• १० मंसिर २०८१, सोमबार

घोडाघोडी ताल गन्तव्य स्थल बन्दै

blog

घोडाघोडी ताल घुम्न आउने पर्यटकको तस्बिर खिच्नका लागि पालो पर्खेर बसेका स्थानीय युवती । तस्बिर : चाँदनी आचार्य

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), कात्तिक ११ गते । जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी ताल पर्यटकका लागि गन्तव्य स्थल बन्दै गएको छ । घोडाघोडीमा हिजोआज पर्यटकको चहलपहल बढ्दै गएको छ । पर्यटकको बढ्दो आगमनसँगै यहाँका युवायुवतीले तस्बिर खिचेर राम्रो आम्दानी गर्न थालेका छन् ।

सुरुमा एक/दुई जना मात्र फोटो खिच्दै आएकोमा घोडाघोडीमा अहिले ३२ जना फोटोग्राफर पुगेका छन् । आम्दानी राम्रो हुन थालेपछि फोटोग्राफर थपिँदै गएको पाइन्छ । फोटो खिच्नेमा पुरुष मात्र छैनन् महिलासमेत क्यामेरा बोकेर घोडाघोडी ताल वरपर पर्यटकलाई फोटो खिच्नुहुन्छ भन्दै सोध्ने गरेको भेटिन्छन् । 

एक लाखदेखि तीन लाख रुपियाँसम्मका क्यामेराले तस्बिर खिचेर दैनिक एक हजारदेखि पन्ध्र हजार रुपियाँसम्म आम्दानी हुने फोटोग्राफरहरूको भनाइ छ । घोडाघोडी नगरपालिका–१, घोडाघोडीका भूमि क्षेत्रीले क्यामेरा धेरै हुन थालेपछि पालो लगाएर फोटो खिच्ने व्यवस्था गरेको बताउनुभयो । उहाँले एउटा क्यामेराले एउटा समूहको तस्बिर खिच्ने गरेर पालो लगाएको जानकारी दिनुभयो ।

हालैमात्र श्रीमान् गुमाएकी स्थानीय पूजा शाहलाई मन बहलाउने र आम्दानीको स्रोत तस्बिर खिच्ने कार्य बनेको छ । चार वर्षकी छोरीसमेत रहेकी पूजाले बिहानदेखि साँझसम्म घोडाघोडीमा तस्बिर खिच्ने काम गर्नुहुन्छ । श्रीमान्ले गर्दै आएको कामलाई श्रीमान्को निधनपछि आफूले निरन्तर दिएको पूजाले बताउनुभयो । 

घोडाघोडीमा तस्बिर खिच्ने कार्यमा सात जना महिला सक्रिय छन् । रोजगारीका लागि भारत जाने गरेकी स्थानीय नानु शाहले घरनजिकै तस्बिर खिच्ने काम सुरु गरेपछि भारतको भन्दा राम्रो आम्दानी गर्ने गरेको बताउनुभयो । 

तस्बिर खिच्ने अधिकांश महिलाका आआफ्ना तस्बिर खिचाउँदा लगाउने पोसाकका पसलसमेत रहेका छन् । विभिन्न जातजातिले लगाउने पोसाक भाडामा दिएर आम्दानी हुने गरेको छ । 

फोटोग्राफर बढ्दै गएपछि कहिलेकाहीँ घोडाघोडीमा आपसी विवादसमेत हुने गरेको छ । पर्यटकलाई तस्बिर खिच्नका लागि जबरजस्ती गर्नुका साथै तस्बिर खिचाउने हानथाप हुन थालेपछि पालो लगाएर तस्बिर खिच्ने व्यवस्था मिलाएको घोडाघोडीमा टिकट काट्ने दीपक शाहले बताउनुभयो । 

दैनिक पाँच सय जनाभन्दा बढी पर्यटक आउने जनाउँदै शाहले तस्बिर खिच्ने कार्यको कुनै नियमन नभएको बताउनुभयो । घोडाघोडीमा फोटो खिच्ने विषयमा विभिन्न समयमा विवाद हुन थालेपछि इलाका प्रहरी कार्यालय सुखडले बेला बेलामा तस्बिर खिचाउन रोक लगाउने समेत गरेको छ ।

धेरै मानिसको भिडभाड हुँदा आम्दानी राम्रो हुने गरेको उनीहरूको अनुभव छ । एउटा तस्बिर खिचेर मोबाइलमा पठाएबापत १० देखि २० रुपियाँसम्म लिने गर्छन् ।