• १२ कात्तिक २०८१, सोमबार

पशुधन क्षतिको राहत समयमै नपाउँदा कृषक मर्कामा

blog

जिल्ला वन कार्यालय पर्वत ।

प्रनिश गिरी 

कुश्मा (पर्वत), कात्तिक ११ गते । पर्वतका पशुपालक कृषकले पशुधन क्षतिको राहत समयमा पाउन नसक्दा आफूहरु मर्कामा परेको गुनासो गरेका छन्। जिल्लामा वर्षेनी वन्यजन्तुको आक्रमणबाट पशुधनको लाखौ क्षति हुँदै आएको छ । 

जिल्ला वन कार्यालय पर्वतका वन अधिकृत राम बहादुर विकका अनुसार गत वर्ष वन्यजन्तु खासगरी चितुवाको आक्रमणबाट भेडा, बाख्रा, गाई, गोरु सहित मारिनेको संख्या ९२ वटा रहेको थियो । सो पशुधन क्षति वापतको ६ लाख २८ हजार राहत रकम एक वर्षदेखि कृषकहरुले पाउन सकेका छैनन्। जिल्लाको महाशिला गाउँपालिकाका कृषकहरुको सवैभन्दा बढी संख्या ४२ वटा पशुहरु वन्यजन्तुबाट मारिएको देखिन्छ । 

मोदि गाउँपालिका वडा ६ तिलाहार रातमाटाका कृषक गोपी शर्मा पाध्याको आफ्नो घर नजिकै रहेको खोरमा थुनिएका ६ वटा बाख्रा चितुवाले मारिदियो । कृषक पाध्याको खोरबाट दुई पाठो, दुई माउ, र दुई बोका गरी ६ वटा मारिएका थिए तर अवशेष भेटिदा ३ वटाको मात्रै भेटियो । बाँकी ३ वटा बाख्राको भेटिएन । कृषक पाध्या दुःखेसो पोख्दै भन्नुहुन्छ, "खोरका ६ वटा बाख्रा मारिए । मुचुल्का उठाउदा ३ वटाको मात्रै अवशेष भेटियो । बाँकीको प्रहरीले संख्या टिप्न मानेनन् । तीन वटाकै मात्र भए पनि राहत रकम छिटो पाउन पाए थप बाख्रा राख्न पाइने थियो ।"

 पर्वतकै विहादी गाउँपालिका ५ लुङ्¥याङ घर भएका ३६ वर्षे अमृत थापा पशुपालक कृषक हुनुहुन्छ । खाडी मुलुकबाट फर्केपछि पशुपालन गरी जीवन गुजारा गर्दै आउनु भएका कृषक थापाको पनि चितुवाले खोरबाट निकालेर ३ वटा बाख्रा खाइदिए पछि राहतका लागि वन कार्यालयमा निवेदन दर्ता गराउनु भएको छ तर रकम भने नपाएको गुनासो उहाँको छ । 

पैयुँ गाउँपालिका २ मा घर भएका कृषक नर बहादुर रानाको व्यथा पनि उस्तै छ । कृषक रानाले पालेको व्याउने अवस्थामा रहेको माउ बाख्रा चितुवाले खाइदियो तर राहत रकम हात परेको छैन । राहत रकम मिलेमा अलि राम्रो जातको माउ बाख्रा किनेर ल्याउने कृषक रानाको धोको कहिले पुरा हुने हो पत्तो छैन । कृषक राना भन्नुहुन्छ, "हामी जस्ता साना किसानको मर्का बुझिदिएर छिटो राहत रकम दिए त कति जाति हुने थियो । क्षति भएपछि बेलामै राहत पाएको भए अहिलेसम्म बाख्रा खरीद गरी पाठापाठी हुर्केर बेच्न सकिने थियो ।"

वन अधिकृत विकले बजेट अभावकै कारण कृषकलाई समयमा पशुधन क्षति वापत दिइनुपर्ने रकम भुक्तानी दिन नसकिएको बताउनुभयो । जिल्ला वन कार्यालय पर्वतका अनुसार गतवर्षको पशुधन क्षतिको राहत रकम पाउनु पर्ने कृषकको संख्या ५८ जना रहेको छ । 

जिल्ला वन कार्यालय पर्वतका वन अधिकृत राम बहादुर विकका अनुसार अघिल्लो एक आर्थिक वर्षमा दुई वटा राँगाभैसी सहित ७५ वटा पशु मारिदा कृषकहरुलाई लाख २८ हजार क्षतिपूर्ति रकम दिइएको थियो । पर्वतका सातै स्थानीय पालिकाका कृषकहरु वन्यजन्तुको आक्रमणबाट प्रभावित रहदै आएका छन् । यस आर्थिक वर्षको साउनदेखि यता मात्रै जिल्ला वन कार्यालय पर्वतमा पशुधन क्षतिको राहतका लागि भनी १५ जना कृषकको निवेदन आएको छ ।