टोपलाल अर्याल
रेसुङ्गा, असार ९ गते । गुल्मीदरवार गाउँपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ । अध्यक्ष उत्कृष्ट सम्मानसहित दुग्ध उत्पादनमा आधारित अनुदान र उत्पादनमा आधारित अनुदान प्राप्त गरेका व्यवसायीक किसानहरुलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
तीन वटै विधामा उत्कृष्ट कृषकहरुलाई गाउँपालिका अध्यक्ष सरोज कुमार थापा, उपाध्यक्ष तारा थापा तथा प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले सम्मान गर्नुभएको थियो ।
अध्यक्ष उत्कृष्ट सम्मानबाट वडा नं १ का व्यवसायीक तरकारी कृषक तुल बहादुर थापा र पशुपालक खिमलाल अर्याललाई सम्मान गरिएको छ । त्यस्तै वडा नं २ बाट दुर्गा बहादुर राना, वडा नं ३ बाट भिम कुमारी भुसाल, वडा नं ४ बाट माया रजाली र विकास रजालीलाई सम्मान गरिएको छ । त्यस्तै वडा नं ५ बाट मेघ बहादुर ढेंगा, वडा नं ६ बाट खुम बहादुर तङनामी, अनिता राकसकोटी, वडा नं ७ बाट कुल बहादुर खड्कालाई सम्मान गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवराज घिमिरेले जानकारी दिनुभयो ।
अध्यक्ष उत्कृष्ट कृषक सम्मानबाट १० जनालाई नगद १४ हजार रुपियाँसहित सम्मान गरिएको हो । त्यस्तै दुग्ध उत्पादनमा आधारित अनुदानबाट ३९ जना कृषकलाई सम्मान गरिएको छ । गुल्मीदरवार गाउँपालिका–३ का मेघ बहादुर घिमिरे सवैभन्दा बढि अनुदानसहित सम्मानित हुनुभएको छ । उहाँले २२ वटा मुर्रा भैँसी पाल्नु भएको छ । उहाँले अहिले दैनिक ९० लिटर दुध बिक्री गर्नुभएको छ । घिमिरले ३२ हजार ८५० रुपियाँ नगद प्राप्त गरेको प्रशासकीय अधिकृत घिमिरेले बताउनुभयो । त्यस्तै गुल्मीदरवार–५ की सिता कुवँरले २४ हजार र दामोदर गौतमले १४ हजार ४०० रुपियाँ अनुदानसहित सम्मान प्राप्त गर्नुभएको छ । गाउँपालिकाले छ महिनामा दुध उत्पादनको आधारमा प्रतिलिटर एक रुपियाँ अनुदानको व्यावस्था गरेको थियो ।
उत्पादनमा आधारित अनुदानबाट तीन जना सम्मानित भएका छन् । गाउँपालिकाले भिण्डी, टमाटर र आलुमा प्रतिकिलो तीन र बोडीमा प्रतिकिलो पाँच रुपियाँ अनुदान व्यावस्था गरेको थियो । जसमा आलुतर्फ गुल्मीदरवार गाउँपालिका–३ का मेघ बहादुर घिमिरे, टमाटरमा गुल्मीदरवार गाउँपालिका–४ का नविन कुमार रजाली र बोडी र भिण्डी तर्फ गुल्मीदरवार गाउँपालिका–४ का क्रृषिराम अर्याललाई नगदसहित सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले जानकारी दिनुभयो ।
उहाँले आगामी दिनमा अझैबढी उर्जाका साथ कृषि कर्ममा लाग्न सम्मानित कृषकहरुलाई आग्रह गर्नुभयो । गाउँपालिका उपाध्यक्ष तारा थापाले कृषि र पशुपादनबाटै समृद्धि संभव भएकाले आफुहरु सधै कृषकको पक्षमा रहेको बताउनुभयो । उत्कृष्ट कृषकहरुलाई सम्मान गर्दै गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले गाउँपालिकालाई मासु र दुधमा आत्मनिर्भर हुने बाटोतर्फ लैजान आग्रह गर्नुभयो । उहाँले आशा गरे अनुसारका सबै काम गर्न नसकेपनि कृषि र पशुपालनमा व्यावसायीक उर्जा बढ्दै गएको बताउनुभयो ।