• १० मंसिर २०८१, सोमबार

‘क्यान्सर अस्पताल पश्चिम नेपालकै आवश्यकता’

blog

खजुरा क्यान्सर अस्पतालको निरीक्षण गर्नुहुँदै मुख्यमन्त्री चेतनारायण आचार्यलगायत । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, कात्तिक ९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

खजुरास्थित क्यान्सर अस्पतालको निरीक्षण गर्दै उहाँले सो अस्पताल सङ्घीय सरकारमार्फत सञ्चालनमा रहे पनि लुम्बिनी प्रदेशकै पहिलो क्यान्सर अस्पताल भएको र यसले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका समेत बिरामीलाई सेवा दिने हुँदा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । 

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले गर्न सक्ने योजना लिएर प्रदेश राजधानी आउन आग्रह गर्दै दरबन्दी र किताबखानामा दर्ता गर्ने विषयमा आफूले सङ्घीय सरकारमा पहल गर्ने पनि आश्वासन दिनुभयो । 

बिनादरबन्दी अस्पताल सञ्चालन भएकोमा आश्चर्य प्रकट गर्दै उहाँले यो अस्पताल लुम्बिनीको मात्र नभई समग्र पश्चिम नेपालकै आवश्यकता भएकाले यसलाई हरेक तरिकाले सुविधासम्पन्न बनाइने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाशप्रसाद साहले नौ वर्षदेखि दरबन्दीबिना काज र दैनिक ज्यालादारी कर्मचारी र चिकित्सकबाट अस्पताल सञ्चालन भइरहेको, अस्पतालको जनशक्तिलाई निजामती किताबखानामा दर्ता नगरिँदा स्वास्थ्यकर्मी टिकाउन असहज बनेको, चिकित्सक तथा नर्सहरूको आवास नहुँदा सेवा प्रभावित भएको जानकारी गराउनुभएको थियो ।  

डा. साहले प्रविधि, स्रोतसाधन हुँदाहुँदै पनि जनशक्तिको व्यवस्थापन नहुँदा अस्पताल सञ्चालनमा असहजता उत्पन्न हुँदै आएको समेत गुनासो गर्नुभयो । सो क्रममा लुम्बिनी प्रदेश सभाका सदस्य रत्न खत्री, लुम्बिनी प्रदेशका मुख्यसचिव महादेव पन्थलगायत उच्च सरकारी अधिकारीको पनि सहभागिता रहेको थियो । धार्मिक कार्यबाट नागरिकले दान गरेर निर्माण गरी सरकारलाई हस्तान्तरण गरिएको लुम्बिनी प्रदेशको एक मात्र क्यान्सर अस्पतालले अहिले विभिन्न प्रकारका सेवा दिइरहेको अस्पतालले जनाएको छ ।