• १९ पुस २०८१, शुक्रबार

अमेरिकी आक्रमण चेतावनीपछि श्रीलङ्काद्वारा तीन व्यक्ति पक्राउ

blog

कोलम्बो, कात्तिक ८ गते । श्रीलङ्काली प्रहरीले मुलुकमा भ्रमण गर्ने इजरायली पर्यटकहरुमाथि सम्भावित आक्रमणको अमेरिकी गुप्तचर चेतावनीपछि तीन जनालाई पक्राउ गरेको छ । 

“हामीले तीन स्थानीय पुरुषलाई सोधपुछ गरिरहेका छौँ”, विदेशमन्त्री विजिता हेराथले कोलम्बोमा पत्रकारहरुलाई भन्नुभयो, “हामीले अमेरिकी चेतावनीलाई गम्भीरतापूर्वक लिएका छौँ र सुरक्षा बढाएका छौँ ।” उहाँले ती पुरुषलाई मुलुकको पूर्वी भागमा रहेको एक यहुदी सामुदायिक केन्द्रलाई लक्षित गर्ने कथित षड्यन्त्रको सिलसिलामा पक्राउ गरिएको जानकारी दिनुभयो ।

श्रीलंकाले अमेरिकी दूतावासले सम्भावित आक्रमणको चेतावनी दिएपछि सर्फिङ रिसोर्ट अरुगम बेमा र अन्य लोकप्रिय पर्यटकीय स्थलहरुमा सैनिक तैनाथ गरेको सार्वजनिक सुरक्षामन्त्रीसमेत रहनुभएका हेराथले बताउनुभयो । यस वर्षको पहिलो नौ महिनामा श्रीलङ्कामा भ्रमण गर्ने १५ लाख पर्यटकमध्ये इजरायलीहरूको सङ्ख्या एक दशमलव पाँच प्रतिशतभन्दा कम अर्थात करिब २० हजार थियो ।

प्रहरीले इजरायलीहरूका लागि हटलाइन स्थापना गरेको थियो । प्रहरीका अनुसार हाल देशमा करिब पाँच सय ७० इजरायली नागरिकहरु रहेको छ । कोलम्बोबाट सडक मार्ग हुँदै चार सय किलोमिटर पूर्वमा अवस्थित अरुगम बे इजरायली पर्यटकहरुको लोकप्रिय गन्तव्य हो ।

अमेरिकी चेतावनी इजरायली स्वामित्वका व्यवसायहरूको बहिष्कारका लागि सामाजिक सञ्जालमा गरिएका पोस्टहरूपछि आएको हो । गाजा र लेबनानमा इरान समर्थित हमास र हिजबुल्लाहसँगको इजरायलको द्वन्द्वको विरोधमा स्थानीय मुस्लिम समूहहरुले प्रदर्शन पनि गरेका थिए ।

अस्ट्रेलिया, बेलायत, क्यानाडा र न्युजिल्यान्डले आफ्ना वेबसाइटहरुमा अमेरिकी चेतावनी साझा गरेका छन् भने रुसी दूतावासले आफ्ना नागरिकहरूलाई श्रीलङ्का भ्रमण गर्दा भीडभाड भएका ठाउँहरुमा नजान सल्लाह दिएको छ ।

पैँतालिस विदेशी नागरिकसहित दुई सय ७९ जनाको ज्यान लिएको सन् २०१९ को इस्टर सन्डे बम विस्फोटपछि श्रीलङ्कामा कुनै आक्रमण भएको छैन । तीन वटा विलासी होटल र तीन वटा चर्चविरुद्ध भएको समन्वित आक्रमण इस्लामिक स्टेट समूहप्रति वफादारी जनाउने एक स्थानीय जिहादी समूहको काम भएको आरोप लगाइएको थियो ।

त्यसपछि पर्यटक सङ्ख्यामा तीव्र गिरावट आएको थियो र सन् २०२२ को आर्थिक मन्दीले व्यापक नागरिक अशान्ति निम्त्याएपछि अझै प्रभावित भएको थियो । तर गत वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोषको राहत प्याकेजले अर्थतन्त्र स्थिर पार्न मद्दत गरेपछि विदेशी पर्यटकहरुको सङ्ख्या बढेको छ । रासस/एएफपी