• ८ असार २०८२, आइतबार

प्रदेशस्तरीय सिप महोत्सव हुने

blog

बागमती प्रदेशस्तरीय सिप महोत्सव, २०८२ का बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिर : राममणि दाहाल

मकवानपुर समाचारदाता

मकवानपुर, असार ८ गते । सिप विकाससँग सम्बन्धित विविध आयामबारे उजागर गर्ने उद्देश्यले हेटौँडामा दुईदिने सिप महोत्सव, २०८२ आयोजना हुने भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र बागमती प्रदेश उद्योग परिसङ्घको संयुक्त आयोजनामा यही असार १२ र १३ गते बागमती प्रदेशस्तरीय सिप महोत्सव, २०८२ हुने भएको हो ।

महोत्सवका बारेमा हेटौँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बजारको माग र आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन, उत्पादित जनशक्तिलाई रोजगारका अवसरको सुनिश्चितता गर्ने लक्ष्यसहित सिप महोत्सव २०८२ आयोजना गर्न गइरहेको जानकारी गराइएको छ ।

बागमती प्रदेश उद्योग परिसङ्घका अध्यक्ष लेखराज पोखरेलले पत्रकार सम्मेलनमा रोजगारीप्रदायक, तालिमप्रदायक र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई एकै स्थानमा भेला पारी सिप विकासको विविध आयामबारे जानकारी गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो  ।

“प्राविधिक जनशक्तिमाथिको परनिर्भरता कम गरी स्वदेश मै दक्ष प्राविधिक जनशक्ति उपलब्ध रहेको सन्देश प्रवाह गर्नु महोत्सवको उद्देश्य हो,” उहाँले भन्नुभयो, “महोत्सवले निजी क्षेत्रको अग्रसरतामा सिप, दक्षता र अनुभव साटासाटको वातावरण तयार पार्ने छ ।”

महोत्सवमा इलेक्ट्रिकल र बाल विकास सहजीकरण विधामा लाइभ तालिम, एक हजारभन्दा बढी विद्यार्थी तथा युवाका लागि साइकोमेट्रिक परीक्षण, विद्यार्थी तथा युवालाई समूहमा वृत्ति परामर्शसहित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र वृत्ति मार्गनिर्देशनसम्बन्धी अभिमुखीकरण र विद्यार्थीलाई उद्योग भ्रमण महोत्सवको आकर्षणका रूपमा रहने भएको छ ।

सामाजिक विकास मन्त्रालयको योजना तथा शिक्षा विकास महाशाखा प्रमुख घनश्याम खनालले महोत्सवको लक्षित समूह सूचना प्रविधि, होटेल व्यवस्थापन र अटोमोबाइल इन्जिनियरिङतर्फका प्रशिक्षार्थी, उद्योग प्रतिष्ठानका प्रतिनिधि र प्राविधिक शिक्षालय रहेको जानकारी दिनुभयो ।

यस्तै सूचना प्रविधि, हस्पिटालिटी, अटोमोबाइलका क्षेत्र र प्रदेश स्थानीय तथा जिल्लास्तरका सरकारी निकाय र सङ्घसंस्था महोत्सवका लक्षित समूह हुन् ।