• ५ कात्तिक २०८१, सोमबार

चापाकोट बम विस्फोट: सेनाबाट अवकाश पुरी पक्राउ

blog

चापाकोट नगरपालिका–४ का गोविन्द पुरीको घरमा नेपाली सेना सहितको टोलीले अनुसन्धान गर्दै । जहाँ शनिवार साँझ बम विस्फोट भएको थियो । तस्बिर: राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे 

वालिङ, कात्तिक ५ गते । स्याङ्जाको चापाकोटमा भएको बम विस्फोटको घटनामा नेपाली सेनाबाट अवकाश प्राप्त गोविन्द पुरीलाई प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ चापाकोट नगरपालिका–४ मल्याङ्कोटमा रहेको पुरीको घरमा सकेट बम विस्फोट भएको थियो । विस्फोटमा पुरी आफै सामान्य घाइते हुनु भएको थियो । पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार पछि पुरीलाई प्रहरीले पक्रेको हो । 

दुई बर्ष अगाडि सेनाबाट अवकाश लिएका ४५ वर्षीय पुरीको घरबाट ठुलो मात्रमा विस्फोटक पदार्थ भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले जानकारी दिनु भयो ।

पुरीको घरबाट विस्फोट नभएको ९ सय ग्राम बारुद, डेटकड २ थान, जंगी राउण्ड १ थान र खाली खोका २ थान बरामद गरिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । अवकाश प्राप्त नेपाली सेना भएकाले बम बनाउने बारुद सहित अन्य विस्फोटक पदार्थ पुरीले कहाँबाट र कुन प्रयोजनका लागि ल्याउनु भएको हो भन्ने अनुसन्धान पछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

शनिवार घरको तेस्रो तलाबाट दोस्रो तलामा भाँडाहरू सार्ने क्रममा सकेट बम विस्फोट भएको थियो । विस्फोटबाट पुरीको तीन तले कच्ची घरमा क्षति पुगेको छ । विस्फोट भएको घरमा प्रहरी र नेपाली सेनाको विशेष टोलीले अनुसन्धान तथा खोज गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका पुरी सुनवलमा बस्दै आउनु भएको थियो । उहाँ दसैँमा टिका लगाउन घरमा आएका परिवारले जनाएको छ । विस्फोट भएको घरमा पुरीका बुवा आमा मात्रै बस्दै आउनु भएको थियो । 

विस्फोटक पदार्थ आफैले राखेको ठहर भएमा पुरीलाई विस्फोटक पदार्थ सम्बन्धी मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।