• १२ पुस २०८१, शुक्रबार

दुग्धजन्य पदार्थ आयात प्रतिबन्धलाई यथावत् राख्न माग

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ८ गते । डेरी उद्योगीले भारतलगायतका देशबाट दुध तथा दुग्धजन्य पदार्थ आयातमा लगाएको प्रतिबन्धलाई यथावत् राख्न आग्रह गरेका छन् । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०७७ साउन ४ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर दुध तथा दुग्ध पदार्थ पैठारीमा रोक लगाउन आग्रह गरेको थियो । त्यतिबेला लगभग भारतबाट दुध तथा दुग्ध पदार्थ आयातमा प्रतिबन्ध जस्तै नै थियो । पछि नेपालमा दुध अभाव भएपछि आयात खुला गरिएको थियो । 

नेपालमा दुध पर्याप्त हुन थालेपछि पुनः २०८० फागुन ३ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र लेखेर दुध तथा दुग्धजन्य उत्पादनको आयात स्थगन गर्न निर्देशन दिएको थियो । त्योबेलादेखि हालसम्म आयात स्थगन नै रहेको छ । 

अहिले आएर भारतले विभिन्न बहानामा आयात खुला गराउन नेपाल सरकारलाई दबाब दिँदै आएको कुरा बाहिर आएपछि डेरी उद्योगीले त्यसलाई रोक्न दबाब बढाइरहेका छन् । डेरी उद्योगीको छाता सङ्गठन नेपाल डेरी एसोसिएसन र नेपाल डेरी सङ्घले कृषिमन्त्री रामनाथ अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारीलगायत नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेतलाई भेटेर दुध आयातमा रोक लगाउन माग गरेका छन् । 

नेपाल उद्योग वाणिज्य महासङ्घले पनि बुधबार उद्योग मन्त्रालय, कृषि मन्त्रालयलाई पत्र पठाएर दुध तथा दुग्धजन्य पदार्थ आयात प्रतिबन्धलाई यथावत् राख्न आग्रह गरेको छ । नेपाल डेरी एसोसिएसनले पनि त्यही दिन उद्योग मन्त्रालय, कृषि मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, पशु सेवा विभागलाई पत्र लेखी आयात प्रतिबन्धलाई यथावत् राख्न आग्रह गरेको छ । 

कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले दुध आयात खुला गर्ने विषयमा आफूले पनि सञ्चारमाध्यमबाट जानकारी पाएको तर कृषि मन्त्रालयमा त्यस विषयमा कुनै पनि छलफल नभएको बताउनुभयो । 

सञ्चार मन्त्रालयमा यो विषयले चर्चा पाएपछि आफूले त्यस विषयमा जानकारी लिँदा मन्त्रालयमा कुनै पनि तहमा दुध तथा दुग्ध पदार्थ आयात रोक्न वा नरोक्ने विषयमा कुनै पनि छलफल नभएको बताउनुभयो । 

बजारमा दुग्धजन्य पदार्थहरूको आन्तरिक खपत पूर्ति गर्न स्वदेशी उद्योगले थप लगानीसमेत गर्दै उपभोक्ताको चहाना अनुसार गुणस्तरीय दुग्धजन्य पदार्थ बिक्रीवितरण भइरहेको अवस्थामा भारतबाट आयात स्थगन हटाउन दबाब आएको खबरले आफूहरू चिन्तित भएको नेपाल डेरी सङ्घका अध्यक्ष राजकुमार दाहालले बताउनुभयो ।

सरकारले आयात बन्द गरे पनि आयातको सरकारी तथ्याङ्क हेर्दा साउन महिनामा मात्र बटर ४८ हजार केजी, चिज आठ हजार ५० केजी, अन्य डेरीजन्य पदार्थ १२ हजार छ सय केजी आयात भएको एसोसिएसनका अध्यक्ष दाहालले बताउनुभयो । 

औपचारिक रूपमा दुग्धजन्य पदार्थ आयातमा रोक लगाए पनि अझै आयात भइरहेको तथ्याङ्कले देखाइरहेको उहाँले बताउनुभयो । डेरी उद्योगमा मौज्दात रहेको दुध तथा दुग्ध पदार्थ सकिएर बजार सहज नहुन्जेल आयात खुला गर्न नहुने उहाँले बताउनुभयो । 

चितवन समाचारदाताका अनुसार सरकारले भारतबाट दुध ल्याउने तयारी गरेको भन्दै चितवन जिल्ला दुग्ध उत्पादन सहकारी सङ्घले विरोध जनाएको छ । सङ्घले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी देशमा उत्पादन भएको दुधले बजार नपाएको अवस्थामा भारतबाट ल्याएर किसानलाई धराशायी बनाउने तयारी सरकारले गरेको भन्दै विरोध जनाएको हो ।