• १२ कात्तिक २०८१, सोमबार

पत्रकार कुइँकेल सम्मानित

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, कात्तिक ९ गते । राष्ट्रिय मानवअधिकार रक्षक पुरस्कारबाट पत्रकार एवं मानव अधिकारवादी राजन कुइँकेल सम्मानित भएका छन् । लुम्बिनी वर्ल्ड पिस फोरमले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पत्रकार कुईंकेललाई पुरस्कृत गरिएको हो ।

युवाका लागि दिगो शान्ति र सामाजिक उधमशीलतासम्बन्धी राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा संघीय संसद, प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पुरस्कृत गरेका हुन् । एम्नेष्टी इन्टरनेसनल नेपालका पूर्व अध्यक्षसमेत रहेका कुईंकेललाई पत्रकारिताका माध्यमबाट मानव अधिकार प्रवर्धनमा उल्लेख्य योगदान भएको भन्दै सम्मान गरिएको हो ।

विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गरेका व्यक्तिलाई पुरस्कृत गरिएको उक्त कार्यक्रममा युवा अभियन्ता एवं नेपाल युवा परिषद्का अध्यक्ष सरोज बानियाँ र नेपाल युवा संस्था सन्जाल  (आयोन) का अध्यक्ष सुजता बराल पनि पुरस्कृत हुनुभयो ।   

सम्मेलनलाई सम्बोधन गर्दै सभापति खतिवडाले युवाका नाममा राजनीति गर्न आउनेले गलत कामको आड लिनु दुर्भाग्यूर्ण भएको बताउनुभयो । उहाँले युवाहरू कुनै राजनीतिक रंग नदिएर मुलुकलाई अगाडि बढाउन एकताबद्व भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । खतिवडाले युवाको मापदण्ड उमेर मात्र नभइ समाजप्रतिको योगदान मुख्य कुरा भएको भन्दै सम्पूर्ण युवालाई देश र जनताप्रति समर्पित भएर अगाडि बढ्न आग्रह गर्नुभयो । 

पुरस्कार वितरणका लागि गठित तीन सदस्यीय छनौट समितिमा ग्लोबल युथ पार्लिैयामेन्टका अध्यक्ष दिवाकर अर्याल, रक्षा नेपालका अध्यक्ष मेनुका थापा र पत्रकार एवं अनुसन्धानकर्ता गोविन्द मरासिनी रहनुभएको छ । कार्यक्रममा छनौट समितिका सदस्य अर्यालले सामाजिक उद्यमशीलता मार्फत् मुलुकको कायापलट गर्न सकिने भन्दै सकारात्मक योगदानका लागि सम्पूर्ण युवालाई आग्रह गर्नुभयो । 

कार्यक्रममा लुम्बिनी वर्ल्ड पिस फोरमका अध्यक्ष बासु गौतमले समाज, देश र विश्वस्तरमा देखिएका जल्दाबल्दा समस्या समाधानमा युवा संलग्नता र हस्तक्षेप जरूरी परेको बताउनुभयो ।