• ११ पुस २०८१, बिहिबार

बुद्ध शिक्षाको अपरिहार्यता

blog

नेपालको संविधानले नेपाललाई धर्मनिरपेक्ष देशका रूपमा स्वीकार गरिसकेको छ । सबै धर्म, वर्ण, लिङ्गलाई समानताका रूपमा लिइएको छ । नेपाल बहुजातीय, बहुभाषा, बहुधार्मिक र बहुसांस्कृतिक विशिष्टता भएको देशका रूपमा रहेको छ । नेपालको बौद्ध सांस्कृतिक इतिहास करिब २५०० वर्षको लिखित इतिहासभन्दा धेरै लामो रहेको कुरा लुम्बिनी, निग्लिहवा, गोटिहवामा अवस्थित प्रस्तर खम्बाका अभिलेखलाई लिन सकिन्छ । तराईमा प्राप्त भएका ती अभिलेखको आधारमा नेपालभूमि तीन जना बुद्ध क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध र शाक्यमुनि बुद्धको जन्मस्थल भएको तथ्य प्रमाणित भएको देखिन्छ ।

नेपालमण्डल अर्थात् काठमाडौंँ उपत्यका, श्रीस्वयम्भू ज्योतिरूप प्रज्वलित तीर्थस्थलका रूपमा र बौद्ध कला, सभ्यता र संस्कृतिको उद्भव स्थलको दृष्टिकोणले प्रसिद्ध रहेको छ । नेपालमण्डलको स्वयम्भू ज्योतिरूपको प्रतिस्थापन र विभिन्न समयमा सप्त तथागतहरू विपश्वी, शिखि, विश्वभू, क्रकुच्छन्द, कनकमुनि, काश्यप र शाक्यमुनि तथा अनेक बोधिसत्व (मञ्जुश्री), सिद्धाचार्य, योगीहरू यस क्षेत्रमा भ्रमण गरेको देखिनुले शाक्यमुनि बुद्धभन्दा पनि अगाडिदेखि नै नेपालमा बुद्धधर्म र बौद्ध सभ्यताको सुरुवात भएको देखिन्छ ।

वर्तमान अवस्थामा नेपालमा प्रचलित बिभिन्न धर्ममध्ये बुद्ध धर्म पनि एक हो । बुद्ध धर्म र बौद्ध संस्कृतिका रूपमा बौद्ध रीतिथिति, बौद्ध संस्कार, बौद्ध चाडपर्व, बौद्ध जात्रा, बौद्ध व्रत, बौद्ध परम्परा रहेका छन् । बौद्ध कला, संस्कृतिका रूपमा रहेका मूर्तिकला, धातुकला, काष्ठकला, चित्रकला, विहार, मन्दिर, गुम्बा, छोर्तेन, स्तूप, ठूलासाना चैत्य र चीबाःहरू रहेका छन् । बुद्धका उपदेश आर्य अष्टाङ्गिक मार्गमध्ये सम्यक् वाक, सम्यक् कर्मान्त, सम्यक् आजीविका शील शिक्षाभित्र आउँछन् ।

त्यस्तै सम्यक् स्मृति र सम्यक् समाधि समाधि शिक्षाभित्र पर्दछ भने सम्यक् दृष्टि, सम्यक् सङ्कल्प र सम्यक् व्यायाम प्रज्ञा शिक्षामा आउँछन् । यसरी शील–समाधि–प्रज्ञालाई त्रि–शिक्षा पनि भनिन्छ । गृहस्थ उपासक–उपासिकाले पालन गर्नुपर्ने शील मुख्य पांँचवटा छन्, त्यसलाई पञ्चशील भनिन्छ । (क) प्राणी हत्या नगर्नु, (ख) चोरी नगर्नु, (ग) व्यभिचार नगर्नु, (घ) झुटो नबोल्नु र, (ङ) लागूपदार्थ सेवन नगर्नु । 

