• १२ पुस २०८१, शुक्रबार

गोदावरी फूलको प्रदर्शनी जावलाखेलमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ९ गते । नजिकिँदै गरेको तिहारलक्षित गरी फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले बिहीबारदेखि १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु गरेको छ । बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदर्शनीको उद्घाटन गर्नुभयो । 

‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ सुरु भएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी जावलाखेलको खेल मैदान ललितपुरमा सुरु भएको छ । प्रदर्शनी असोज ११ गतेसम्म सञ्चालन हुने फ्यानले जनाएको छ । 

फ्यानले पुष्प व्यवसायको व्यावसायिक विकास विस्तार तथा प्रवर्धन गर्ने उद्देश्यले २०५१ सालदेखि लगातार रूपमा यस्तो प्रदर्शनी गर्दै आएको छ । 

तिहार तथा छठ पर्व नजिकिँदै गर्दा आँगन बगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यावसायिक प्रवर्धन गर्न उद्देश्यले यो प्रदर्शन सुरु गरिएको उहाँले बताउनुभयो । 

यस प्रदर्शनीमा व्यावसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल दुई, अफिसियल स्टल चार र फोटो पारखीका लागि सेल्फी स्टल एक गरी जम्मा ७५ वटा स्टल राखिएको फ्यानले जनाएको छ । प्रदर्शनीमा सहभागी नर्सरी/फार्मले उत्पादन गरेका गोदावरी फूलका पाँच प्रजातिमा प्रतिस्पर्धा गराइने छ । 

प्रतिस्पर्धा हुने गोदावरीको प्रजाति मिनियचर, स्पाइडर, रिफ्लेक्स इन्कर्भ र गोदावरी कट फ्लावर रहने छन् । मेलामा सहभागी नर्सरी व्यवसायीलाई उत्साह थप्न उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराइने र पुरस्कृत गर्ने बताइएको छ । 

मेलामा नेपालमा व्यावसायिक रूपमा उत्पादन हुँदै आएका विविध जातका गोदावरी फूल, बिरुवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका नयाँ प्रजातिका फूल बिरुवा, सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवासमेत प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने र एक करोडभन्दा बढी रुपियाँको कारोबार गर्ने लक्ष्य फ्यानले राखेको छ ।