• १० मंसिर २०८१, सोमबार

व्यावसायिक फूल खेती

blog

अनिल पराजुली

हेटौँडा, कात्तिक ९ गते । पश्चिम मकवानपुरको मनहरी–७, रमौलीका किसान हरिशरण अर्यालले व्यावसायिक फूल खेती गर्नुभएको छ । सप्तरङ्गी टीका र सयपत्री अनि मखमली फूलको माला लगाउने पर्वका रूपमा मानिने तिहार पर्वका लागि उहाँले कलकत्ते जातको सयपत्री फूलको खेती गर्नुभएको हो । 

फल लाग्ने अवस्थाको ड्र्यागन फ्रुटको बोट र त्यससँगै उहाँले सयपत्रीको फूलको खेती गर्नुभएको छ । करिब एक बिघा क्षेत्रमध्ये १२ कट्ठामा ड्र्यागन फ्रुट लगाएको स्थानमै अन्तरबालीका रूपमा र आठ कट्ठा क्षेत्रफलमा सयपत्री फूलको मात्रै खेती गर्नुभएको हो । 

चितवनस्थित ज्योतिनगरबाट करिब १८ हजार कलकत्ते प्रजातिको सयपत्री फूलको बिरुवा ल्याएर रोपाइँ गर्नुभएको उहाँको बारीमा अहिले ढकमक्क फुलेको छ । फूलको पर्व तिहारलक्षित रोपेको सयपत्री दसैँबाट अलिअलि फूल्न सुरु गरेको थियो । तिहारअगावै फुलेका सयपत्री फूलहरू टिपेर उहाँले स्टोर गर्न थाल्नुभएको छ । हावा नछिर्ने गरी प्लास्टिकमा प्याक गरेर राख्दा १५ दिनसम्म फूल जस्ताको त्यस्तै रहने किसान अर्यालको भनाइ छ ।

विगत छ वर्षदेखि तिहारका लागि फूल उत्पादन गर्दै आउनुभएका अर्यालले प्रत्येक वर्ष करिब पाँच लाख बराबरको फूल बिक्री गर्दै आउनुभएको छ । मकवानपुरको मनहरीमा व्यावसायिक फूल खेतीको सुरुवात गर्ने उहाँ पहिलो किसान पनि हुनुहुन्छ । उहाँले उत्पादन गर्नुभएको सयपत्री फूल मनहरी, हेटौँडा, नारायणगढ, गोरखादेखि काठमाडौँसम्म जाने गरेको छ । उहाँले सयपत्री फूल प्रतिकेजी ३५० देखि पाँच सयसम्ममा बिक्री गर्ने गरेको बताउनुभयो । यस वर्षको तिहारमा उहाँले सयपत्री बिक्रीबाट पाँच लाखसम्म आम्दानी गर्ने योजना बनाउनुभएको छ । 

व्यावसयिक फूल खेतीसँगै उहाँले कागती, ड्र्यागन र कुरिलो खेतीबाट मनग्गे आम्दानी गरिरहनुभएको छ । विषादी, रासायनिक मल र कुनै पनि प्रकारको भिटामिन प्रयोग नगरी अर्गानिक उत्पादन गरेर वार्षिक लाखौँ रुपियाँ आम्दानी गर्न उहाँ सफल हुनुभएको छ ।