• ९ मंसिर २०८१, आइतबार

खेल नै खेल्न नपाइने नेपालगन्ज रङ्गशाला

blog

धम्बोझी, कात्तिक ८ गते । बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले फुटबल खेलाडीले विगत ७ वर्ष देखि नेपालगन्ज रङ्गशालामा खेल्न नपाउनु दुर्भाग्यपूर्ण अवस्था भएको बताउनुभएको छ । 

२०७६ सालमा नेपालगन्जमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न एक वर्ष अघिदेखि नै नेपालगन्ज रङ्गशालाको भौतिक पूर्वाधार निर्माण गर्ने भनेर खेलाडीलाई खेल्नबाट वञ्चित गरिएको थियो । 

पछिल्लो समय नेपालगन्ज रङ्गशालामा एथलेटिक्सको सिन्थेटिक ट्र्याक निर्माणको काम भएका कारण मैदानमा खेलाडीले खेल्न पाएका थिएनन् । ट्र्याक निर्माण भएर पनि सरकारलाई हस्तान्तरण गर्न अघि नै बिग्रिएपछि रङ्गशालामा राष्ट्रिय खेलकुद परिषद्ले कसैलाई पनि खेल्न अनुमति दिएको छ । 

सङ्घका अध्यक्ष भोजराज शाहीले राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयको नीति खेल मैत्री नभएको गुनासो गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘७ वर्ष भयो फुटबल प्रतियोगिता गर्न पाएका छैनौँ । यो जस्तो दुःखको कुरा अरू के हुन्छ । बालबालिका कुलततर्फ फसेको अवस्था छ । बालबालिकालाई प्रशिक्षण गराउन मैदान माग्दा हामीहरूले पाइरहेका छैनौँ ।’

बालबालिकाहरूको प्रशिक्षणको लागि भए पनि परिषद्ले मैदान दिने विश्वास लिएको उहाँले बताउनुभयो । शाहीले भन्नुभयो,‘यसका बारेमा क्षेत्रीय खेलकुद, राखेप, जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइसकेका छौँ । हामीलाई आशा छ तिहारपछि बालबालिकाहरूले नेपालगन्ज रङ्गशालाको मैदानमा फुटबल प्रशिक्षण गर्न पाउनेछन् ।’

राज्यले अर्बौँ लगानी गरेर निर्माण गरेको खेलकुदका भौतिक पूर्वाधार व्यवस्थापन कमजोर हुँदा खेलाडीले प्रशिक्षण गर्न पाएका छैनन् । नेपालगन्ज रङ्गशाला यहाँका खेलाडीहरूको लागि प्रमुख प्रशिक्षण केन्द्र हो ।

तर राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतका निकायहरूको खेलाडीप्रतिको उदासीनताका कारण पनि प्रशिक्षणका कार्यक्रम प्रभावित हुने गरेका छन् । पछिल्लो समय नेपालगन्ज रङ्गशालामा खेलाडीहरूले कहिले प्रशिक्षण गर्न पाउँछन् भन्ने प्रश्न उठ्न थालेको छ । यसका लागि खेलाडी, प्रशिक्षक, सङ्घले त्यसमा चासो दिन थालेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशको मातहतमा रहेको नेपालगन्ज रङ्गशालामा हाल कुनै पनि गतिविधि हुन सकेका छैनन् । बाँके जिल्ला फुटबल सङ्घले यसअघि असोज १५ गते देखि एक वर्ष सम्म यु–१२ स्तरको खेलाडीहरूलाई नियमित रूपमा प्रशिक्षण गराउने योजना रहेको बताउँदै उक्त प्रशिक्षणमा सहयोग गरिदिन शाहीले सम्बन्धित सम्पूर्ण निकायलाई ध्यानाकर्षण गराएको थियो । अब तिहारपछि मैदान पाएपछि प्रशिक्षणको कार्यक्रम गर्ने सङ्घको योजना छ । 


Author

कमल खत्री