• १५ कात्तिक २०८१, बिहिबार

साफ महिला च्याम्पियनसिप

नेपाललाई इतिहास रच्ने मौका

blog

काठमाडौँ, कात्तिक १४ गते । नेपाललाई साफ महिला फुटबलको उपाधिले सधैँ लोभ्याइरहेको छ । अहिलेसम्म भएका छ संस्करणमध्ये नेपालले पाँचमा फाइनल खेलिसकेको छ । एक कदम मात्र पछि परी विगतका फाइनलमा निराश बन्दै आएको नेपाललाई यस पटक इतिहास रच्ने मौका छ ।  चार पटक भारतसँग फाइनलमा हारेको नेपालले आफ्नै भूमिमा भारतलाई सेमिफाइनलमा हराएर एउटा ठुलो तगारो पन्छाइसकेको छ । अब एउटा मात्र तगारो पछिल्लो संस्करणको विजेता बङ्गलादेशलाई पन्छाउँदै उपाधि चुम्ने मौका छ । पछिल्लो संस्करणमा बङ्गलादेशले नेपाललाई उपाधिबाट वञ्चित गरेको थियो । त्यो हारको बदला लिने यो सुवर्ण मौका पनि हो । 

विगत हेर्ने हो भने साफ च्याम्पियनसिपमा नेपाल च्याम्पियन बन्ने हक पनि लाग्छभन्दा फरक पर्दैन । त्यत्ति मात्र होइन नेपालले साफसहित अहिलेसम्म खेलेका कुल ११ अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेर पनि च्याम्पियन बन्न सकेको छैन । भारत विगतदेखि नै नेपालको परम्परागत प्रतिद्वन्द्वीका रूपमा रहँदै आएकोमा अहिले नेपालसामु बङ्गलादेश बाधकका रूपमा तेर्सिएको छ । पछिल्लो संस्करणमा दशरथ रङ्गशालामै बङ्गलादेशसँग फाइनलमा हारेको पीडालाई नेपालले भुल्न सकेको छैन । सो समय नेपालको हार स्तब्धकारी नै थियो । किनभने सो पराजयअघि नेपालले बङ्गलादेशसँग पराजय बेहोरेको थिएन । अहिले पनि ‘हेड टु हेड’ हेर्ने हो भने नेपाल हाबी छ । यी दुईबिच अहिलेसम्म भएका १२ खेलमा नेपालले छ र बङ्गलादेशले एक खेल जितेको छ । पाँच खेल बराबरीमा सकिएका थिए । साफ च्याम्पियनसिपमा पनि चारमध्ये तीन खेलमा नेपाल विजयी भएको छ ।

त्यसैले पनि पछिल्लो संस्करणमा बङ्गलादेशसँगको फाइनलमा हार निकै पीडादायी थियो । नेपालसमक्ष बुधबार साफ महिला च्याम्पियनसिपकै अर्को फाइनलमा बङ्गलादेशविरुद्ध बदला लिएर सो पीडा भुलाउने अवसर छ । बुधबार च्याम्पियन बनेपछि मात्र नेपाललाई लामो समयदेखि लागेको चोटमा मलम लाग्ने छ । 

नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङले विगतमा लगातार फाइनलमा हारे पनि यस पटक आफ्ना खेलाडी आत्मप्रेरित छन्, जुन खेल जित्न एउटा ठुलो पक्ष हो भन्नुभयो । उहाँ भन्नुहुन्छ, “विगतका जे जति गल्तीले फाइनल गुमायौँ, भोलि त्यो गल्ती गर्दैनौँ । दुवैको स्तरमा खास फरक छैन तर दशरथ रङ्गशालामा ओर्लिने नेपाली दर्शकको समर्थन र खेलाडीको उच्च मनोबलले नेपालले फाइनलमा जित दिलाउने छ ।” प्रशिक्षक तामाङले बङ्गलादेशी टिम इङ्ग्लिस शैलीको फुटबल खेल्ने भएकाले आफूले अझ राम्रो रणनीति बनाउने आत्मविश्वास व्यक्त गर्नुभयो । 

नेपालकी कप्तान एन्जिला तुम्बापो सुब्बाले पनि फाइनलका लागि टिम तयार छ भन्नुहुँदै यसपालि टिम भावना राम्रो भएकाले सधैँ फाइनलमा हारिरहेको नियति तोडिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विगत बितिसक्यो, भोलि जित्छु भन्ने मलाई मात्र होइन टिमका प्रत्येक खेलाडीलाई विश्वास छ । भोलि जित्न सकेनौँ भने अर्को ५–१० वर्ष पर्खनुपर्ने हुन सक्छ ।”

बङ्गलादेशका प्रशिक्षक पिटर बटलर पछिल्ला खेलमा शानदार जितले अति आत्मविश्वासी नहुने र टिमले स्वाभाविक प्रदर्शन गरेर फाइनल जित्ने बताउनुभयो । अहिलेसम्म बङ्गलादेशले रोमाञ्चक, आक्रामक फुटबल खेलेको छ, नेपालविरुद्धको फाइनलमा पनि सोही प्रदर्शन दोहो¥याएर दोस्रो पटक च्याम्पियन बन्ने छौँ,” उहाँले भन्नुभयो । बङ्गलादेशी कप्तान सविना खातुनले फाइनल दुवैलाई सहज नहुने तर घरेलु टिमविरुद्ध डिफेन्ड गरेर होइन आक्रामक रूपमा प्रस्तुत भएर खेल जित्ने छौँ भन्ने भनाइ राख्नुभयो ।

