विशाल सुनार
दुल्लु, कात्तिक १२ गते । दैलेखको डुङ्गेश्वर गाउँपालिका –६ सिस्नेटार अहिले सयपत्री फूलले रङ्गिएको छ । उद्यमी देवेन्द्र गोदार एक सफल तरकारी कृषक हुन् । दैलेख सुर्खेत सडक खण्ड अन्तर्गत पर्ने सिस्नेटारमा उहाँको तरकारी फर्म छ ।
उनी सफल तरकारी कृषक मात्र नभई फूल खेतीमा समेत जम्नुभएको छ । फूलहरुको पर्वको रुपमा पनि लिइने तिहार नजिकिदै जाँदा बाटो छेउमै फूलको सयपत्री फूलको बगैंचाले छुट्टै आकर्षण दिएको छ ।
लोहोरे खोला किनारको बन्झर बगरलाई नै कहिले तरकारीबाट त कहिले फूल खेतीबाट गुल्जार बनाएको देख्दा बगैंचामा पुग्ने प्रायः सबैलाई प्रफुल्लित मात्र हैन, प्रेरणासमेत दिने गरेको बताउनुहुन्छ अधिकारकर्मी अमर सुनार । चार दशक पहिलेदेखि यही बाटो भएर अनेकौ पटक सुर्खेत दैलेख यात्रा गर्नुभएका सुनार भन्नुहुन्छ “बलौटे र चट्टानले भरिएको बगर यति उर्वर होला भन्ने सोचेको पनि थिएन, फूल खेतीले थप आशा जगाएको उहाँको भनाइ छ ।
दैलेख–सुर्खेत यात्रा गर्ने यात्रु मात्र हैन, आसपास गाउँका स्थानीयहरु पनि फूलको बगैचा हेर्न, फोटो खिच्न, टिकटक, रिल बनाउनकै भिड लाग्नेगर्छ । खाली बगरको बलौटे माटोमा पनि सुन्दर सयपत्रीले ढकमक्क फुलेको दृश्य हेर्न पुग्नुभएका भैरवी गाउँपालिका –७ का उद्यमी रामकृष्ण कठायतले दृश्य लोभलाग्दो भएको बताउनुभयो ।
तिहार नजिकिँदै गर्दा फूलको माग बढेको छ । गत वर्ष करिव ५० हजार बराबरको लागतमा २ रोपनी क्षेत्रफलमा खेती गर्नुभएको थियो । मौसम, पर्वको यकिन समयको ख्याल नपुग्दा मनग्य लाभ हुन नसकेको बताउनुहुने गोदारले यो वर्ष भने दोब्बर अर्थात् ४ रोपनी क्षेत्रफलमा खेती गर्नुभएको छ ।
गोदार भन्नुहुन्छ, “गत वर्ष व्यवसाय कसरी गर्ने ? कस्तो फूल लगाउने ? कुन समयमा बीउ राख्ने भन्ने बारेमा थाहा थिएन । अहिले बीउदेखि सबै अनुकुल भएको छ । डेढदेखि दुई लाख रुपियाँसम्म आम्दानी हुन्छ होला ।” डुङ्ङ्गेश्वर बजार, चुप्राबजार, दैलेख, दुल्लु, सुर्खेतलगायत सडक सञ्जालको पहुँच भएकाले होम डेलिभरी गर्न सकिने उहाँको भनाइ छ ।
दैलेखमा फूल खेती अर्थात पुस्प व्यवसायको सम्भावना राम्रो भएको स्थानीयको बुझाइ छ । धार्मिक तथा सांस्कृतिक परम्पराहरुले भरिपूर्ण जिल्ला भएकाले पनि बजारमा माग उत्तिकै छ ।













