• १५ कात्तिक २०८१, बिहिबार

यस पटक नेपाली सयपत्री मात्र

blog

काठमाडौँ, कात्तिक १३ गते । तिहारमा अत्यावश्यक मानिने सयपत्री फूल यस पटक भारतबाट आयात नहुने भएको छ । अवैध रूपमा भित्रिने सयपत्री फूल रोक्न सरकारले निकै कडाइ गरेको छ । सरकारले नेपाल–भारत सिमानासँगै जिल्लास्थित क्वारेन्टाइन चेकपोस्टहरूमा कडाइ गरेर अवैध रूपमा भित्रिने सयपत्री फूल नष्ट गर्न थालेको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थान केन्द्र, काठमाडौँ महानगरपालिका र जिल्लास्थित क्वारेन्टाइन केन्द्रका विज्ञहरूले धमाधम त्यस्ता अवैध फूल नियन्त्रणमा लिएर नष्ट गर्न थालेको हो । केन्द्रका सूचना अधिकारी प्रकाश पौडेलका अनुसार तीन दिन यता भारतबाट भित्रिँदै गरेका २२ ट्रक भारतीय फूल नष्ट गरिएको छ । सोमबार मात्र हेटौँडामा एक ट्रक फूल नष्ट गरिएको छ । 

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले फूल नेपाल ल्याउनका लागि भारत सरकारको सरोकारवाला निकायसँग सोह्र किसिमका रोगकिरा मुक्त भएको प्रमाणपत्र चाहिने सर्त राखेको छ । 

उहाँले भन्नुभयो, “तीन दिनअघि मात्र फोनमा कुरा भएको छ तर उहाँहरूबाट नेपालको सर्त पूरा गर्न सक्दैनौँ भन्ने जवाफ आएको छ ।” त्यसो हुँदा नेपालमा भारतबाट आउने फूल अवैध हो । यही कारण नेपालको सीमानाकाबाट आउन आयात अनुमतिपत्र जारी नगरिएको केन्द्रले जनाएको छ । 

जथाभाबी विषादी प्रयोग गरेर उत्पादन गरिएका भारतीय सयपत्री फूलमा हानिकारक भाइरस र रोगकिरा रहेको विगतका अनुसन्धानले देखाएको छ । जसले नेपालमा खेती भइरहेको फूलहरूको आनुवंशिकता र फूल फुल्ने क्षमता पूरा नष्ट गर्ने उहाँले जानकारी दिनुभयो । 

प्रमुख मार्गबाट फूल ल्याउन नपाएपछि चोरनाका हुँदै फूल भित्र्याउन थालिएको छ । त्यसरी ल्याइएका फूलहरू कतिपय अवस्थामा नेपाली बिचौलिया मिलेर नेपालको भ्याट बिलसमेत काटेर वैध बनाउने प्रयास भएको पाइएको उहाँले बताउनुभयो । कृषि र फूलजन्य सामग्री आयात गर्दा भ्याट नलाग्ने व्यवस्था छ । 

काठमाडौँका शीतभण्डारमा अवैध फूल

चोरबाटो हुँदै काठमाडौँमा बिक्रीका लागि राखिएको २७ लाख रुपियाँ बराबरको अवैध भारतीय फूल शीतभण्डारमा भेटिएको छ । केन्द्र र काठमाडौँ महानगरको पहलमा बालाजुका तीन शीतभण्डारमा भेटिएका अवैध सयपत्री ‘सिल’ गरिएको छ । 

काठमाडौँ महानगरका अनुसार बालाजुको कोहिनुर कोल्ड स्टोरमा २९९ पोका र क्वालिटी कोल्ड स्टोरमा ८० पोका फूल फेला परेको महानगरले जानकारी दिएको छ । 

तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग नेपालमा उच्च हुने गर्छ । काठमाडौँका विभिन्न सतचालिस स्थानबाट सयपत्री र मखमली फूल तथा माला बिक्री गर्ने व्यवस्था मिलाइएको छ । देशभरमा सबैभन्दा बढी काठमाडौँ उपत्यकाका सयपत्री र मखमली फूलको खपत हुने गरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । देशभरमा झन्डै पचास लाख रुपियाँभन्दा बढीको फूलको कारोबार तिहारको समयमा हुने गर्छ । काठमाडौँमा त्यसको ६० प्रतिशत फूल खपत हुन्छ । 

काठमाडौँका भाटभटेनी, काठमाडौँ मल, साल्ट ट्रेडिङलगायतका सबै सपिङ मलका खुला स्थानमा फूल बिक्री हुने छन् । त्यस्तै सङ्कटा चोक, कालीमाटी, कलङ्की चोकलगायतका सामुदायिक र सार्वजनिक स्थलहरूमा पनि फूल बिक्री गरिने भएको छ । तिहारको पहिलो दिन कागतिहारदेखि भाइटीकाको बिहानसम्म किसानहरू आफैँले तोेकिएका स्थानहरूमा फूल बिक्री गर्न सक्ने छन् । विगतमा भारतबाट अवैध रूपमा आयात हुने सयपत्री फूलले नेपाली किसानले लगाएको फूल विस्थापित हुँदा किसानहरू मर्कामा पर्ने गरेको फ्लोरिकल्चर एसोसिएसनका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “गत वर्ष भारतीय फूलका कारण नेपाली किसानले फूल फाल्दै रुनु परेको थियो, यसपाला सुरुदेखि नै कडाइ भएकाले त्यस्तो नहुने आशा छ ।” अहिले गरिएको कडाइले नेपालमा व्यावसायिक रूपमा फूल खेती गर्ने किसानहरू फेरि फूल फुलाउन फर्कने वातावरण बनेको तामाङ औँल्याउनुहुन्छ । गत वर्ष लगानी खेर गएपछि धेरै किसानले यस वर्ष फूल खेती गरेनन् । जसका कारण अभाव हुने हो कि भन्ने आशङ्का पनि रहेको उहाँ दाबी गर्नुहुन्छ ।