बुद्ध दर्शन भनेको बुद्धले दिने दर्शन हो । बुद्धले दिने दर्शन नै बुद्ध शिक्षा हो । मानिसको जिन्दगीमा धर्म र शिक्षा सँगसँगै आउने गर्छन् । धर्म र शिक्षाको घनिष्ट सम्बन्ध रहेको हुन्छ । जहाँ धर्म हुन्छ, त्यहाँ शिक्षा पनि हुन्छ । बुद्ध दर्शनलाई बुद्ध धर्म र बुद्ध शिक्षाका रूपमा पनि लिने गरेको पाइन्छ । भगवान बुद्धले दिनुभएको उपदेश, उहाँले देखाउनुभएको मार्ग, दृष्टिकोण र दर्शन नै बुद्ध शिक्षा हो । बुद्ध शिक्षा बुद्ध स्वयंले प्रयोग गरिएको (भोगेको) शिक्षा हो । बुद्धका अनुयायीहरूका शिक्षामा आधारित बुद्ध दर्शन र बुद्ध शिक्षा हो । अहिले नेपालमा मात्रै होइन, विश्व जगत्मा बुद्धका दर्शन र शिक्षालाई अपनाएर अगाडि बढिरहेको देखिन्छ । 

अहिले विश्वमा थुप्रै परिवर्तनका साथसाथै विविध समस्या बढ्दै गइरहेका छन् । द्वन्द्व, भोकमरी, युद्धले गर्दा मानवलगायत जीवजन्तु मरिरहेका छन् भने जनजीवन नै तहसनहस र अस्तव्यस्त हुन पुगेका छन् । बुद्धको पञ्चशीलको पालना मात्रै गर्ने हो भने यी समस्याको केही हदसम्म भए पनि न्यूनीकरण अवश्यै हुने थियो तर विडम्बना शस्त्रास्त्रको अनावश्यक होडबाजी, बम, बारुदको प्रयोगले गर्दा विश्व कुरूप बन्दै गइरहेको छ । मर्ने, मार्ने कार्य रोकिएको छैन । यस्ता समस्याको हल गर्नका लागिसमेत बुद्ध शिक्षाको आवश्यकता पर्दछ । विश्वमा देखा परेका समस्या बुद्धको शिक्षाबाट समाधान गर्न सकिन्छ ।

हरेक समस्याका कारण मनको अस्थिरता हो । मानिसको मनको समाधान वर्तमान लोभ, तृष्णा र मोहमाथिको विजय हो । चार आर्यसत्यको ज्ञान अनि मध्यम मार्ग नै यस जगत्को सुख मार्ग हो । बुद्धले झैँ चित्त (मन)को समाधान गर्न सक्नु नै सुख मार्गको दिशा हो । बुद्धले सारा जीवनलाई शान्ति, सत्य, अहिंसाको प्रतिमूर्तिका रूपमा जगत्को सेवा र कल्याणका लागि काम गरेको विषय जातक कथामा उल्लेख भएको पाइन्छ । बुद्ध शिक्षा भनेको कुशल कर्म गर्नु, अकुशल कर्मबाट टाढा रहनु र मनलाई शुद्ध पार्नु हो भनी आर्य गुणकाण्डव्यूडमा उल्लेख गरिएको छ । समाजमा भएका अन्याय, असमानता, अत्याचार र शत्रुबाट मुक्ति पाउन कल्याणकारी कार्य गर्नु बौद्ध संघको उद्देश्यलाई पालना गराउनसमेत बुद्ध शिक्षाको आवश्यकता पर्दछ । 

बौद्ध शिक्षा एउटा यस्तो मार्ग हो, जसले यस जगत्मा समानता, कुशल नेतृत्व, प्रेम, आदर र सद्भावको अन्तत्र्रिmया गरी दुःख र तृष्णाबाट मुक्त गर्छ । बौद्ध संघको कार्य मानव जगत्सँग सम्बन्ध छ । असल नेतृत्व नै यस जगत् विकासको सङ्केत हो । बुद्ध शिक्षालाई प्रेमको भण्डार पनि भनिन्छ । जसले बाटा भुलेकालाई बाटो देखाउने कामसमेत गर्छ । समग्रमा भन्ने हो भने बुद्ध शिक्षा निर्वाण प्राप्तिका लागि मेलमिलाप, शान्ति र विश्वास पनि भन्न सकिन्छ । बुद्ध शिक्षाले सङ्गठित गर्न कुशल र असल नेतृत्वको उत्पादन गर्न मद्दत पु¥याउँछ । बुद्ध शिक्षाको अभ्यास भन्नु नै सुमार्गको अवसर हो ।

