• १५ कात्तिक २०८१, बिहिबार

निबन्ध

समय, जीवन र परिवर्तन

blog

जो मानिसहरू हृदयबाट सोच्ने गर्छन्, उनीहरूले हत्पति दिमागको प्रयोग गर्दैनन् । ती मानिस भलै जुन कुनै भाषा वा भाषिका बोल्नेहरू होऊन् । चित्त भनौँ वा हृदय, मुटु भनौँ वा मन, अन्तस्करण भनौँ वा अन्तःकरण अथवा अङ्ग्रेजीमा ‘हार्ट’ भनौँ वा फारसीमा ‘दिल’, चिनियाँमा ‘बी सिन’ भनौँ वा जापानीमा ‘सिन्जो’, कोरियनमा ‘मा’म’ भनौँ वा रसियनमा ‘सेस्र्दसा’; जुनै लवजमा बोल्ने भए पनि मुटुको कुरा सुन्ने मानिसलाई मस्तिष्कको आवश्यकता पर्दैन । त्यस्ता मानिस ‘अति संवेदनशील होमोसेपियन्स’ हुन्, भावुक आत्मा हुन् । सायद यसकारण नै त अनुभवीहरूले भनेका छन्, “आफू अँध्यारोमा हिँडिरहेको छु भनेर थाहा नपाउनेहरूले कहिल्यै उज्यालो खोज्दैनन् ।” (हृदयले तर्क नखोजे जस्तै) ।

हृदयबाट नसोचेर केवल मस्तिष्कबाट मात्र सोच्नेहरू भावुक हुँदैनन्, उनीहरू अपेक्षाकृत कठोर हुन्छन् । कर्कशता उनीहरूको कुराकानी एवं व्यवहारमा प्रस्टसँग अनुभूत हुन्छ । उनीहरू हरेक कुरालाई चाहिने नचाहिने तर्कनाको तराजुमा तौलेर कार्यव्यवहारमा अगाडि बढ्छन् । अर्कोतिर, दिल र दिमाग दुवैबाट सोच्ने पनि र काम गर्ने पनि मानिस न्यून हुन्छन् । उनीहरू अक्सर सन्तुलित व्यवहार गरिरहेका हुन्छन् । समाजमा यस्तै मानिस बढी रुचिकर एवं अधिक लोकप्रिय हुन्छन् । यिनीहरू नै हुन् जसले हामीलाई जीवनको पाठ सिकाउँदै भनिरहेका हुन्छन्, “तपाईंलाई छिटो हिँड्नु छ भने एक्लै हिँड्नुस् तर तपाईंलाई टाढासम्म पुग्नु छ भने अरूहरूसित सँगै हिँड्नुस् ।”

मलाई लाग्छ– जीवनमा सबै कुरा अस्थायी छन्, केवल दुई कुराबाहेक । ती दुवै कुरा अमूर्त र अदृश्य छन् तापनि महसुस गर्न सकिन्छन्, अझ आफैँ अनुभूत पनि हुन्छन् । जिन्दगीका ती दुई स्थायी कुरा हुन्– समय र परिवर्तन । त्यसो त ‘संसारकै एक मात्र स्थायी कुरा परिवर्तन हो’ भनेर सबैभन्दा पहिले प्राचीन ग्रिसका दार्शनिक हेराक्लिटसले उहिल्यै भनेका थिए, “परिवर्तन संसारको एक मात्र स्थायी कुरा हो । सबै कुरा फेरिन्छन् । केही पनि स्थिर रहँदैन । उही नदीको उही पानीमा हामीले दुई पटक टेक्न सक्दैनौँ ।”

यसलाई समयको आँगनमा परिवर्तनका तरङ्ग भनिदिए हुन्छ । किनभने हामीले चाहे पनि नचाहे पनि समय आफ्नै गतिमा एकनास बगिरहन्छ । यसलाई कसैले छेक्न सक्दैन, बाँध्न सक्दैन र थुन्न पनि सक्दैन । तथापि परिवर्तन समयभन्दा अलि फरक हो । सम्भवतः धेरै भिन्न पनि । किनभने परिवर्तन बित्दो समय अनुसार आफैँ पनि आउन सक्छ र आउँछ पनि, तर परिश्रम एवं सङ्कल्पका साथ प्रयास गर्न सकियो भने परिवर्तनचाहिँ ल्याउन पनि सकिन्छ । यसरी हामी परिवर्तनको संवाहक बन्न सक्छौँ तर कसै गरेर पनि समयलाई रोक्न वा फेर्न वा समयको संवाहक हुन भने सकिँदैन । यही कारण हुनु पर्छ, आफ्नो खुसी र सफलताका लागि स्वयं नै उत्तरदायी हुनु पर्छ भनेर जान्दाजान्दै पनि हामी आफैँलाई खुसी बनाउनका लागि समय दिँदैनौँ । के कुराले हामीलाई खुसी दिन्छ अथवा के गर्दा हामीलाई खुसी मिल्छ भनेर हत्पति हामी सोच्दै सोच्दैनौँ, बरु के राम्रो हुन्छ भन्ठान्छौँ भने अरूले नै हामीलाई खुसी बनाइदिनु पर्छ, अरूले नै हाम्रा लागि प्रसन्नता ल्याइदिनु पर्छ ।

