• १२ कात्तिक २०८१, सोमबार

'एयर इण्डिया'को विमानमा बम राखिएको हल्ला मात्रै

blog

तस्बिर : भारतिय सञ्चारमाध्यम ।

काठमाडौँ, कात्तिक १२ गते । पछिल्लो समय हवाई उडानमा सुरक्षा अफवाह आइरहेका छन् । अज्ञात समूहबाट एक साताको अवधिमै नेपालमा दुई पटक यस्तो अफवाह फैलाइएको छ । 

काठमाडौँबाट भारतको नयाँ दिल्ली आज उड्न लागेको एयर इण्डियाको विमानमा बम राखेको हल्लापछि विमानमा सवार यात्रुलाई ओराले जाँच भइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार 'एयर इण्डिया'को विमानमा बमको हल्लापछि अहिले जाँच भइरहेको हो । हालसम्म कुनै शङ्कास्पद वस्तु फेला परेको छैन ।

“भारतबाट नेपाल आउने विमानमा बम राखिएको हल्ला आइरहेको छन् तर, अहिलेसम्म त्यस्तो कुनै शङ्कास्पद बस्तु फेला परेको छैन”, प्रवक्ता कार्कीले भन्नुभयो ।

एयर इण्डियाको एआई–२१६ विमानमा बमको हल्लापछि अहिले विमानको जाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उक्त विमानको जाँच प्रक्रिया चलिरहे पनि विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्यरुपमा सञ्चालन भइरहेको छ ।

दिउँसो २ बजे काठमाडौँ विमानस्थलमा अवतरण भएको एयर इण्डियाको विमानमा बम राखेको अज्ञात समूहबाट जानकारी आएपछि नेपाली सेना र नेपाल प्रहरीको विशेष टोलीले जाँच गरिरहेको छ । सो विमान काठमाडौँबाट एक यस ५८ यात्रु लिएर दिल्ली उड्ने तयारीमा थियो ।

यसअघि यही कात्तिक ६ गते भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको विस्फोटक पदार्थ निस्किृय गर्ने विशेष टोलीले खानतलासी गरेको थियो । 

भारतको नयाँदिल्लीबाट भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा जाँच गरिएको थियो । उक्त विमानमा पनि कुनै शङ्कास्पद वस्तु फेला परेको थिएन । रासस