पवित्र ग्रन्थ त्रिपिटकमा बुद्धले विभिन्न समय र स्थानमा गरेको उपदेश, शिक्षा र नियम सङ्ग्रहित गरिएको तीन पिटक सुत्त पिटक, विनय पिटक र अभिधम्म पिटक रहेका छन् । सुत्त पिटकमा उपासक र उपासिकाहरूको जीवनसँग सम्बन्धित जीवनोपयोगी, अधिकार, नैतिक र लाभकारी उपदेश रहेका छन् । विनय पिटकमा भिक्षु र भिक्षुणीको एकअर्काको व्यवहारमा गर्न हुने र नहुनेबारे लेखिएको नियम छन् भने अभिधम्म पिटकमा हेतु प्रत्यक्ष र कार्यकरण छुट्याएर जान्न र सिक्न सकिने विषयको सङ्ग्रह रहेका छन् ।

बुद्धले बताउनुभएको चार आर्य सत्य दुःख आर्यसत्य, दुःख समुदय आर्यसत्य, दुःखनिरोध आर्यसत्य र दुःखनिरोध गामिनीप्रतिपदा आर्यसत्य हो । आर्यअष्टाङ्गिक मार्ग भनेको बुद्धको मध्यम मार्ग हो । जसमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वाचा, कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि रहेका छन् । पञ्चशील भनेका पाँच सदाचार र आचरण हो, जुन शरीर, मन र बोलीवचनबाट अरूको अहित नहुने काम गर्नु हो । पञ्चस्कन्ध भनेको दुःख स्कन्ध हो, जसलाई जान्नु र बुझ्नु आवश्यक छ । यसमा रूप, वेदना, सङ्ज्ञा, संस्कार विज्ञान गरी पाँच स्कन्ध रहेका छन् । रूप र नामको (मन) योग नै पञ्चस्कन्ध हो । 

मानवकल्याण, सुख र शान्तिका लागि बनाइएको अनित्य, दुःख र अनात्म समेटिएको मूल दर्शन नै त्रिलक्षण हो । अनित्य भनेको एक पटक अवश्य नाश हुने हो । जो अस्थायी, नाशवान र नश्वर हुन्छ । दुःख वास्तविक बोध गराउने विछोड र पीडा हो, जुन पञ्चस्कन्धमा हुन्छ । अनात्म भन्नाले हरेक चिज बिलाएर जाने अर्थमा बुझिन्छ । आम नागरिक र विश्व समुदायलाई बुद्ध शिक्षाको अभ्यास, बुद्ध दर्शनमा त्रिपिटक, त्रिलक्षण, चतुरार्यसत्य, आर्यअष्टाङ्गिक मार्ग, पञ्चशीलको महìव देखिएको छ । 

बुद्धका वाणीहरू, बुद्धका उपदेशहरू विश्वमा शान्ति, अमनचयन, भ्रातृत्व स्थापना गर्नसमेत अभिप्रेरित छन् । समाजमा रहेका हरेक तप्का र क्षेत्रदेखि विश्व निर्माणका लागि बुद्धका उपदेशहरू सान्दर्भिक र मननयोग्य मात्रै नभई बुद्धको उपदेशअनुसार अगाडि बढ्न सकेको खण्डमा मुलुकले काँंचुली फेर्नेमा विश्वस्त हुन सकिन्छ । बुद्धसँग सम्बन्धित कला, संस्कृतिको प्रचारप्रसार नहुनु दुःखद विषय हो । हाम्रो देशको पाठ्यक्रममा समेत बुद्धका विषयलाई पर्याप्त स्थान दिइएको पाइँदैन । जसका कारण बुद्ध र बुद्ध धर्मको प्रभावका बारेमा आम जनमानसले सहजै बुझ्न सकिरहेका छैनन् । 

Author

न्हुंछेनारायण श्रेष्ठ