म जीवनचक्रमाथि घोत्लिन्छु । त्यस्तो बेलामा म के पाउँछु भने समय र परिवर्तन सँगसँगै हिँडिरहेका पनि हुन्छन् । यसो भए पनि समयले ल्याएको वा समयसितै आएको परिवर्तनलाई सहजै स्वीकार गर्न, अझ आत्मसात् गर्न, हामीलाई निकै कठिन हुन्छ । प्रत्यक्ष देखा परिरहेको परिवर्तनलाई सहज स्वीकार गर्न नसक्दा हामी बेहत्तर जीवन जिउन सक्ने सम्भावनाहरूलाई पन्छाइरहेका हुन्छौँ । परिवर्तन सम्पूर्ण रूपले आफू अनुकूल हुन र नहुन पनि सक्छ तापनि हामी परिवर्तनले प्रस्तुत गर्ने नयाँ सम्भावनाहरूलाई बुझ्न सकिरहेका हुँदैनौँ अथवा बुझ्ने प्रयास गरिरहेका हुँदैनौँ । निःसन्देह, सबै परिवर्तन स्वीकार गर्न साहस चाहिन्छ ।   

म, तपाईं वा अरू जोसुकै मानिस जन्मिइसकेपछि क्रोक्रोदेखि कात्रोसम्म शारीरिक रूपमा निश्चित अन्तराल हुँदै निरन्तर फेरिँदै गएका हुन्छौँ । बिचमा केही अनहोनी नभए वा नघटेमा सामान्यतया जुनकुनै बालकदेखि वृद्धसम्मको नियति यही हो । समयले ल्याउने मानवीय इच्छाभन्दा बाहिरको यो परिवर्तनलाई सहजै स्वीकार गर्न हामी विवश छौँ, आत्मसात् गर्न बाध्य छौँ । अन्यथा त मानिसमा सधैँ बालापनकै अबोध, निश्छल, मुक्त र चञ्चलतामा रमाउँदै बसिरहन मन पराउनेहरू यत्रतत्र बग्रेल हुने थिए । अथवा, युवापनको जोश, जाँगर, महत्वाकाङ्क्षा र बाहुबललाई अँगाल्दै अमर जीवनको चाहना गर्नेहरूको कुनै कमी हुने थिएन । मानिस वृद्ध हुनै चाहँदैन थियो । म बेलाबखत सोच्ने गर्छु, प्रकृतिले नै जीवनमा उमेरजन्य छेकबार नलगाइदिएको भए अहिलेसम्ममा पृथ्वीको हालत कस्तो हुन्थ्यो होला ! 

यसरी परिवर्तन एकमात्र स्थायी प्रक्रिया भए पनि प्रकृतिले मानिस मात्र होइन; जलचर, पशुपन्छी र रुखबिरुवासमेत सबैप्रति यथोचित् न्याय गरेको छ । सबैलाई आआफ्नो नियति दिएको छ । अर्थात् जसको जन्म भएको छ, ढिलोचाँडो एक दिन उसको मृत्यु अवश्यम्भावी छ । अजम्मरी कोही छैन । त्यसकारण जीवन हाम्रो हो, यसलाई जे जस्तो हुन्छ अर्थ दिने दायित्व पनि हाम्रै हो । कुनै मानिसलाई जीवन अर्थहीन लाग्छ र व्यर्थ प्रतीत हुन्छ भने त्योचाहिँ उसको आफ्नै सोच हो, आफ्नै भूल हो, आत्मकमजोरीले ढाकेको आफ्नै भ्रम हो । जीवन त अमूल्य छ, यसलाई अर्थपूर्ण बनाउनु पर्छ । 

परिवर्तनलाई आत्मसात् गरे पनि नगरे पनि हामी भन्ने गर्छौं, जीवन एक खेल हो । त्यसकारण यसमा हामीले आफूलाई मन पर्ने खेल छनोट गर्नु पर्छ, त्यसका नियम–विनियमहरू जान्नु–सिक्नु पर्छ र स्वयंले छानेको खेलमा सफलता हासिल गर्ने उपाय पत्ता लगाउनु पर्छ । किनभने एक दिन सबै कुरा सकिन्छ– बाल्यावस्था, युवावस्था, साथी–सँगाती, माया–प्रेम र अन्ततः स्वयं जीवन नै पनि । यही कारण –अर्थात्, अस्थायी भएकाले– गर्दा नै त ती सबै कुरा अमूल्य छन् । आफ्नो अस्थायी एवं अनिश्चित स्वभाव र क्षणभङ्गुरताले गर्दा नै जीवन हाम्रा लागि प्रिय बनेको हो ।

