• १० कात्तिक २०८१, शनिबार

‘मिसिङ’ प्रदर्शनीको तयारी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ६ गते । चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ को प्रवर्धन सामग्री सार्वजनिक गरिएको छ । प्रवर्धन सामग्रीमा नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा प्रेमका उतारचढाव देखाइएको छ । नाजिर र सृष्टिको सम्बन्ध अघि बढ्ने क्रममा प्रेममा थप सङ्घर्षलाई प्रस्तुत गरिएको छ । सो चलचित्र कात्तिकको अन्तिम हप्ताबाट प्रदर्शनमा लैजाने तयारी निर्माण पक्षको छ । 

चलचित्रको निर्देशक दीपेन्द्र गौचनले गर्नुभएको छ । ३२ वर्षअघि निर्माण गरिएको ‘डकुड्रामा’ ‘उजेली’ का निर्देशक गौचनले नै ‘मिसिङ : केटी हराएको सूचना’ को कथा, स्क्रिप्ट लेखन र निर्माण गर्नुभएको हो । चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रूपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, अमितेष शाह र ओमप्रकाश कर्णको अभिनय छ । ट्राई सिटी पिक्चर्सको ब्यानरमा निर्माण गरिएको चलचित्रको कार्यकारी निर्माता नकिम उद्दिन हुनुहुन्छ । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, शङ्कर महर्जनको द्वन्द्व र करुण थापाको सङ्गीत छ ।