• १० कात्तिक २०८१, शनिबार

बाजेको सेकुवा र जम्काभेटमा अनुगमन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ७ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मङ्गलबार अनामनगरस्थित विभिन्न रेस्टुरेन्ट तथा व्यवसायको अनुगमन गरेको छ । अनुगमनका क्रममा विभिन्न खाद्यवस्तुमा कैफियत देखिएको छ । अनामनगरमा रहेको बाजेको सेकुवा प्रालिमा पनि खाद्यवस्तुमा कैफियत देखिएको विभागले जनाएको छ । 

त्यहाँ तयारी खाद्य पदार्थ लेबल नलगाई भण्डारण गरेको, मसीजन्य कागजमा लेबल नलगाई प्रयोग गर्ने गरेको एक प्याकेट स्टिक नुडल्स भण्डारण कक्षमा फेला परेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताउनुभयो । सो रेस्टुरेन्टमा प्रयोग गर्ने गरेको घिउ तथा प्रशोधित पिउने पानी गरी दुई वटा नमुना मोबाइल फुड ल्याबमा गरिएको चेकजाँच गरी लेबल नभएको नुडल्स नष्ट गरिएको जानकारी दिनुभयो । 

त्यस्तै जम्काभेट रेस्टुरेन्ट एन्ड लाउन्ज प्रालिमा अनुगमन गर्दा तयारी खाद्य पदार्थ लेबल नलगाई भण्डारण गरेको र धमला डेरीबाट उत्पादित लेबलबिनाको बटर प्रयोग गर्ने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । किम्ची फास्टफुड एन्ड तन्दुरी रेस्टुरेन्टमा अनुगमन गर्दा त्यहाँ काँचो तथा पकाएका खाद्य पदार्थ लेबल विवरण नलगाई एकै ठाउँमा नछोपी भण्डारण गरिएको फेला पारिएको उहाँले बताउनुभयो । 

त्यस्तै त्यहाँ सरसफाइ सन्तोषजनक नदेखिएको बताउँदै उहाँले प्रयोग गर्नुपर्ने मासु अघिल्लो दिनमै फ्राई गर्ने गरेको तथा पूर्ण लेबल विवरण नभएको स्लाइस ब्रेड प्रयोग गर्ने गरेको पाइएको जानकारी दिनुभयो । सो रेस्टुरेन्टलाई पूर्ण लेबल विवरण भएका खाद्य पदार्थ मात्र प्रयोग गर्न, सरसफाइमा ध्यान दिई खाद्य स्वच्छता कायम गर्न र मासु फ्राई कार्य प्रयोग गर्ने दिनमै गर्न विभागले निर्देशन दिएको छ । 

त्यस्तै ललितपुरको हात्तीवनस्थित नेपाल डेरीमा जिल्ला प्रशासन कार्यालय ललितपुर र स्थानीय निकायसमेतको संयुक्त अनुगमन टोलीले सोमबार अनुगमनको क्रममा बर्गर तथा पिजामा लेबल नभएको तथा सरसफाइमा कमी रहेको कैफियत पाइएको छ । उपभोक्ता संरक्षण ऐनबमोजिम ५० हजार जरिबाना तिराउँदै सरसफाइमा ध्यान दिन सो डेरीलाई निर्देशन दिइएको छ ।