• १३ कात्तिक २०८१, मङ्गलबार

थाइल्यान्डमा हवाई यात्राका लागि ‘बायोमेट्रिक प्रणाली’ सुरु

blog

बैङ्कक, कात्तिक १२ गते । यात्रुहरुलाई थप प्रभावकारी र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने उद्देश्यले थाइल्यान्डले आफ्ना छ वटा प्रमुख विमानस्थलहरूमा ‘नयाँ बायोमेट्रिक पहिचान प्रणाली’ सुरु गर्ने तयारी गरेको थाइल्यान्ड एयरपोर्ट्स (एओटी) ले सोमबार जनाएको छ ।

आन्तरिक यात्रुहरुले नोभेम्बरदेखि स्वचालित बायोमेट्रिक पहिचान प्रणालीमा नामाङ्कन गर्न सक्ने छन् । यसले यात्रु पहिचान गर्न अनुहार पहिचान प्रविधि प्रयोग गर्दछ । यो प्रणाली डिसेम्बरदेखि अन्तर्राष्ट्रिय यात्रुहरूका लागि पूर्णरुपमा सञ्चालन हुने एओटी अध्यक्ष किराती कितमानवतले बताउनुभयो ।

सन् २०२४ सेप्टेम्बरमा समाप्त भएको आर्थिक वर्षमा बैङ्ककको सुवर्णभूमि र डन मुआङ विमानस्थलसहित छ वटा अन्तर्राष्ट्रिय गेटवेमा ११ करोड ९२ लाख ९० हजारभन्दा बढी यात्रुहरुलाई सेवा दिइएको थियो । मुलुकको सबैभन्दा ठूलो विमानस्थल सञ्चालक एओटीका अनुसार यो गत वर्षको समान अवधिको तुलनामा १९ दशमलव २२ प्रतिशतले बढेको छ ।

विशेष गरी अन्तर्राष्ट्रिय रुटहरुमा उडान कनेक्टिभिटी बढेकाले चालु आर्थिक वर्षमा १२ करोड ९९ लाख ७० हजार ९७ यात्रुको प्रक्षेपणका साथ विमानस्थल सञ्चालकले उच्च यात्रु सङ्ख्या समायोजन गर्ने अपेक्षा गरेको छ । रासस/सिन्ह्वा