• १२ कात्तिक २०८१, सोमबार

‘नेपालगन्ज कनक्लेभ’ को दोस्रो संस्करण हुँदै

blog

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक १२ गते । समृद्ध र दिगो भविष्यको बाटोमा नेपालगन्ज कनक्लेभको दोस्रो संस्करण मङ्सिर २० र २१ गते (५–६ डिसेम्बर, २०२४) नेपालगन्जमा हुने भएको छ । धारा नेपालगन्ज म्याराथनको पूर्वसन्ध्यामा आयोजना हुँदै आएको कनक्लेभ नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरसँगको सहकार्यमा क्रियटिभ ह्याण्डस्ले आयोजना गर्दै आएको छ । 

यसपटक आठ वटा सत्रमा छलफल गरिने तय भएको नेपालगन्ज कनक्लेभका निर्देशक जनक नेपालले बताउनुभएको छ । “कनक्लेभमा स्थानीय सरोकारको मुद्दादेखि राष्ट्रिय महत्वका समसामयिक विषयमा बहस हुनेछ,” निर्देशक नेपालले भन्नुभयो, “गतवर्ष निकै गहन र अर्थपूर्ण बहसहरु भए । सोही सफलताबाट उत्साहित भएर यसपटक सत्रहरु बढाएका छौं ।” 

“यसपटकको कनक्लेभमा स्थानीय मुद्दाका रुपमा नेपालगन्जको उर्जा सङ्कटलाई बहसको विषय बनाइएको छ । बितेको वर्ष हामीले आँखै अगाडि जलवायु परिवर्तनका असरहरु देख्यौं ।” क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले भन्नुभयो, “हिमतालहरु फुटे भने तराईमा पानीको सतह गहिरिँदै जानुका साथै गर्मी बढ्यो । नेपालगन्ज कनक्लेभको अर्कोसत्र जलवायु परिवर्तनले निम्त्याउन लागेको सङ्कट र अनुकूलनको रणनीतिमा केन्द्रीत हुनेछ ।” 

यसैगरी, शिक्षा प्रणालीमा गर्नुपर्ने सुधारबारे अर्को सत्र सञ्चालन गरिने र शिक्षामा सुधारमा स्थानीय सरकारले गर्नसक्ने र गरेका अभ्यासमाथि यो सत्रमा छलफल गर्ने तय गरिएको ठकुरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपालगन्ज कनक्लेभमा अर्थतन्त्र सुदृढीकरणका लागि व्यापार घाटाको दिगो व्यवस्थापनबारे गहन छलफल हुनेछ । सो सत्रमा नेपालले वर्षौदेखि भोग्दै आएको व्यापार घाटा कम गर्न र हाल निर्यात गरिरहेका बस्तुमा मूल्य वृद्धिका उपायबारे छलफल हुनेछ । अर्थतन्त्रसँगै जोडिएको अर्को विषय पर्यटनमा अर्को सत्र सञ्चालन हुनेछ । त्यसमा नेपालको पर्यटन व्यवसायको नक्सामा पश्चिम नेपालको सम्भावनाको खोजी हुनेछ । पश्चिम नेपालमा बन्न सक्ने नयाँ पर्यटकीय सर्किटबारे बहस हुने अपेक्षा गरिएको ठकुरीले बताउनुभयो । 

अध्यक्ष ठकुरीले भन्नुभयो, “नेपालगन्ज कनक्लेभ १०औँ धारा नेपालगन्ज म्याराथनको पूर्वसन्ध्यामा हुनेछ । खेलकुदलाई जोडेर अर्को महत्वपूर्ण सत्र छ, किन दौडिन्छ मानिस ? जहाँ म्याराथनको मात्र कुरा हुनेछैन, जीवन र जगत, करिअर र संघर्ष अनि, सिर्जना, सफलता र सन्तुष्टिबारे छलफल हुनेछ ।” 

“साहित्यमा यसपटक नेपाली आख्यानबारे चर्चा गर्नेछौ, जहाँ साहित्यको ऐनामा समाज कति अट्न सक्यो बहस हुनेछ । नेपालगन्ज कनक्लेभमा यसपटक राजनीतिक सत्र पनि थपिएको छ । खासगरी पछिल्लो समय हुर्किंदै गएको निराशाको अन्र्तय खोतल्ने प्रर्यत्न हुनेछ ।” ठकुरीले भन्नुभयो, “निराशालाई चिरेर नयाँ आशा र उत्साह जगाउन राजनीतिक नेतृत्वसँग के योजना छ, बहस हुनेछ । नेपालगन्ज कनक्लेभमा हुने छलफलले आमसरोकारका मुद्दामा सार्वजनिक बहसको प्रर्वधन हुने र प्रकारान्तरले त्यसको लाभ समुदायले प्राप्त गर्ने विश्वास लिएका छौं ।” 

नेपालगन्ज कनक्लेभका दुवै दिनका शुभारम्भ विद्वत प्रवचनबाट हुने, बहुभाषिक कविता वाचन र मुशायरा पनि सँगै हुने तथा कनक्लेभका सत्र शीर्षक र वक्ताहरु छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ । कनक्लेभ र म्याराथनका कारण मङ्सिर २०, २१ र २२ गते नेपालगन्ज उत्सवमय हुनेछ ।