• १२ कात्तिक २०८१, सोमबार

युक्रेनमा उत्तर कोरियाको संलग्नताले क्षेत्रीय सुरक्षा जोखिम बढाउँछ : विश्लेषक

blog

पेरिस, कात्तिक १० गते । युक्रेनविरुद्धको युद्धमा रुसलाई सघाउन उत्तर कोरियाली सेना तैनाथ गर्दा स्थलगत लडाइँमा खासै असर पर्ने सम्भावना कम भए पनि एसिया, युरोप र अन्यत्रको सुरक्षा चासोमा असर पर्न सक्ने विश्लेषकहरुले बताएका छन् ।

रुसी नेता भ्लादिमिर पुटिनले पश्चिमा विरोधी गठबन्धन निर्माण गर्ने आफ्नो प्रयासलाई अघि बढाइरहेका बेला मस्को र प्योङयाङबिचको बढ्दो सैन्य सम्बन्ध वासिङ्टन र ब्रसेल्सका लागि प्रमुख चिन्ताको विषय बनेको छ । उत्तर कोरियाली विज्ञ तथा सियोलस्थित पूर्व फ्रान्सेली कूटनीतिज्ञ पास्कल डेयेज-बर्गनले भन्नुभयो, “द्वन्द्व अन्तर्राष्ट्रिय बन्दै गएको छ ।”

युद्धको सम्भावित विस्तारको जोखिमबारे पश्चिमाहरूको चिन्ता आफूले बुझेको उहाँले बताउनुभयो । उहाँले युक्रेन युद्ध अहिले तेस्रो वर्षमा प्रवेश गरेपनि विश्वव्यापी सुरक्षा संरचनामा तत्काल कुनै पनि खतराबारे कम महत्व दिनु नहुने बताउनुभयो । “वास्तवमा, उत्तर कोरियाले तनाव बढाउने खतरा प्रस्तुत गरेको मैले देख्दिन,” उहाँले उत्तर कोरियाली सरकारलाई ‘सानो तानाशाही’ शासनको संज्ञा दिँदै भन्नुभयो । 

शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले उत्तर कोरियाली सेनालाई आफ्नो देशविरुद्धको लडाइँमा पठाउने योजना बनाइरहेको बताउनुभएको थियो । उत्तर कोरियाले रुसलाई सहयोग गर्न १० हजार सैनिकलाई तालिम दिइरहेको उहाँले दाबी गर्नुभएको छ । दक्षिण कोरिया, नेटो र संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाका हजारौं सैनिकले रुसमा प्रशिक्षण लिइसकेको दाबी गरेका छन् ।

बिहीबार रुसी सांसदहरुले उत्तर कोरियासँगको सम्झौतालाई अनुमोदन गर्ने पक्षमा सर्वसम्मतिले मतदान गरेका थिए, जसमा कुनै पनि पक्षले आक्रमणको सामना गर्नुपरेमा ‘पारस्परिक सहयोग’ को सहमति गरिएको थियो । उत्तर कोरियाले सेना तैनाथ गरेमा चुप लागेर नबस्ने दक्षिण कोरियाले चेतावनी दिएको छ ।

वैदेशिक सम्बन्धबारे युरोपेली परिषद् (ईसीएफआर) का मेरी डुमौलिनले भन्नुभयो, “हामी अहिले रुस र युक्रेनबिच होइन, रुस, उत्तर कोरिया र युक्रेनबिचको द्वन्द्वमा छौं ।” तर विश्लेषकहरुले युक्रेनविरुद्ध रुसको युद्धमा उत्तर कोरियाली सेनालाई कसरी प्रयोग गर्ने भन्ने स्पष्ट नभएको र उत्तर कोरियाली सेनासँग युद्धको अनुभव नभएको बताएका छन् ।

डुमौलिनले भन्नुभयो, “मेरो विचारमा केही हजार उत्तर कोरियाली सेना पठाउँदा मात्रै युद्धमा निकै प्रभाब पर्नेछ भन्ने मलाई लाग्दैन । उनीहरूको प्रशिक्षणको स्तर हामीलाई थाहा छैन, परिचालनको हिसाबले उत्तर कोरियाको सेनाको युद्धभूमिमा उपस्थितिले सामान्य मनोवैज्ञानिक फरक पार्नसक्छ । फ्रान्सस्थित फाउन्डेसन अफ स्ट्राटेजिक रिसर्चकी इसाबेल फेकोनले भन्नुभयो, “१० हजार सैनिक कुनै पनि हालतमा धेरै होइन ।

रुसको उत्तर कोरियासँग सम्बन्धको लामो इतिहास छ । सन् २०२२ मा युक्रेनमाथि आक्रमण भएयता मस्को र उत्तर कोरिया नजिकिएका छन् र सियोल र वासिङ्टनले उत्तर कोरियाले द्वन्द्वमा प्रयोगका लागि हतियार पठाउँदै आएको दाबी गरेका छन् । रासस/एएफपी