• १० मंसिर २०८१, सोमबार

राष्ट्रसङ्घका महासचिवद्वारा इजरायली प्रधानमन्त्रीलाई पत्राचार

blog

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस । फाइल तस्बिर

संयुक्त राष्ट्रसङ्घ, कात्तिक १४ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सी (युएनडब्लुए) लाई प्रतिबन्ध लगाउने कानुनको विरोध गर्दै पत्राचार गर्नुभएको छ ।

इजरायली संसद्ले अनुमोदन गरेको उक्त कानुनले राष्ट्रसङ्घीय निकायलाई इजरायलमा सञ्चालनको प्रतिबन्ध लगाई इजरायली अधिकारीसँग सञ्चार तथा समन्वय गर्नबाट रोकेको छ । यसले गाजाका प्रभावित क्षेत्रमा सञ्चालित मानवीय सहायतालगायतको काम समाप्त गर्न सक्छ ।

इजरायल लामो समयदेखि युएनआरडब्लुएसँग मतभेदमा छ । गत अक्टोबरमा गाजामा युद्ध सुरु गर्ने हमास हमलामा युएनआरडब्लुए केही कर्मचारीहरू संलग्न रहेको आरोप लगाएको छ । प्रतिबन्ध तीन महिनाभित्र सुरु हुने बताइएको छ ।

पत्रमार्फत गुटेर्रेसले गाजा र वेस्ट बैङ्कका प्यालेस्टिनीका लागि कानुनले ‘विनाशकारी परिणाम’ निम्त्याउन सक्ने बताउँदै प्रभावितलाई आवश्यक सहायता प्रदान गर्न युएनआरडब्लुएको उचित विकल्प नभएको बताउनुभएको छ ।

गुटेर्रेसले इजरायललाई विनाशकारी परिणाम रोक्न र युएनआरडब्लुएलाई पूर्वी जेरुसेलम लगायतका प्यालेस्टिनी क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका दायित्व र गतिविधि जारी राख्न अनुमति दिन आग्रह गर्नुभएको छ ।  

गुटेर्रेसले अन्तर्राष्ट्रिय कानुनअन्तर्गत कब्जा गर्ने शक्तिले कब्जा गरिएको क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई सहयोग गर्ने सहमतिको कार्यान्वयन गर्नुपर्ने तर्क गर्नुभएको छ ।

इजरायलले प्यालेस्टिनी क्षेत्रका आवश्यकता पूरा गर्ने स्थितिमा नहुँदासम्म युएनआरडब्लुएलगायत अन्य मानवीय निकायमार्फत हुने गतिविधिलाई अनुमति दिने दायित्व रहेको उल्लेख गर्नुभएको छ । रासस/एएफपी