• १३ कात्तिक २०८१, मङ्गलबार

नहर विवाद समाधान गर्न सम्वादमा आउन आग्रह

blog

जीवछ यादव

लहान, कात्तिक १२ गते । खुटी नहर सञ्चालन गरेर लहानको १० वटा वडाका ९३५ विघा खेतमा पानी लैजाने मागसहित किसानले लहानमा प्रदर्शन गरेपछि लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले आन्दोलित पक्षसँग सम्वादबाट समस्याको समाधान गर्न आग्रह गर्नुभएको छ । 

कात्तिक ११ गते खुटी नहर सञ्चालनका लागि गठित संघर्ष समितिले प्लेकार्डसहित लहानमा प्रदर्शन गरेपछि नगरपालिकाबाट आधिकारिक धारणा राख्न सोमबार लहान नगरपालिका प्रमुख चौधरीले पत्रकार सम्मेलन गरेर सम्बादबाट समस्या समाधानका लागि आग्रह गर्नुभएको हो । 

लहान नगरप्रमुख चौधरीले पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा उल्लेख भएअनुसार प्राविधिकले दिइएको जानकारीअनुसार हेडवक्र्सको लेभेलमा नहरलाई पुर्याउन नहर अझ करिब २० फिट गहिरो बनउनुपर्ने हुन्छ । जसमा करोडौंको धन खर्च हुन्छ । 

पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासामा नगरप्रमुख चौधरीले भन्न्ुभयो, ‘हेडवक्र्सको पानीको बहाव ९० सेन्टीमिटर रहेको छ । नहरमा १२० सेन्टिमिटरको ह्युमपाइप राखेर अहिले रहेको नहरको दुबै किनारमा नाला निर्माण गरेर सहरको सौन्दर्यीकरण गर्ने भनिएको छ ।

दुई वर्षअघि नै लहान नगरुपालिका –१० खुटी खोलामा ६० वर्ष पुरानो नहर सञ्चालनमा ल्याउन नौ करोडको लागतमा लहान नगरपालिका र मधेश प्रदेशका अन्तर्गत सिँचाइ कार्यालय सिरहाले हेडवक्र्स निर्माण गरेको थियो । 

नहरमा ह्युमपाइप होइन, खुल्ला नहरको रुपमा सञ्चालन गर्न दबाब दिन ज्ञापनपत्र दिइएको समय सीमा सकिएपछि प्रदर्शन र आन्दोलनमा उत्रिएको खुटी नहर सञ्चालन संघर्ष समितिका संयोजक धर्मराज चौधरीले बताउनुभयो ।