• १२ कात्तिक २०८१, सोमबार

गोरखामा १२ सय आठ जनामा डेंगु, ४५१ मा स्क्रब टाइफस सङ्क्रमण

blog

गुणबहादुर रोका         
सुलीकोट, कात्तिक ९ गते ।
गोरखाामा तीन महिना नौ दिनको अवधिमा १२ सय आठ जनामा डेंगु सङ्क्रमण देखिएको छ । साउन महिनादेखि तीव्र रुपमा फैलिएको डेंगु कात्तिक ९ गतेसम्म अत्यधिक मात्रामा डेंगु सङ्क्रमण बढेको छ । सो अवधिमा गोरखामा १२ सय आठ जनामा डेंगु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामनाथ शर्माले जानकरी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको गोरखा नगरपालिकामा ९९४, पालुङटार नगरपालिकामा ६९, आरुघाट गाउँपालिकामा ७८, भीमसेन थापा गाउँपालिकामा नौ, शहिदलखन गाउँपालिकामा १२, अजिरकोट गाउँपालिकामा ११, बारपाक सुलिकोट पाँच, गण्डकी गाउँपालिकामा २८ र चुमनुब्री गाउँपालिकामा दुई जनामा डेंगु सङ्क्रमण देखिएको छ ।

यसैगरी, सोही समयमा गोरखामा ४५१ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । जसमा आरुघाट गाउँपालिकामा १७१, गोरखा नगरपालिकामा १९८, पालुङटार नगरपालिकामा ५७,  भीमसेन थापा गाउँपालिकामा ११, शहिद लखन गाउँपालिकामा तीन, सिरानचोक गाउँपालिकामा आठ र गण्डकी गाउँपालिकामा ११ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताउनुभयो ।

यो डेंगु एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको सययमा टोक्ने गर्दछ । वर्षातको समयमा यो रोग देखिने भए पनि हालसम्म पनि डेंगु सङ्क्रमणमा कमी आउन नसकेको नआएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरु, पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको टयाङ्की आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ ।

डेंगु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीरमा बिबिरा आउने, मांशपेशी दुख्ने, टाउको धेरै दुख्ने, रक्तस्राब हुने, शरीर कटकटी दुख्ने तथा ज्वरो आउने लक्षण देखा पर्छन् । डेंगु रोग लाग्नु नदिन लामखुट्टेको टोकाइबाट बच्न जिल्ला स्वास्थ्य कार्यालय गोरखाले अपिल गरेको छ ।

गोरखामा अत्यधिक मात्रामा डेंगु सक्रमण फैलिन थालेपछि ११ वटै पालिकासँग समन्वय गरी ९४ वटा वडामा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्दा समेत अन्य पालिकामा घट्दै गए तापनि गोरखा नगरपालिकामा सबैभन्दा बढी डेंगुका बिरामी देखापरेका जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माको भनाइ छ ।

डेंगु रोग गोरखा नगरपालिकामा बढ्न थालेपछि स्वास्थ्य कार्यालय गोरखा र गोरखा नगरपालिकाको समन्वयमा पटक पटक सचेतना कार्यक्रम गर्दा समेत डेंगु रोगमा कमी नआएको स्वास्थ्य कार्याल गोरखाको रिपाेर्टमा उल्लेख छ । डेंगुका कारण गोरखा नगरपालिकाभित्र २ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।