• १० मंसिर २०८१, सोमबार

इजिप्टद्वारा गाजामा दुईदिने युद्धविरामको प्रस्ताव

blog

तस्बिर : सिन्हा

कायरो (इजिप्ट), कात्तिक १२ गते । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले इजरायल र हमासबिच एक वर्षभन्दा लामो युद्धपछि ‘पूर्ण युद्धविराम’ हासिल गर्ने उद्देश्यले गाजामा दुईदिने युद्धविराम र बन्धक आदानप्रदानको प्रस्ताव गर्नुभएको छ ।

आइतबार गरिएको प्रस्तावमा गाजामा बन्धक बनाइएका चार जना इजरायली कैदी र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीबीच आदानप्रदान गर्ने र त्यसपछि १० दिनभित्र युद्धविरामका लागि थप वार्ता गरिने सिसीले कायरोमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

उहाँले यो योजना औपचारिक रुपमा इजरायल वा हमाससमक्ष प्रस्तुत गरिएको हो वा होइन भन्नेबारे भने केही बताउनुभएको छैन ।

इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्ध युद्ध लडिरहेको र आफ्नो प्रमुख शत्रु इरानमाथि हवाई आक्रमण सुरु गरेको अवस्था र प्यालेस्टिनी भूभागमा कब्जा जमाइरहेको बेला सिसीको यो भनाइ सार्वजनिक भएको हो ।

इरानी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणको दोस्रो पटक इजरायलले बदला लिएको शनिबारको आक्रमणले संयमित हुन विश्वव्यापी आह्वान गरेको छ ।

इरानको अनुरोधमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठक सोमबार बस्नेछ र तेहरानले चार सैनिकको ज्यान जाने गरी भएको आक्रमणको निन्दा गर्न आग्रह गरेको छ ।

इरानी नेताहरूले आक्रमणले सीमित क्षति मात्र पुर्‍याएको भन्दै स्वदेश (इरान) मा युद्धमा आफ्नो उपस्थितिलाई कम महत्त्व दिएका छन् । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो मन्त्रीमण्डललाई इरानले युद्ध नचाहेको तर उपयुक्त जवाफ दिने बताउनुभएको छ ।

तेहरानका विदेशमन्त्री अब्बास अरागचीका अनुसार तेहरानले आक्रमण हुनुभन्दा केही घण्टाअघि नै ‘सङ्केत’ प्राप्त गरेको थियो ।यसअघि, अमेरिकी समाचार साइट एक्जिओसले इजरायलले ‘व्यापक तनाव बढ्न नदिन’ चेतावनी दिएको जनाएको थियो ।

इजरायलको आक्रमणमा इरानको ऊर्जा पूर्वाधारमा नलागेपछि व्यापारीहरूले राहत महसुस गरेका छन् भने तेलको मूल्य सोमबार पाँच प्रतिशतसम्म घटेको छ ।

इजरायलले तेहरानसमर्थित लडाकू नेता र एक इरानी कमाण्डरको हत्या गरेको बदलामा इरानद्वारा अक्टोबर १ मा गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले इरानमाथि आक्रमण गरेको हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो अभियान ‘सटीक र शक्तिशाली रहेको र यसले आफ्ना सबै उद्देश्य हासिल गरेको’ बताउनुभएको छ ।

नेतन्याहूले अक्टोबर ७ मा हमासको आक्रमणको स्मरणार्थ जेरुसेलममा आयोजित स्मृति सभामा बोल्दै गर्दा मृतकका आफन्तको चिच्याहटपछि उहाँले सम्बोधनलाई केही समय रोक्नुपरेको थियो ।

इजरायली प्रधानमन्त्रीमाथि गाजामा रहेका बन्दीहरुको रिहाइका लागि पहल गर्न स्वदेश तथा विदेशबाट व्यापक दबाब परेको छ तर उहाँले आफ्नो हमासविरोधी अभियान तत्काल नरोकिने बताउनुभएको छ । रासस/एएफपी