जिन्दगी स्थायी र अस्थायी पक्षबिच निरन्तर पिङ खेलिरहेको बेला मानिसले आफ्नो बुद्धि–विवेक कसरी कुन किसिमले प्रयोग गर्छ भन्ने कुराले उसको जीवनशैली र जीवनस्तर निर्धारण गर्छ । यही कुराले आफूसामु आइलाग्ने चुनौतीसँग जुझ्न, देखा पर्ने समस्याहरू समाधान गर्न अनि आफ्ना पूर्वनिर्धारित लक्ष्यहरू हासिल गर्न सक्ने नसक्ने पनि निक्र्योल गर्छ । कतिपय आफ्नै पुराना आस्था एवं पूर्वमान्यता वा विश्वासहरूमा पुनर्विचार गर्न सक्ने नसक्ने पनि बनाउँछ । आफैँलाई र आफूवरिपरिको संसारलाई अझ गहिरो गरी बुझ्न सक्ने नसक्ने आधार दिन्छ । यो बुझाइले सफलता–प्राप्तिप्रतिको चाहना बढाउँछ ।

जीवनमा सफलताको कुनै सूत्र हुँदैन, त्यसका लागि त परिश्रम गर्नु पर्छ । अन्य कसैको सहयोग सहायता पाउन सके बेस, अन्यथा अरू कोहीबाट अपेक्षा नगरीकन र आफैँमाथि भर–विश्वास गरेर परिश्रमको बाटोमा पाइला चालिहाल्नु पर्छ । अरू कोही कसैमाथि निर्भर हुनुभन्दा पहिले आफैँमाथि भर पर्नु पर्छ, नभए सिक्नु पर्छ । किनभने जीवन सरल हुँदैन । त्यसकारण मानिस सरल एवं सोझो बाटोबाट मात्र हिँड्न सक्दैन । व्यवहारले पनि यही भन्छ, यस्तै सिकाउँछ । यो सिकाइले सन्तुष्टिको खोजी हुनुपर्ने आग्रह गर्छ । 

फेरि यहाँनिर सफलता र सन्तुष्टि उस्तै उस्तै सुनिए पनि र उस्तै उस्तै लागे पनि खासमा जीवनका यी दुई अलग कुरा हुन् । सन्तुष्ट त त्यसै त्यसै पनि हुन सकिन्छ तर सफल बन्न परिश्रम गर्नै पर्छ । सन्तुष्टि आन्तरिक कुरा हो र मानसिकतासित जोडिएको पक्ष हो तर सफलता बाह्य कुरा हो र यो मानसिकतासँगै भौतिकतासँग गाँसिएको हुन्छ । भौतिक पक्ष कमजोर पनि हुन सक्छ तर मानसिक पाटो बलियो छ भने अधिकतम असुविधा एवं अप्ठ्याराहरूमा समेत सतिसाल बनेर उभिन सकिन्छ र अनेक जटिलतालाई पार लगाउन सकिन्छ । 

सन्तुष्टि अदृश्य हुन्छ र आँखाले त्यो देखिँदैन तर सफलता धेरै जसो त दृश्यमान हुन्छ जसलाई सम्बन्धित व्यक्तिले मात्र नभएर बाहिरी दुनियाँले समेत प्रत्यक्ष दर्शन गर्न सक्छ । यसकारण हामीले जुन सफलता हासिल गरेका हुन्छौँ, त्यसलाई अरूहरूले नै नापजोख वा लेखाजोखा गरेका हुन्छन् तर हामीलाई प्राप्त भएको वा हासिल हुने सन्तुष्टिको नापजोख त हाम्रै आत्माले, आफ्नै मस्तिष्क र हृदयले गरिरहेको हुन्छ । यसो भएको हुँदा सन्तुष्ट जीवन सफल जीवनभन्दा बेहत्तर हुन्छ । सन्तुष्टि–असन्तुष्टि त हाम्रो दैनिक रहनसहनमै देखा परिरहेकै हुन्छ ।

