• १२ कात्तिक २०८१, सोमबार

‘संसद् खोज पत्रकारिताको नियमित स्रोत हो’

blog

कर्णाली प्रदेशकी उपसभामुख यशोदा न्यौपाने सोमबार संसदीय मामिला पत्रकार समाज सुर्खेतद्वारा वीरेन्द्रनगरमा आयोजित दुई दिने क्षमता अभिवृद्धि तालिमको उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै । तस्बिरः शुरबहादुर सिंह/रासस

कर्णाली,  कात्तिक १२ गते ।  कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेले संसद् खोज पत्रकारिताको नियमित स्रोत भएको बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘दुई दिने क्षमता अभिवृद्धि’ तालिमको उद्घाटन गर्दै उपसभामुख न्यौपानेले संसद्मा समाचारका लागि तमाम विषय हुने र पत्रकारले तिनको उत्खनन गर्न सक्नुपर्ने धारणा राख्नुभयो ।  

उहाँले भन्नुभयो, “व्यवस्थापिका, कार्यकापालिका र न्यायपालिकामध्ये संसद् समाचारको महत्त्वपूर्ण क्षेत्र हो । यसमा पत्रकार तथा सञ्चारकर्मीले विवेकपूर्ण तवरले समाचार सङ्कलन, सम्पादन तथा सम्प्रेषण गर्नुपर्दछ ।”

कर्णाली प्रदेशसभाले खुला संसद्को अभ्यासलाई निरन्तरता दिएको बताउँदै उपसभामुख न्यौपानेले क्षमता अभिवृद्धि तालिमले पत्रकारको ज्ञान, सीप र लेखन कला अभिवृद्धिमा सहयोग र त्यसले संसदीय समाचारका विषय प्रकाशमा आउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) संसद् सहयोग परियोजनाको सहयोगमा सञ्चालित तालिममा प्रशिक्षक नारायण काफ्ले, शिव गाउँले, बिनु सुवेदी र कर्णाली प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले संसद्, संसदीय अभ्यास, कानुन निर्माण र यसका गतिविधिका विषयमा प्रशिक्षण दिने संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेश सुर्खेतका अध्यक्ष देव रानाले जानकारी दिनुभयो । रासस