• १२ कात्तिक २०८१, सोमबार

ज्योतिपुञ्ज कपको फाइनलमा गन्नी र युनाईटेड

blog

इमानसिं राना

रामपुर (पाल्पा), कात्तिक ९ गते । पोखरा पाल्पामा जारी दोस्रो ज्योतिपुञ्ज कपको फाइनलमा गन्नी फुटबल क्लब पोखरा र युनाईटेड युथ क्लब नवलपुरले प्रतिस्पर्धा गर्ने भएका छन् । 

रामपुरमा जारी जिल्लाकै सर्वाधिक पुरस्कार राशीसहितको प्रतियोगिता उपाधीका लागि यी दुई क्लवले प्रतिस्पर्धा गर्ने भएका हुन् । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा २८ विघा युथ क्लव नवलपुरलाई २–१ गोल अन्तरले पछि पार्दै गन्नीले फाईनलको यात्रा तय गरेको छ । 

युनाईटेड युथ क्लब बुधबार भएको पहिलो सेमिफाईनलमा फर्साटिकर युथ क्लव रुपन्देहीलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै फाईनलको पुगिसकेको थियो । दोस्रो सेमिफाईनल खेलको पहिलो हाफको २१ औं मिनेटमा गन्नीका लागि सन्दिप राना मगरले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउन सफल हुनुभयो । 

त्यसपश्चात दोस्रो हाफको २३ औं मिनेटमा २८ विघाका लागि सृजन क्षेत्रीले गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल हुनुभयो । दोस्रो हाफको अन्त्यमा गन्नीका लागि सुमित श्रेष्ठले गोल गर्दै अग्रता दिलाउन सफल हुनुभयो । श्रेष्ठले ३४ औं मिनेटमा गर्नु भएको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । 

ज्योतिपुञ्ज युवा क्लवको २८ औं वार्षिक उत्सवको अवसर आयोजित प्रतियोगिताको फाईनल खेल शनिबार दिउँसो साढे २ बजेबाट हुने क्लवका अध्यक्ष सुदीप गौतमले जानकारी दिनुभयो । 

रामपुर नगरपालिका–७, किसानबारी स्थित ज्योतिपुञ्ज खेल मैदानमा भैरहेको प्रतियोगितामा रुपन्देही, पोखरा, काठमाडौँ, स्याङ्जा, पूर्वी नवलपरासी, पश्चिम नवलपरासीका १० क्लवले सहभागीता थियो । 

प्रतियोगिताको विजेताले नगद ३ लाख ३ हजार ३३३ र उपविजेताले १ लाख ७७ हजार ७७७ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई १५ हजार ५५५ र प्रत्येक विधामा ७ हजार ७७७ नगद व्यवस्था गरिएको आयोजकले जनाएको छ ।