सन्तुष्ट जीवनसितै प्रतिष्ठा र चरित्र पनि जोडिएर आउँछन् । प्रतिष्ठाभन्दा चरित्र ठुलो हो । यद्यपि दुवैलाई स्थायी बनाइराख्नु चनौतीपूर्ण हुन्छ । प्रतिष्ठा कमोबेस आज हुन सक्छ, भोलि नरहन सक्छ तर चरित्र सधैँ साथमा रहन्छ, छाया जस्तै । प्रतिष्ठा आर्जन गर्नु पर्छ तर चरित्र आफैँले विकास गर्नु पर्छ– शनैः शनैः बिस्तारै बिस्तारै, क्रमशः क्रमशः । प्रतिष्ठाले चरित्र निर्धारण गर्दैन तर चरित्रले प्रतिष्ठा निर्माण गर्छ । प्रतिष्ठाले साथ छोड्न सक्छ तर चरित्र बलियो छ भने त्यसले कहिल्यै तपाईंहामीलाई छोड्दैन । चरित्रसँग गरिमा र आत्मसम्मान पनि जोडिएको हुन्छ; जसले मानिसलाई कहिल्यै तल खस्न दिँदैन । यसकारण चरित्र भन्नु प्रतिष्ठा र सफलताको सुदृढ सोपान हो ।

अझ चरित्र, प्रतिष्ठा र सफलताको समवेत कुर्सीमा परिवर्तनको स्थायित्वले सिकाएको शाश्वत पाठ हो– धन भएमा जीवन जिउन धेरै सहज हुन्छ तथापि धनभन्दा चरित्र नै ठुलो हो किनभने धन भए पनि धनले किन्न नसकिने धेरै कुरा छन् । इतिहासमा धेरै महायुद्ध र लडाइँ चरित्र निर्माण गर्न वा अरू कसैको चरित्र जित्नका लागि भएका थिएनन् बरु धन वा राज्य प्राप्तिका लागि लडिएका थिए । कुनै बेला पढेको सम्झन्छु– धनले आचरण वा व्यवहार किन्न सकिँदैन, नैतिकता किन्न सकिँदैन, सम्मान किन्न सकिँदैन, चरित्र किन्न सकिँदैन, सामान्य बुद्धि वा कमन सेन्स किन्न सकिँदैन, विश्वास किन्न सकिँदैन, धैर्य अनि संयम किन्न सकिँदैन र सबैभन्दा ठुलो कुरा त माया, प्रेम वा स्नेह किन्न सकिँदैन ।

यी यावत् पक्षहरूमाथि सोचिरहँदा मलाई थाहा छैन, म हृदय र मन या मुटुले सोचिरहेको हुन्छु अथवा मस्तिष्कले ? दिलले सोचिरहेको हुन्छु अथवा दिमागले ? यस्ता पलहरूमा मलाई लागिरहन्छ, मेरो हृदयमा कल्पनाको मगमगाउँदो जलप छ र मुटुमा भावनाको मखमली शृङ्गार छ, अनि मस्तिष्कमा शुष्क अध्ययन, निष्ठुर तर्क र तितोमिठो अनुभवको पावरदार चस्मा छ । अनि त यस्तो भान हुन्छ, मानौँ चिनियाँ दार्शनिक कन्फ्युसियस मेरासामु उपस्थित भएर मलाई भनिरहेका हुन्छन्, “जीवन साँच्चै नै सरल र सहज छ तर हामी आफैँ नै यसलाई झन् झन् जटिल बनाउन लागिपरेका हुन्छौँ ।”

राम्ररी थाहा छ मलाई, भलै मृत्युले मलाई कुर्न सक्छ तर जिन्दगीको गाडी त आफ्नै रफ्तारमा निरन्तर अगाडि बढिरहेको हुन्छ र समय उसै गरी एकनास बितिरहेको हुन्छ । त्यसकारण जुनकुनै प्रयास गर्नु परे पनि त्यसको थालनी मैले आजैबाट र अहिल्यैबाट गरिहाल्नुपर्ने छ । अतीततिर हेरेर पछुताउनुभन्दा बरु मैले आशा, विश्वास एवं उत्साहसाथ भविष्यतिर पाइला बढाउनुपर्ने छ । 

आखिर जानिफकारले भनेकै छन् नि, “जीवनमा नयाँ सपना हेर्न र नयाँ योजना बनाउनका लागि हामी कहिल्यै बुढो हुँदैनौँ ।” त्यसकारण मलाई लाग्छ– सुत्दा केही सपना हेर्दै सुत्नु पर्छ, उठ्दा आज यो वा त्यो काम गर्छु भन्ने अठोटसाथ उठ्नु पर्छ र जिन्दगी कर्मशील भएर बिताउनु पर्छ । मान्छे भएर बाँच्नुको मूल मन्त्र पनि सायद यही हो । किन पनि भने समय अनुसार वस्तुहरू फेरिइरहन्छन्, कुराहरू बदलिइरहन्छन्, मान्छेहरू परिवर्तन भइरहन्छन् र जीवन एकनास बितिरहन्छ, अकण्टक गतिशील भइरहन्छ ।    

Author

जयदेव गौतम