• १२ कात्तिक २०८१, सोमबार

कोशीमा जापानिज इन्सेफलाइटिस रोगको सङ्क्रमण बढ्दो

blog

शशिधर पराजुली

विराटनगर, कात्तिक ९ गते । कोशी प्रदेशमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको सङ्क्रमण बढेको छ । सङ्क्रमणका कारण चालु वर्षमा चार जना नाबालकसहित ६ जनाको मृत्यु भइसकेको छ । प्रदेशका विभिन्न अस्पतालमा थप १६ जना उपचार गराइरहेका छन् । 

मस्तिष्क ज्वरोको समस्या हुने इन्सेफ्लाइटिसबाट सबैभन्दा धेरै सुनसरी जिल्ला प्रभावित देखिएको छ । त्यसपछि झापा र उदयपुर जिल्लामा सङ्क्रमण देखिएको छ । गएको वर्ष कोशी प्रदेशमा इन्सेफ्लाइटिसको सङ्क्रमणबाट कसैको पनि ज्यान गएको थिएन । गत वर्ष नियन्त्रणकै अवस्थामा रहेको यो रोगको सङ्क्रमण यस पटक अधिक मात्रामा फैलिएपछि सन्त्रासको अवस्था उत्पन्न भएको छ । 

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता आस्था थापाका अनुसार बुधबारसम्म कोशी प्रदेशको सुनसरीमा ३, झापामा २ र उदयपुरमा एक जनाको ज्यान गएको छ । चार जना पुरुष र दुई जना महिलाको मृत्यु भएको जसमा चार जना नाबालक छन् । 

धानखेती र बङ्गुरपालन भएको क्षेत्रमा यो रोगको सङ्क्रमणको जोखिम बढी हुन्छ । विशेषगरी क्युलेस जातको लामखुट्टे ‘सेतो लामखुट्टे’को टोकाइबाट यो रोग फैलिने गर्दछ । यो रोगको सङ्क्रमणको जोखिम साउनदेखि कात्तिक महिनासम्म रहने भएकोले गत भदौमा स्वास्थ्य सेवा विभागले जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो । विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले भदौ १५ गतेदेखि असोज १५ गतेसम्म जापानिज इन्सेफ्लाइटिस रोग सङ्क्रमणको जोखिम उच्च रहेको बताएका थिए । तर कात्तिक दोस्रो साता सुरु भइसक्दा पनि इन्सेफ्लाइटिसको सङ्क्रमण रोकिएको छैन । 

इन्सेफ्लाइटिस सङ्क्रमणमा परेकाहरुले महँगाे उपचार गर्नुपरेको भन्दै सरकारले नै सङ्क्रामक रोगको उपचार गरिदिने व्यवस्था गर्नुपर्ने आवाज उठ्न थालेको छ । उदयपुर बेलका नगरपालिका–६ का १२ वर्षे एक बालक ७५ दिनदेखि अस्पतालमा इन्सिफ्लाइटिसको उपचार गराइरहेका छन् तर बिरामीको अवस्था अत्यन्तै नाजुक रहेको विराट शिक्षण अस्पतालले जनाएको छ । 

परिवारका सदस्यहरुले पनि थप समय अस्पतालमा राखेर उपचार गर्ने आर्थिक क्षमता आफूहरुसँग नरहेको भन्दै सरकारले उपचारको प्रबन्ध गरिदिनुपर्ने बताएका छन् । ‘अस्पताल आउँदा राम्रोसँग छोरालाइ लिएर आयौं । बिरामीको अवस्थामा सुधार नभएपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका छौं अस्पताल र फार्मेसीमा गरेर ७ लाख रुपियाँभन्दा बढी रकम खर्च गरिसक्यौं अरु ८-९ लाख रुपियाँ लाग्न सक्छ भनेर अस्पतालले भनिरहेको छ, यतिधेरै खर्च गर्ने क्षमता हामीसँग छैन, यस्तो सङ्क्रामक रोगको उपचार सरकारले गरिदिनुपर्छ,’ बिरामीका बाबुले भन्नुभयो । 

कोशी प्रदेश सरकारले कोशी कोभिड अस्पताललाई यसअघि सङ्क्रामक रोग उपचार केन्द्रको रुपमा सञ्चालन गरेको थियो । तर त्यसलाई पछि हृदयरोग उपचार केन्द्रमा रुपान्तरण गरेपछि समय समयमा आउने यस्ता सङ्क्रमणहरुको उपचारमा सर्वसाधारणले हैरानीसँगै ठूलो धनराशी खर्च गर्न बाध्य भएका छन् । अहिले कोभिड सङ्क्रमणको उपचार गर्न बनाइएको अस्पतालमा न त सङ्क्रामक रोगको उपचार हुन्छ न त मुटुरोगीहरु नै त्यहाँ उपचारका लागि जान्छन् । अहिले अस्पताल पूर्णरुपमा उपयोगविहीन बनेको छ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. सुरेश मेहताले इन्सेफ्लाइटिस रोगबाट सङ्क्रमित भएकाहरुको उपचार भइरहेको जानकारी दिँदै यो रोगको मृत्यु दर भने उच्च रहेको बताउनुभयो । उहाँले सङ्क्रमण रोकथामका लागि काम थालिसकेको जानकारी दिनुभयो । 

प्रदेश स्वास्थ्य मन्त्रालयले जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लिन र लामखुट्टेको टोकाइबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । यो रोगको सङ्क्रमण हुँदा बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी कडा हुने, कम्पन हुने जस्ता लक्षण देखिन्छ । यसबाट बच्न झुल टाँगेर मात्रै सुत्न, हाँस, कुखुरा, सुँगुर जस्ता जनावरलाई घरदेखि टाढा राख्न, घर बाहिर निस्कँदा वा खेतबारीमा काम गर्दा हात पूरै छोपिने गरी कपडा लगाएर रोकथाम गर्न सकिनेछ ।