सरोज ढुङ्गेल/सिराज खान
काठमाडौँ, असार ८ गते । नेपालमा सिकलसेलका बिरामीका लागि उपचार तथा औषधी व्यवस्थापन सहज बन्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाल भेरी अस्पताल नेपालगन्ज, टीकापुर अस्पताल टीकापुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड निर्माण गरेर सिकलसेलको उपचार गराइएको छ । बर्दियामा छुट्टै अस्पतालसमेत सञ्चालन गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गोरखापत्रसँग कुरा गर्दै सरकारले सिकलसेल उपचारलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँले भारत सरकारले सिकलसेलका बिरामीलाई औषधी निःशुल्क उपलब्ध गराएको जानकारी दिँदै सिकलसेल प्रभावित जिल्लाका अस्पतालमा छुट्टै वार्डसमेत व्यवस्था गरिएको जानकारी दिनुभयो ।
भेरी अस्पतालमा सिकलसेलका बिरामीलाई उपचार गराउन निकै सहज भएको छ । सिकलसेलका बिरामी शøयाका लागि धेरै कुर्नुपर्ने र शय्या नपाउँदा भुइँमा सुतेर उपचार गराउनुपर्ने बाध्यता हटेको छ । भेरी अस्पतालको सिकलसेल वार्डमा उपचार गराइरहनुभएका बर्दिया ठाकुरबाबा नगरपालिका–२, भुरीगाउँका १५ वर्षीय छात्र दिवस थारूले
आठ वर्षदेखि उपचारका लागि नियमित आउने गरेको जानकारी दिँदै यसअघि सिकलसेल वार्ड नहुँदा उपचाका लागि धेरै दुःख र कष्ट सहनुपरेको अनुभव सुनाउनुभयो ।
सात वर्षकै उमेरमा सिकलसेल भएको पत्ता लागेपछि उहाँ भेरी अस्पतालमा नियमित उपचार गराइरहनुभएको छ । आफू जस्ता धेरै बिरामीले शय्या नपाउँदा भुइँमा बसेर रगत चढाउनु परेको र अत्यन्त पीडादायी अवस्थाबाट गुज्रनु परेको दुःखेसो कक्षा ८ मा अध्ययनरत थारूले सुनाउनुभयो ।
सरकारले भेरी अस्पतालमा सिकलसेलका बिरामीका लागि गत पुसबाट सञ्चालन गरेको छुट्टै वार्डका कारण अहिले सहज भएको दिवस थारूका पिता जितेन्द्र थारूले बताउनुभयो । पश्चिम नेपालका थारू बाहुल्य पाँच जिल्ला बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङबाट उपचारका लागि भेरी अस्पताल आउने गरेका छन् ।
बर्दिया राजापुर नगरपालिका–८ का २० वर्षीय अन्तराम थारू पनि गत १५ वर्षदेखि सिकलसेलबाट पीडित हुनुहुन्छ । अहिले भेरी अस्पतालको छुट्टै वार्डमा भर्ना हुनुभएका थारूले पनि छुट्टै वार्डका कारण अहिले उपचार निकै सहज बनेको जनाउँदै अब सरकारले बाँचुन्जेल निःशुल्क उपचार व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । उहाँले अहिले सरकारले सिकलसेलका बिरामीलाई दिएको एक लाख रुपियाँ सकिएपछि उपचारमा धेरैलाई समस्या भइरहेकाले सधैँका लागि निःशुल्क उपचार व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले थारू समुदायका १५ प्रतिशत जनसङ्ख्यामा सिकलसेल रहेको जानकारी दिँदै सरकारले यो समस्यालाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
भेरी अस्पतालका भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले अहिले एक हजार १०२ जना बिरामीले भेरी अस्पतालमा नियमित उपचार गराइरहेको जानकारी दिँदै स्थानीय अस्पतालमा उपचार गराउनेसमेत गरेर पश्चिम नेपालमा मात्रै पाँच हजार जनाभन्दा बढी सिकलसेलबाट पीडित रहेको बताउनुभयो ।
भेरी अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सहजीकरण गरिदिन सिकलसेल एनिमिया सोसाइटी नेपालले दुई जना सहजकर्तालाई चौबिसै घण्टा सिकलसेल वार्डमा खटाएको छ । वार्डमा खटिनुभएका सहजकर्ता प्रतिमा थारूले बिरामीलाई भर्ना गर्न, रगत व्यवस्थापन र अन्य समस्या परेमा सहयोग गर्ने गरेको बताउनुभयो ।