• ११ पुस २०८१, बिहिबार

दश हजार किमी ट्रक यात्रा गर्दै आए आरोही

blog

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा अन्नपूर्ण साउथ १९७९ को फोटो प्रदर्शनी । तस्बिरहरुः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक ७ गते। दसैँको मुखैमा भएको वर्षातले बिग्रिएका राजमार्गहरू अझै दुरुस्त भइसकेका छैनन्।सडक यात्रा सकसपूर्ण हुँदा अहिले हवाई क्षेत्रमा यात्रुको चाप छ।यस्तो समयमा मध्य युरोपको पोल्यान्डबाट छ सदस्सीय टोली भने ट्रकमा यात्रा गर्दै पोखरा आइपुगेको छ ।

दश देश पार गर्दै १० हजार छ सय किमी यात्रा गरी टोली पोखरा आइपुगेको हो।जेल्स ट्रकबाट हिमालयको फेदीसम्म पुग्ने लक्ष्य लिएर आएको पोलिस टोली अहिले पोखरामा छ।पोलिस आरोहण टोली सन् १९७९ मा अन्नपूर्ण साउथ आरोहण गर्दाको ऐतिहासिक अभियानलाई सम्झाउन नेपाल आएको हो।

सुविधा सम्पन्न यो ट्रकमा ल्याइएका अभियानका तस्बिर बुधबारबाट पोखरामा प्रदर्शनीमा राखिएको छ।जल्सिजम हिमालय फाउन्डेसनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा त्यो आरोहण अभियानका २५ फोटो प्रदर्शन गरेको हो।

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रदर्शनी सुरुआत गर्नुभयो।यो प्रदर्शनी एक हप्तासम्म चल्नेछ।अन्नपूर्ण साउथ एक्सपेडिसन १९७९ का दुई सदस्यसमेत अहिलेको टोलीमा हुनुहुन्छ। 

सन् १९७० र ८० को दशकमा जेल्स ट्रकको माध्यमबाट धेरै पोलिस आरोहीले संसारका विभिन्न देश पुगी हिमाल आरोहण गरेका थिए।१९७९ का अन्नपूर्ण साउथ आरोही राइसाल्ड विलोजोस्कीले झ्यालैबाट हिमाल देखिने यो सङ्ग्रहालय नै यी तस्बिरहरूको सबैभन्दा उपयुक्त स्थान भएको उल्लेख गर्नुभयो।“झ्यालबाटै अन्नपूर्ण देखिने ठाउँ नै यी तस्बिरहरूको सबैभन्दा उपयुक्त ठाउँ हो,” उहाँ भन्नुहुन्छ, “पहिले हिउँ धेरै थियो, अहिले घटेछ।समय व्यतीत भयो।अरू कुरा उस्तै रहेछन् ।”

पोलिस संस्कृति प्रवर्द्धन गर्न टोलीले अहिले ल्याइएको जेल्स ट्रक डिसेम्बरसम्म पोखरै रहनेछ।टोली केही दिनअघि अन्नपूर्ण आधार शिविर पुगेर फर्केको छ।टोलीका सदस्य मासिज पेट्रोविसले यसपालि टोलीले अन्नपूर्ण आधार शिविर पुगी आरोहणका क्रममा ज्यान गुमाएका २ सदस्यको स्मरणसमेत गरेको उल्लेख गर्नुभयो ।

आगामी डिसेम्बरमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा हुने पर्वतीय महोत्सवका आकर्षणका रूपमा यी तस्बिर र ट्रकसमेत रहने सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले बताउनुभयो।पर्वतीय संस्कृति र हिमालबारे बुझाउने स्थल र अनुसन्धान केन्द्र बनेको सङ्ग्रहालय गएको वर्ष एक सय पाँच देशका करिब दुई लाखले अवलोकन गरेका छन्। 

सात हजार दुई सय १९ मिटर अग्लो अन्नपूर्ण साउथ अल्पाइन पद्धतिअनुसार यही टोलीले पहिलो आरोहण गरेको थियो।१५ सदस्यीय टोलीका दुई सदस्य शिखरमा पुगेका थिए भने दुई जना बेपत्ता बनेका थिए।आरोही विलोजोस्की दुई जना शिखरतिर जाँदै गएको देखिएको तर पछि बेपत्ता बनेको सम्झनुहुन्छ ।

 उहाँ भन्नुहुन्छ, “आधार शिविरका मान्छेहरूले उनीहरूलाई माथि जाँदै गरेको देखेको भनी सुनाएका थिए।पछि हिमपहिरोमा परे कि के भयो, बेपत्ता छन्।अझै कुनै अत्तोपत्तो छैन ।” पहिलो पटक आरोहणको रुट पत्ता लगाउन नेपाल आएको र दोस्रो पटक आएर शिखर चुमेको उहाँले सुनाउनुभयो।“दोस्रो पटक आएर चढेका थियौँ।सामानहरू पोखराबाट बोकेरै लगेका थियौँ,” उनले भन्नुभयो। 

सन् १९७९ मा पोलिस टोली पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी, सोमानिया, बुल्डेरिया, टर्की, इरान, पाकिस्थान, भारत हुँदै नेपाल आएको थियो।सन् १९७९ को मार्च ३ मा हिँडेको टोली अप्रिल १ मा नेपाल आइपुगेको थियो। मे १ मा शिखर चढेपछि फर्किएर मे ३० मा टोली पोल्यान्ड पुगेको थियो।

टोलीका सदस्य एरिक पेरिग अर्को वर्ष डिसेम्बरमा पोल्यान्डमा महोत्सव गर्ने उल्लेख गर्नुहुन्छ।१९७९ को अभियानमा केन्द्रित महोत्सवमा अन्नपूर्ण साउथ आरोहणलाई केन्द्रबिन्दु बनाइने र सानो इभरेस्ट बेस क्याम्पको मोडेलसमेत स्थापना गर्ने योजना उहाँ सुनाउनुहुन्छ।

पोखरा आईपुगेको जेल्स ट्रकसँगै पोलिस टोली ।