• ५ कात्तिक २०८१, सोमबार

उपनिर्वाचन : माओवादी केन्द्रद्वारा उम्मेदवारी घोषणा

blog

नमोनारायण माझी मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली
विराटनगर, कात्तिक ५ गते ।
 आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको तयारी गरिरहेको नेकपा (माओवादी केन्द्र)ले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छ ।

ग्रामथान गाउँपालिकाको तेतरियामा सभाको सोमबार आयोजना गरी ग्रामथान १ का नमोनारायण माझीलाई अध्यक्ष पदको उम्मेदवार बनाउने घोषणा गरेको हो ।

माझी दुई महिना अगाडि नेपाली कांग्रेसबाट माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । माझी २०७४ सालको निर्वाचनमा ग्रामथान १ को वडाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

गत स्थानीय तहको निर्वाचनमा पार्टीले उम्मेदवार नबनाएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको माझीले वडामा तेस्रो स्थानको मत प्राप्त गर्नुभएको थियो ।

मङ्सिर १६ गते हुन लागेको निर्वाचनको तयारीमा जुटिरहेका दलहरूमध्ये माओवादी केन्द्रले उम्मेदवारी घोषणा गरेको छ भने अरू दलहरू तयारीमा जुटेका छन् ।

२०७९ सालमा सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित हुनुभएका कांग्रेस नेता जयप्रकाश गच्छदारको हृदयाघातबाट निधन भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो । 

माझीको उम्मेदवारी घोषणा कार्यक्रममा माओवादी केन्द्रका नेताहरू सावित्रीकुमार काफ्ले, प्रतिनिधिसभा सांसद अमनलाल मोदी, पूर्वराज्यमन्त्री विजयकुमार विश्वासलगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो ।