• १२ कात्तिक २०८१, सोमबार

२३ करोडमा बनेको सभागृह प्रयोगविहीन

blog

प्रयोगविहीन बनेको दमौलीस्थित जिल्ला सभागृह । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक १२ गते । तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला सभागृह उद्घाटन गरिएको एक वर्ष पुरा भए पनि प्रयोगमा आएको छैन । सहरी विकास मन्त्रालयबाट जिल्ला समन्वय समितिलाई हस्तान्तरण हुन नसकेकोले सभागृह प्रयोगविहीन भएको हो ।

सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको सहयोगमा २३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ रुपियाँ लागतमा बनाइएको सभागृह प्रयोगमा नआउँदा अलपत्र परेको छ । डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौँद्वारा निर्माण गरिएको सभाहलको राष्ट्रपति रामचन्द्र पौडेलले विसं. २०८० साल असोज ६ गते उद्घाटन गर्नुभएको थियो । 

स्वामित्व हस्तान्तरण नहुँदा सभागृह प्रयोगमा ल्याउन नसकिएको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बताउनुभयो । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको ध्यानाकर्षण गराएको वाग्ले जानकारी दिनुभयो । मन्त्री सिंहले छिट्टै कार्यविधि बनाएर सञ्चालनमा ल्याउने योजना भइरहेको बताएका समेत प्रमुख वाग्लेले बताउनुभयो । वाग्लेले भन्नुभयो, "मन्त्रालयले सञ्चालन कार्यविधि तथा मापदण्ड बनाउन बाँकी रहेको भन्दै हस्तान्तरण गर्न मानेको छैन ।"

यस सभागृहको स्वामित्व हस्तान्तरण हुन नसक्दा सरकारी कार्यक्रम होटल र पार्टी प्यालेसमा भइरहेका छन् । दमौलीमा हुने बैठक, सभा, गोष्ठी, सेमिनार जस्ता ठुला कार्यक्रम गर्ने स्थानको आवश्यकता महसुस गरेर बनाइएको सभागृह सञ्चालन हुन नसक्दा सरकारी कार्यालयहरूले त्यस्ता कार्यक्रम महँगो भाडा तिरेर पार्टी प्यालेस, होटलमा सञ्चालन गरिरहेका हुन् । समन्वय समितिको मातहतमा रहेको सभागृह जिणर् तथा साँघुरो भएकाले नयाँ निर्माण गरिएको थियो ।

सभागृह बनाउनु सट्टा दमौली अस्पतालाई जग्गा हस्तान्तरण गरेर शय्या स्थापना गरेको भए जनता लाभान्वित हुने स्थानीयको भनाइ छ । नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व अध्यक्ष डम्बरबहादुर अधिकारीले निर्माण सम्पन्न भएकोलाई प्रयोगमा नल्याउनुलाई एक प्रकारको भ्रष्टाचार भएको बताउनुहुन्छ । अधिकारीले भन्नुभयो, "सभागृह प्रयोगमा नआउँदा राज्यले गरेको लगानी खेर गइरहेको छ सरकारी लगानी खेर जानु भनेको पनि भ्रष्टाचारको अर्को रुप हो ।"

दमौलीस्थित सत्यवती माध्यामिक विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष करुणराज काफ्लेले सभा बनाउने रकमले अस्पताल बनाएको भए उपयुक्त हुने बताउनुभयो । काफ्लेले भन्नुभयो, "जनताको लागि पहिलो आवश्यकता भनेको  अस्पताल हो जग्गा अभावले दमौली अस्पतालको क्षमता वृद्धि हुन सकेको छैन त्यसतर्फ ध्यान दिन नसकेर सभागृह बनाइयो ।"