• १६ चैत २०८०, शुक्रबार

मतपरिणामको प्रतिक्षामा मतदाता : ललितपुरमा सुस्त गणना

blog

जावलाखेलस्थित प्रशासकीय भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिँदै । तस्बिरः प्रदीपराज वन्त, रासस

काठमाडौं जेठ १ गते। ललितपुर महानगरको मतगणना सुस्त भएको भन्दै मतदाताले आक्रोश व्यक्त गरेका छन्। शनिबार दिउँसोबाट मतगणना सुरु भएको महानगरमा आइतबार दिउँसोसम्म एउटा मात्र वडाको मत परिणाम सार्वजनिक भएको छ। ललितपुर महानगरपालिकाको वडा नम्बर १ का स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार वडाध्यक्षमा निर्वाचित हुनुभएको हो। मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीकाउम्मेदवारको विवादकै मतगणना ढिला भएको बताउनुहुन्छ। 

‘महानगरमा धेरै स्वतन्त्र उम्मेदवार छन्। गणनास्थलमा स्वतन्त्रका प्रतिनिधि धेरै राख्न पाइदैन भन्ने अन्य दलको भनाइप्रति स्वतन्त्र उम्मेदवार असन्तुष्ट छन्। त्यसैले मतगणना प्रारम्भ नै ढिला भयो’, उहाँले भन्नुभयो। मतपत्र ठूलो र छाप तलमाथि भएका कारण सबै राम्रोसँग हेर्नुपर्ने र सबै प्रतिनिधिलाई प्रस्टसँग देखाउनुपर्ने भएकाले पनि ढिला भएको उहाँको भनाइ छ।  

निर्वाचन आयोगले पाँच दिनभित्र सबै स्थानीय तहको मतपत्र गनिसक्न निर्देशन दिएको छ। तर, महानगरपालिकाको भने पाँच दिनभित्र गनेर नसकिने भएको छ। महानगरमा कुल मतदाता १ लाख २२ हजार ८ सय ९० छन्। ८६ हजार ५ सय ४० मत खसेको छ। मुख्य निर्वाचन अधिकृत शिवाकोटीका अनुसार एउटा मत गन्न सरदर तीन मिनेट लाग्छ।  यसैले मतपरिणाम आउन ढिलो हुने मुख्य निर्वाचन अधिकृत शिवाकोटीले बताउनुभयो। 

मतगणनास्थल बाहिर परिणाम सुन्नको लागि मतदातको बाक्लो उपस्थिति छ। मतगणनास्थलमा सुरक्षाकर्मीले सुरक्षा व्यवस्था पनि कडा पारेका छन्। मतपरिणामको प्रतिक्षा गरिरहेका मतदाता गणनाको परिणाम सार्वजनिक नहुँदा निरास देखिन्छन्। 

ललितपुर वडा नम्बर १४ का कृष्णप्रसाद रिमाल बिहान ९ बजेदेखि परिणाम सुन्न मतगणनास्थल बाहिर बस्नुभएको छ। ‘बिहान चाडै खाना खाएर मतपरिणाम सुन्नको लागि आएको एक चोटी मात्र परिणम सार्वजनिक गरे। त्यसपछि गरेकै छैनन्,’ उहाँले भन्नुभयो ‘कतिखेर मत परिणाम आउने हो थाहै छैन।’ 

यस्तै वडा नम्बर ३ का ७० वर्षीया मतदाता सुरेन्द्रबहादुर परियारको पनि उही गुनासो छ। उहाँ पनि मतपरिणाम सुन्नको लागि गणनास्थल बाहिर बसिरहनुभएको छ। ‘मतपरिणाम सुन्नको लागि बिहान ११ बजेदेखि बसिरहेको छु, खै अहिलेसम्म आएको छैन। अहिले त गणना नै रोकिएको छ भन्छन्। कहिले आउछ खै नतिजा ?’, उहाँले प्रश्न गर्दै भन्नुभयो। 

अघिल्ले स्थानीय तहको निर्वाचनको मतगणनाको परिणाम भने छिटोछिटो आएको उहाँको सम्झना छ। भन्नुहुन्छ, ‘अघिल्लो स्थानीय तहको निर्वाचको परिणाम त छिटो आएको थियो। अहिले पनि छिटो आउछ कि भनेको झन् ढिला भएको छ।’ कर्मचारी बढाएर मतगणना छिटो गर्नुपर्ने उहाँको  भनाइ छ।  

ललितपुरको २, ३ र ४ नम्बर वडामा मतगणना भएको छ । पछिल्लो मतपरिणाम अनुसार ललितपुर मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले १७४८ मत ल्याउनुभएको छ भने नेकपा (एमाले)का हरिकृष्ण ब्याञ्जनकारले ७१५ मत ल्याउनुभएको छ।  

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।