हुन थालेको अर्का किसान इनरुवा नगरपालिका–९ बबियाका रवीन्द्र साहले बताउनुभयो । जिल्लाको सदरमुकाम इनरुवा नगरपालिका ९ बबिया, जल्पापुर, मधेशा, डुम्राहा, चान्दबेला सहित बर्जु गाउँपालिका, हरिनगर, गढी, भोक्राहा नरसिंह र कोशी गाउँपालिकाका धान उत्पादन हुने क्षेत्रमा गवारो र खैरे फड्के किराको प्रकोपले धानको बाला नष्ट हुने र बोट हरियोमै सुक्दै जाने समस्या देखापरेको सम्बन्धित स्थानीय तहका कृषि प्राविधिकहरूले बताएका छन् ।

किराको समस्या बढी देखिएको क्षेत्रमा कृषि प्राविधिकहरूले सामान्य रूपमा सल्लाह दिने र केही विषादीको सिफारिस समेत गरेको हरिनगर गाउँपालिकाका कृषि प्राविधिक भुवनेश्वर यादवले बताउनुभयो । धानबाली भित्र्याउने अन्तिम समयमा देखा परेको रोगले यस वर्ष धान उत्पादन घटन सक्ने समेत यादवको भनाइ छ । 

गवारो र खैरे फड्के रोगको सङ्क्रमणबाट धानबाली जोगाउन किसानहरूले केही विषादी समेत छर्न थालेको किसान जसलाल यादवले बताउनुभयो । यसअघि वर्षा र हावाहुरीबाट समेत जिल्लाको सयौँ हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको थियो । सुनसरीमा ५३ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको छ ।