 दशरथ रङ्गशालामै भएको पछिल्लो संस्करण जित्दा कप्तान सविना सर्वाधिक गोलकर्ता र ‘मस्ट भ्यालुएबल प्लेयर’ घोषित हुनुभएको थियो । बङ्गलादेशका प्रशिक्षक र कप्तान दुवैले खचाखच घरेलु दर्शकले फरक नपार्ने भनाइ राखे । नेपालका प्रशिक्षक तामाङलाई भोलि रेखा पौडेल अनुपस्थित हुने हुँदा रणनीति बनाउन केही समस्या पर्न सक्छ । चालु प्रतियोगिता सात गोलसहित रेखा सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा हुनुहुन्छ । 

अबुधाबी कन्ट्री क्लबबाट खेल्ने रेखाले उच्चस्तरको व्यावसायिक महिला लिगको अनुभवले आफू अझ खारिएकी प्रमाण लगातार देखाइरहनुभएको छ । त्यसैले नेपाली टिममा रेखा महत्वपूर्ण खेलाडी हुनुहुन्छ तर प्रशिक्षक तामाङसँग आफूसँग योजना भएको र दक्षिण एसिया मात्र होइन मध्यपूर्व एसियाकै उत्कृष्ट महिला स्ट्राइकर सावित्रा भण्डारी आफ्नो टिममा भएकाले समस्या नहुने बताउनुभयो ।

बङ्गलादेशी टोलीमा विवाद !

फाइनलअघि बङ्गलादेशी टिममा अहिले विवाद रहेको समाचारले पनि नेपाललाई फाइदा पुग्न सक्छ ।  पहिलो खेलमा पाकिस्तानसँगको कठिन बराबरीपछि प्रशिक्षक बटलरको आलोचना भएको थियो । जुन आलोचना रोकिएन । भुटानविरुद्धको खेलअघि कप्तान सविनाले फेसबुकमा प्रशिक्षकप्रति असन्तुष्टि जनाउनुभएको थियो । यद्यपि उहाँले पछि माफी माग्दै आफ्नो स्टाटस हटाउनुभयो । भारतविरुद्ध प्रशिक्षक बटलरले कप्तान सविनालाई स्थानापन्न गरेपछि पुनः विवाद बढ्यो । सेमिफाइनलअघि पनि सन् २०१० देखि राष्ट्रिय टिममा रहनुभएकी सविनाले अस्वस्थताको बहाना बनाउँदै अभ्यास गर्नुभएको थिएन । यद्यपि सविनाले भुटानविरुद्ध पहिलो रोजाइमै खेलेर दुई गोल गर्नुभएको थियो । बङ्गलादेशी प्रशिक्षक बटलरले मङ्गलबार फाइनलअघिको पत्रकार सम्मेलनमा टिम एकजुट गरेको मानसिक रूपमा राम्रो स्थितिमा रहेको दाबी गर्नुभयो ।

एन्फा आफैँले टिकट बेच्ने

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलको टिकट आफैँ बिक्री गर्ने भएको छ । यसअघि एन्फाले माउन्ट एभरेस्ट स्पोटर्स एन्ड इभेन्ट्स प्रालिलाई ८० लाख रुपियाँमा टिकट बिक्रीको अधिकार दिएको थियो । माउन्ट एभरेस्टले खल्तीबाट टिकट बिक्री गर्दै आएको थियो तर नेपाल र भारतबिचको सेमिफाइनलमा तोकिएको भन्दा अत्यधिक टिकट बिक्री गरेको र सुरक्षा व्यवस्थामा नै समस्या आएको भन्दै एन्फाले माउन्ट एभरेस्टसँगको सम्झौता रद्द गरेको जनाएको छ ।

एन्फा उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक दीपक खतिवडाले एन्फाले अब जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र भद्रकालीस्थित आर्मी हेड क्वाटरको गेटबाहिर मङ्गलबार बिहान ८ बजेदेखि भौतिक रूपमा टिकट बिक्री गर्ने जानकारी दिनुभयो । एन्फाले साधारणतर्फ ११ हजार र अति विशिष्टलाई एक हजार मात्र टिकट बिक्री गरिने बताइएको छ । दशरथ रङ्गशालाको दर्शक क्षमता १५ हजार चार सय रहेको छ । एन्फाले खल्तीबाट फाइनलका लागि बिक्री भएका टिकट रद्द गरिएको जानकारी पनि दिएको छ । यसै गरी सुरक्षालाई ध्यानमा राख्दै धारिला हातहतियार, चुरोट, लाइटर, सलाई, मदिरा र अन्य नसालु पदार्थ, झोला र ठुला ब्याग, हेलमेट, पानीको बोतल, क्यान, पत्थर, धातुका मुद्रा, लेजर लाइट, छाता, लिबिस्टिक, नेलकटर, कैँची र काइँयोलगायतका सामग्री रङ्गशालामा निषेध गरिएको छ ।