• १२ पुस २०८१, शुक्रबार

सरकारी निकायबिच समन्वय नहुँदा छ वर्षदेखि योजना अलपत्र

blog

लेटाङ ३ स्थित चिसाङ खोला किनारमा निर्माण भएको ढल व्यवस्थापन स्थल । तस्बिर: हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, कात्तिक ६ गते । बन कार्यालय, लेटाङ नगरपालिका र सङ्घीय खानेपानी आयोजनाबिच समन्वय हुँदा नसक्दा दुई वर्षमा सम्पन्न हुने आयोजना ६ वर्ष बित्न लाग्दा पनि सम्पन्न भएको छैन ।

मोरङको लेटाङमा सङ्घीय खानेपानी आयोजनाले २८ करोड ९९ लाख ५८ हजार ८० रुपियाँमा लेटाङ बजार ढल निर्माण तथा प्रशोधन आयोजना सञ्चालन गर्न टेन्डर आह्वान गरेको थियो । गोल्डेन विकोइ खुस्बु जेभी कम्पनीले १९ करोडमा  ठेक्का प्राप्त गरेको यो योजना २०७६ सालको असार २५ गते सङ्घीय खानेपानीले २ वर्षमा ढल निर्माण तथा प्रशोधन आयोजनाको काम सक्ने गरी ठेक्का लगाएको हो । 

जतिबेला आयोजनाको डिपीआर बनेको थियो । त्यो बेला लेटाङका अधिकांश सडक ग्राभेल थिए । २०७४ मा स्थानीय सरकार बनेपछि जनसहभागितामा सडक कालोपत्रे भए । सडक कालोपत्रे भएपछि ढल निर्माण तथा प्रशोधन आयोजनाको ठेक्का स्वीकृति पत्र लिएर सङ्घीय खानेपानी आयोजना र निर्माण कम्पनीका प्रतिनिधि लेटाङ नगरपालिका पुगे ।

२०७६ सालको कात्तिक १८ गते लेटाङ नगरपालिकाका तत्कालीन प्रमुख शङ्कर राईको अध्यक्षतामा आयोजनालाई काम गर्ने वातावरण तयार गरी दिने विषयमा छलफल भयो । छलफलमा स्थानीयले ठुला आयोजनाले बनिसकेका सडक, खानेपानी र विद्युत् प्रसारणलाई अवरुद्ध गर्ने र भत्किएको संरचना नबनाई छोडिदिने गरेको भन्दै  संरचना नबिगारी ढल निर्माण गर्न सुझाएका थिए ।

सङ्घीय खानेपानी आयोजनाका प्रमुख डिभिजन इन्जिनियर सुरतलाल चौधरीले भन्नुभयो– सम्झौता अनुसार कम्पनीले २०७८ को असार २४ गते  काम सम्पन्न गरी आयोजना हस्तान्तरण गर्नुपर्ने थियो । तर ५ वर्ष ४ महिना बितिसक्दा पनि आयोजना सम्पन्न भएको छैन । उहाँका अनुसार डिपीआर गरेको समयमा सडक ग्राभेल थियो । काम सुरु गर्न आउँदा कालोपत्रे भयो । स्थानीयको लागत सहभागितामा बनेको कालोपत्रे भत्काएर पाइप गाड्ने वातावरण बनेन । वनसँग स्वीकृति नलिई काम सुरु भएकोले एक वर्ष समय वनसँग कानुनी प्रक्रिया पुर्‍याउन लाग्यो । चौधरीले  निर्माण कम्पनीले काम गरेको भुक्तानी दिन नसक्दा काम समयमा सम्पन्न नभएको बताउनुभयो । एकातिर साइड खाली गर्न सरकारी निकायबिच नै समन्वय हुँदैन ।

अर्कोतर्फ सरकारले समयमा भुक्तानी दिन सक्दैन ।चौधरीले बिग्रिएको संरचना निर्माण गर्न नयाँ भेरिएसन अर्डर (भिओ) गर्नुपर्ने लगायतका सबै कानुनी अप्ठ्यारा र जटिलताले गर्दा काम समयमा सम्पन्न गर्न नसकिएको बताउनुभयो ।  उहाँका अनुसार बजारको हरेक घरबाट निस्कने ढल डम्पिङ साइड सम्म पुर्‍याउन ९ हजार ४२४ मिटर लम्बाइ पाइप गाड्नुपर्ने थियो । पाइप गाड्ने काम सकिएको छ । स्थानीयको माग अनुसार भत्किएको ठाउँमा अस्फाल्ट प्रविधिको कालोपत्रे गरिसकेका छौं । ८० प्रतिशत भौतिक प्रगति भइसक्दा वित्तीय प्रगति ६९ प्रतिशत मात्र भएको छ । 

नगरको वडा नं. ३ स्थित कमलपुर सामुदायिक वन नजिकै २ बिघा जग्गामा ढलको डम्पिङ हुने प्रबन्ध मिलाइएको छ  ।उक्त काम पनि सम्पन्न भइसकेको निर्माण कम्पनीका प्रतिनिधि दीपक पौडेलले बताउनुभयो । सरकारी निकायबिच समन्वय नभई ठुला आयोजना ठेक्का लगाउँदा समस्या भएको पौडेल बताउनुहुन्छ । सरकार समयमा भुक्तानी दिन सक्दैन । अर्कोतर्फ निर्माण कम्पनीले काम गर्ने वातावरण हुन्न, कहिले वनले स्वीकृति माग्छ, कहिले उपभोक्ताले काम गर्न दिँदैनन् । उहाँले २ जना कर्मचारी ५ वर्षदेखि आयोजनाको डम्पिङ स्थलमा राखिरहेको बताउनु भयो । 

लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले नगरको विकासमा दीर्घकालीन असर पुर्‍याउने आयोजनाहरू समयमा सम्पन्न नहुँदा समस्या भइरहेको बताउनुभयो । उहाँले कतिपय सङ्घीय आयोजनाहरू स्थानीय सरकारसँग परामर्श नभई आउने गरेकोले समयमा सम्पन्न नहुने गरेको बताउनुभयो ।