• १२ कात्तिक २०८१, सोमबार

कडा रोगका बिरामी बढ्दै

blog

जिल्ला स्वास्थ्य कार्यालय सुनसरी । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, कात्तिक १२ गते ।
 बदलिँदो जीवन शैली, खानपान र वायु प्रदूषणलगायतका कारण पछिल्लो समय कडा रोगका बिरामीहरूको सङ्ख्या बढ्दै गएको पाइएको छ । पछिल्ला वर्ष कडा रोगका बिरामीहरू दिन प्रतिदिन बढ्दै गइरहेको पाइएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीको तथ्याङ्कअनुसार सुनसरी जिल्लामा कडा रोगका बिरामीहरूको सङ्ख्या बढ्दै गएको छ । जिल्लाका बारओटै पालिकामा कडा रोगका बिरामीहरूको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

कडा रोगको उपचार गराउन एक हजार तीन सय २२ जनाले विपन्न नागरिक उपचारकोषमार्फत सेवाग्राहीले सिफारिस लिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले जनाउनुभयो ।

उहाँका अनुसार मिर्गौला, मुटु, क्यान्सर, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकल सेल एनिमिया, पार्किन्सनस र अल्जाइमर जस्ता रोगीहरूले उपचार गराउनका लागि  सिफारिस लिएका छन् । यीनै रोगहरूलाई कडा रोगका रूपमा हेरिने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख प्रसाईँको भनाइ छ ।

जिल्लाका बारओटै पालिकाहरूमध्ये सबैभन्दा बढी धरान उप–महानगरपालिकाबाट ३१६ जनाले कडा रोगको उपचारका लागि सिफारिस लिएका छन् । धरान उप–महानगरपालिकाबाट मात्रै मिर्गौला रोगी ६४ जना, मुटु रोगी ९० जना, क्यान्सरका रोगीहरू १५४ जना, स्पाइनल इन्जुरी सात जना र पार्किन्सनसका बिरामी एक जनाले सिफारिस लिएका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीको गत वर्षको तथ्याङ्कअनुसार इटहरी उपमहानगरपालिकाबाट सरकारले कडा रोगका बिरामीलाई दिइने सहुलियतअतर्गत २६८ जनाले उपचारका लागि सिफारिस लिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

त्यस्तै, वराहक्षेत्र नगरपालिका बाट १६७ जना, दुहबी नगरपालिकामा ६५, इनरुवा नगरपालिकामा १२१, रामधुनी नगरपालिकामा ८७, बर्जू गाउँपालिकामा ४०, भोक्राहा नरसिंह गाउँपालिकामा ७५, देवानगंज गाउँपालिकामा ३२, हरिनगर गाउँपालिकामा ४० र कोशी गाउँपालिकामा ४२ जनाले सहुलियत उपचारका लागि सिफारिस लिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । कडा रोगहरू मध्ये क्यान्सरका ५८० र मटुका ४८० बिरामीले सिफारिस लगेका छन् ।

सुर्तीजन्य पदार्थको सेवन, मद्यपान, तरकारी लगायत खाद्यान्न बालीहरूमा विषादीको प्रयोग, असन्तुलित आहार, धुलो, धुवाँ, प्रदूषण, बदलिँदो जीवनशैली लगायतका कारणले क्यान्सरको जोखिम दिन प्रतिदिन बढ्दै गएको चिकित्सकहरू बताउँछन् ।

पछिल्लो समय क्यान्सर रोग नसर्ने रोगको जोखिममा अग्रपङ्क्तिमा रहेको छ । क्यान्सर लागेको अन्तिम चरणमा मात्रै मानिसहरूले थाहा पाउँदा कतिपय बिरामीहरू उपचार नै नपाइ मृत्युको मुखमा पुग्ने गरेका छन् ।

क्यान्सरका विशेषज्ञहरूका अनुसार मानिसको शरीरमा अस्वाभाविक रूपमा हुने कोषिकाको वृद्धिलाई नै क्यान्सर भन्ने गरिन्छ । स्तनको क्यान्सर, पाठेघरको क्यान्सर, फोक्सोको क्यान्सर, छालाको क्यान्सर, आन्द्रा, प्याङक्रियाज, पित थैली, प्रोस्टेट र रक्त क्यान्सर लगायतका क्यान्सरहरूका बिरामीहरूले सरकारले दिइने एक लाखसम्मको उपचारका लागि सिफारिस गर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।