• १२ कात्तिक २०८१, सोमबार

फल्स बटममा चाँदीको मूर्ति लुकाई ल्याउने पक्राउ

blog

अवैध चाँदीसहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा सार्वजनिक गरिँदै ।

राममणि दाहाल

हेटौँडा, कात्तिक १२ गते । मकवानपुर प्रहरीले अवैध चाँदीसहित एक जना भारतीय नागरिकलाई हेटौँडाबाट पक्राउ गरेको छ ।

पूर्व पश्चिम सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १५  स्थित रातोमाटे चेकपोष्ट अगाडिबाट भारत बिहार राज्य मधुवनी जिल्ला जेटीयाही पञ्चायत पर्जुआर टोल बस्ने वर्ष ४८ का मनोजकुमार झालाई अवैध चाँदीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

पथलैयातर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना६ ख ७२६२ नं.को यात्रुवाहक बस रोकी जाँच गर्ने क्रममा उक्त बसमा सवार झाको शरीरको खानतलासी गर्दा निजले आफ्नो शरीरको छातीमा फल्स बटम बनाई ३२ थान चाँदीको मूर्ति लुकाई ल्याइएको अवस्थामा फेला परेको थियो ।

बरामद भएको उक्त मूर्तिहरू दुई किलो १९६ ग्राम रहेको र सोमबारको बजार मूल्य अनुसार उक्त चाँदी तीन लाख ६६ हजार ५४९ रुपियाँ बराबरको रहेको प्रहरीको भनाई छ । उक्त चाँदीको मूर्तिहरूसहित निज झालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।

यसैबिच मकवानपुर प्रहरीले लागुऔषध खैरो हिरोइनसहित विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न सात जना पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. १५  स्थित रातोमाटे चेकपोईन्ट अगाडि पूर्व पश्चिम सडकखण्डबाट सोमबार बिहान दुई जनालाई लागुऔषध खैरोहेरोईनसहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काँकडभिट्टाबाट हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७४४३ नं. को यात्रुवाहक बस रोकी जाँच गर्ने क्रममा उक्त बसमा सवार सुनसरी वराहक्षेत्र नगरपालिका वडा नं. ७ का वर्ष ४१ का दामोदर लुइँटेल र सोही स्थानका वर्ष १८ का सन्देशराज धामीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनीहरूमाथि शङ्का लागि शरीर खानतलासी गर्दा निजहरूको साथबाट खैरोहेरोईन जस्तो देखिने धुलो पदार्थ २२२ ग्राम २६ मिलिग्राम फेला परेको थियो । 

दुवै जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट १५ दिनको म्याद थप अनुसन्धान कार्य भइरहेको छ ।