• ५ कात्तिक २०८१, सोमबार

सर्प समात्दै, जनचेतना फैलाउँदै लक्ष्मण

blog

सर्पको उद्धार गर्दै शिक्षक लक्ष्मण उपाध्याय । तस्बिर : अविनाश चौधरी

धनगढी समाचारदाता

धनगढी, कात्तिक ५ गते । कैलालीको टीकापुरका शिक्षक लक्ष्मण उपाध्यायलाई दसैँमा पनि सर्प उद्धार गर्न भ्याइनभ्याइ थियो । यत्रतत्रबाट फोन आएपछि नजाने कुरै भएन । सर्प समात्ने चटारोले दसैँको टीकासमेत थाप्न नपाएका उहाँले दसैँको बेला मात्रै ३५ वटा सर्प उद्धार गर्नुभयो । “मेरो दसैँ सर्प समात्दै बित्यो । टीकासमेत छाडेर सर्प उद्धार गर्न गएको थिएँ,” लक्ष्मणले अगाडि थप्नुभयो, “यो बेला सर्पको बिगबिगी बढी हुने गरेका कारण मलाई चाडपर्वमा समेत फुर्सद थिएन ।” दसैँ अवधिमा अति विषालु गोमन, करेत, ब्यान्डेट करेत सर्पदेखि लिएर धामन, पानी सर्प र तीन वटा बर्मेस अजिङ्गर सर्प पक्रेर सुरक्षित स्थानमा छाडेको उहाँको भनाइ छ । 

जीवशास्त्रमा स्नातकोत्तर उत्तीर्ण उपाध्यायले कैलालीमा सर्प उद्धार गर्दै आएको चार वर्ष पुगेको छ । यो अवधिमा विषालु र अविषालु गरेर दुई हजार २३४ वटा सर्पको उद्धार गरेको उपाध्यायले जानकारी दिनुभयो । “उद्धार गरिएको धेरैजसो विषालु सर्प रहेका छन्,” उहाँले भन्नुभयो । कैलालीमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले पनि सर्प उद्धारसम्बन्धी तालिम लिएर सो कार्य गर्दै आएका छन् । यो कार्यमा नगर प्रहरी नलागेको बेलासम्म उपाध्याय यहाँ एक्लो सर्प उद्धारकर्ता हुनुहुन्थ्यो । उहाँले कुनै पनि निकायको सहयोगबिना स्वेच्छाले यो कार्य गर्दै आउनुभएको छ । त्यति मात्रै हैन, सर्पको महत्वसहित यसको संरक्षणबारे समुदायस्तरमा जनचेतनासमेत फैलाउँदै आउनुभएको छ । अहिलेसम्म विभिन्न सरकारी तथा निजी विद्यालय, क्याम्पसमा पुगेर सर्प उद्धार, सर्पदंश र सर्प संरक्षणबारे ४१ वटा कक्षा सञ्चालन गरिसकेको उपाध्यायको भनाइ छ । यसै गरी सर्पको उद्धार गरिसकेपछि आसपासका मानिसलाई जम्मा गरेर सर्पको प्रजाति, महत्व, सर्पदंश र सर्पले टोकेपछि उपचारबारे समुदायस्तरमा चेतना फैलाउने गर्नुभएको छ । 

फलस्वरूप, समुदायमा परिवर्तन देखिएको छ । विगतमा घरमा पसेका धेरैजसो सर्प मान्छेले मार्ने गर्थे । अचेल घर वा घर आसपासमा सर्प देखिएमा उद्धारका लागि उपाध्यायलाई गुहार्ने गर्छन् । टीकापुर र आसपासको क्षेत्रमा आफूले सर्प उद्धार गर्दै जनचेतनासमेत फैलाउन थालेपछि सर्प मार्ने क्रम करिब ९० प्रतिशत कम भएको लक्ष्मणको दाबी छ । यसैगरी, घरमा पसेका सर्प बेलैमा समातेर सुरक्षित स्थानमा लगेर छोड्न थालेपछि सर्पदंशको घटना र सर्पदंशबाट मान्छेको मृत्यु हुने क्रम घटेको छ । “सर्पले टोकेपछि पहिले धेरैजसो मानिस झारफुकका लागि धामीझाँक्री वा गुरुवाको घरमा पुग्ने गर्थे,” उहाँले भन्नुभयो, “अचेल उपचारका लागि टीकापुर अस्पताल पुग्ने गरेका छन् । ढिलो नगरी अस्पताल पु¥याउँदा धेरैको ज्यान जोगिएको छ । मृत्यु भएको घटना विरलै छन् ।”

लक्ष्मण पेसाले शिक्षक हुनुहुन्छ । उहाँले टीकापुरमा रहेको टीकापुर पोलिटेक्निक कलेज, सामान्य चिकित्सा कलेजमा अध्यापन र रेडियन्ट मन्टेश्वरी इङ्ग्लिस स्कुलमा शिक्षण गर्दै आउनुभएको छ । यद्यपि, उहाँलाई शिक्षकभन्दा पनि धेरैजसोले सर्प उद्धारकर्ताको रूपमै चिन्ने गरेका छन् ।